कविता, बिम्बहरु : By, निर्मला खड्गा


कविता, बिम्बहरु ...

उन्मुक्त बयली खेल्ने हावासंगै
 बन्द झ्यालको शिसामा ठोकिने
 बर्षाको बुँदहरु
कयौ बिम्बहरु कोर्छन र
 धुमिल हुन्छ मनको क्यानभास ।


उचेरा गएको मन
 पहेंला सिरु फुल्ने आँगन
 बर्षा ऋतुको साँझ
 विचारका श्रंखलाबद्ध बिषयहरु
 उस्तै उकालो ओरालो झर्छन
 रेगीस्तानी बगरमा ।

एक अल्लड शोडषी
 कविताका केहि पंक्तिमा
 निरजका गुलाबी पुष्पदल
 कल्पना र कामना बीच
 नयाँ रुपमा उभिन्छन ।

एक झोका उही बतासको
 उस्तै अमिलो पसिनाको सुगन्ध लिएर
 शब्द शब्दमा छरिदा
 टर्रो लाग्छ जीवनका अनुभूतीहरु
 बर्षादको बुँद बुँदले पखालिन भन्दा पहिला
 बन्न खोज्छन नयाँ बिम्बहरू
 उही बन्द झ्यालको शिसामा ।

निर्मला खड्गा
इज़रायल

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com