बैशाख २७,
घण्टौंसम्म एकै स्थानमा बसेर काम गर्ने मानिस हुनुहुन्छ भने पक्कै पनि शीर्षक पढेर कुर्चीबाट उठिसक्नु भयो होला । हजुर, एकै स्थानमा लामो समयसम्म बसेर काम गर्नु स्वास्थ्यका लागि धूमपानभन्दा खराब भएको अनुसन्धानकर्ताले बताएका छन् ।
हालै भएका थुप्रै अनुसन्धानले एकै स्थानमा लामो समय बस्नु धूमपान गरेजत्तिकै स्वास्थ्यका लागि खतरा हुने देखाएका हुन् ।
यसबाट मधुमेह र मुटुको रोग लाग्ने सम्भावनालाई दुई गुणा बढाउछ । विश्व स्वस्थ्य संगठनका अनुसार अहिले संसारभर निष्क्रिय जीवनशैली चौथो ठुलो मृत्युको कारक बन्ने गरेको छ ।
युनिभर्सिटी अफ लिसेस्टरका अनुसन्धानकर्ता डा. एम्मा विल्मटका अनुसार एकै स्थानमा लामो समय बसेर काम गर्दा मांसपेशीको इन्जाइममा परिवर्तन आउछ, जसका कारण ब्लड सुगर लेभल बढ्ने सम्भावना हुन्छ । यस्तो निकै चाँडो चाँडो हुन्छ र अन्ततः नियमित व्यायामले पनि काम गर्दैन ।
सामान्यतः एक बेलायती वयस्क मानिस दिनभरिको समयको ५० देखि ७० प्रतिशत बसेर काम गर्छन् । त्यस्तो बसाई कारमा, डेस्कमा, कम्प्युटरमा या टीभी अगाडि जस्तो पनि हुन सक्छ । यसका साथै लामो समयसम्म बसेर काम गर्ने महिलामा मिर्गौला रोग लाग्ने सम्भावना हुन्छ ।
अनुसन्धानकर्ताका अनुसार कुर्चीमा बसेर दैनिक घण्टौं बसेर काम गर्दा मेरुदण्डको गति हुँदैंन र हिप र घुँडा पनि एकै स्थानमा रहन्छ । जसको परिणामस्वरुप मांसपेशी कमजोर हुन्छ । कम्प्युटरमा लामोसमय बसिरहँदा मेरुदण्डको डिस्कमा दबाब पर्छ र पीडा हुन्छ । यसले डिस्क प्रोल्याप्स हुने सम्भावना पनि बढ्छ, जसलाई स्लिप्ड डिस्क भनिन्छ ।
एजेन्सी: