कविता ' क्याम्प नं २' By, बिना 'सुनगाभा'


केहि समय अघि सगरमाथा बेस क्याम्पमा गएको हिम पहिरोमा परि मृत्यु वरण गर्नेहरुको सम्झनामा
' क्याम्प नं २'


पासाङ तिमीले खादा ओढाएर
 विदा गरेकी
 पाँचौ दिन आज
बल्ल बेस क्याम्प आईपुगें
 संगसंगै आईपुग्यो
 एक हुल तिम्रो सम्झना
 एक भारी तिम्रो माया
 लफ्रक्कै भएँ
 सायद थाकेछु
 आराम गर्छु है
 भोली सखारै पुग्नुछ
 क्याम्प नं १

पासाङ
 आज दोस्रो दिन
 हिउँको बाटो हिडेर
 हिउँमा किलो ठोकेर
 चढेर भर्याङ अल्मोनियमको
 म आईपुगें क्याम्प नं १

देख्दैछु हिउँको संसार
 यतिखेर तिमी माथिको
 गुम्बालाई दाहिने पारेर
 फनफनी घुम्दै हौली
 डाँडाको बताससंगै पौंठेजोरी खेल्दै
 स्याउलाको एक भारी पुर्याई
 बेसी झर्दै हौली
 अब एकछिनमा
 चौरीको बथान लिई
 खर्क पुग्दै हौली
 पासाङ
 यहि हिमालको बाटो गरि
 उडेर आउने चराको बथानसंगै
 पठाउँदैछु हिउँको अक्षरहरु
 आशक्तीका शब्दहरु
 पढ्छौ? नि!
तिनका आँखा
 बुझ्छौ नि तिनका भाका?
आज पनि थाकेको छु
 आराम गर्छु ल
 भोली सखारै
 पुग्नुछ क्याम्प नं २
 पासाङ
 आज तेस्रो दिन
 गर्हौ बुट बजारेर
 उक्लिदैंछु क्याम्प नं २
 खै आज बाटोमा देख्दिन म
 हिउँका फूल
 मान्छेका हुल
 के साह्रो बिरक्तिएका यि हिमालहरु?
किन फुरफुराउँदैनन् यि हिउँहरु?
अध्यारो देख्छु खोल्चीहरु
 कस्तरी चल्दैछ बतास!
बेस्सरी पो चल्न थाल्यो निर्दयी हुरी
 मुटु नै छेडुला झै
 खस्न थाल्यो हिउंका थुप्रा
 मलाई नै थिचुला झै

पासाङ तिमी त यतिखेर
 मेरो सकुशलताको कामना गर्दै
 घ्याङ्मा जोर बत्ती बाल्दै हौली
 लुङ्दरमा मेरो नाम लेखि
 माथि डाँडामा फर्फराउँदै हौली
 म भने हिउँको संसारमा
 हराउँदैछुतिम्रो
 यतिखेर म सुनिरहेछु
 तिम्रो यार्लिङको मधुर धुन
 अनि सुन्दैछु
 तिमी फुस्फुसाएकी
 सोनाम तिमी हिमालबाट फर्केको दिन
 हामी हाम्रो छोराको लागि जुत्ता किन्न
 ओर्लिनेछौं बेसीं शहर
 साँच्चै छोरो कुद्ने भाछ नि !

बिना थिङ्ग तामाङ्ग 'सुनगाभा'
काठमाण्डौ

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com