काठमान्डू चैत २१,
महिलाहरू अनाथ अबला होइनन्, शक्ति र देवीका रूप पनि हुन् । हाम्रा धार्मिक र ऐतिहासिक ग्रन्थहरूले पनि यो कुराको पुष्टि गरेको छ । मार्कण्डेय पुराणको सप्तशतीमा कसरी सम्पूर्ण देवताहरूको शक्ति एकाकार रूपमा दुर्गाको रूपमा प्रकट भएर सबैलाई दुःख दिने महिषासुर दानवको विनाश भएको थियो भन्ने कुरा उल्लेख गरिएको छ ।
देवी भागवतमा भगवतीको शक्तिलाई ब्रह्माण्डको अर्को रूप पनि मानिएको छ । संसारमा दानवीय शक्तिहरूलाई परास्त गर्न देवी विभिन्न रूपमा चिनिन्छिन् जस्ता थुप्रै रूप धारण गरेको कुरा देवी भागवतमा उल्लेख गरिएको पनि छ । दसैंको बेला हामी शक्तिरुपेण देवीको दसै दिन स्मरण गर्दै पूजापाठ गर्छांै । यसबाट पनि महिलाको शक्तिको महत्त्व कस्तो रहेछ भन्ने कुरा थाहा हुन्छ ।
अहिले नेपालमा महिलामाथि हुने हिंसाले सीमा नाघिसकेको छ ।
महिलामाथि हुने बर्बर हिंसालाई अब महिलाले चुप लागेर सहेर बस्ने होइन, बरु महिलाले शक्तिको रूप धारण गर्ने बेला आइसकेको छ ।
मार्च ८ अन्तर्राष्ट्रिय महिला दिवसकै दिन राजविराजकी २६ वर्षीया नजरना खातुनको हत्या गरियो । सात महिनाकी गर्भवती महिलालाई जिउँदै जलाइएको अत्यन्त नै दुःखदायी समाचार प्रकाशमा आएको छ, जुन घटना मानवअधिकारको ठाडो उल्लङ्घन भएको घटना हो । दाइजो कारणबाट महिलाहरूलाई जिउँदै मट्टितेल खन्याएर हत्या गरिएको र उक्त घटनामा खातुनको आफ्नै सासू र जेठानी संलग्न भएको कुरा प्रकाशमा आएको छ ।
हाल उनीहरू दुवैजना प्रहरी हिरासतमा छन् ।
महिलाहरू विभिन्न आरोपमा जिउँदै जलाइएका छन् भने कतै दाइजोमा मोटर नल्याएको कारण महिलाहरू जिउँदै जलाइएका छन् । सबैभन्दा सुरक्षित मानिएको घर अहिले असुरक्षित बन्दै गइरहेको छ । हरेक वर्ष महिलाहरू जिउँदै जलाइएका घटनाहरू आइनै रहेका छन् । महिलाहरूले त्यसको प्रतिकार पनि गरिरहेका छन् भने अर्कोतिर महिलामाथि हुने हिंसाको नियन्त्रण गर्ने सरकारले पनि प्रतिवद्धता जनाए पनि महिला हिंसा बढ्दै गइरहेको छ । महिलाहरूमाथि हिंसा गर्ने अपराधीलाई कानुनको दायरामा नल्याएसम्म महिलामाथिको हिंसामा कमी आउन सक्दैन ।
महिलामाथि जुनसुकै किसिमको हत्या र शारीरिक, मानसिक हिंसा गर्ने व्यक्ति जुनसुकै तहको भए पनि उसलाई कसैले पनि संरक्षण गर्नु हुँदैन, यो कुरालाई सबैले ध्यान दिन जरुरी पनि छ । विगत एक वर्षमा महिला हिंसाको घटनामा निकै वृद्धि भएको कुरालाई बिभिन्न तथ्याङ्कहरूले पुष्टि गरेको छ ।
इन्सेकको २०७० को प्रतिवेदनमा एक वर्षमा दुई हजार तीन सय अठचालीस महिला र बालबालिकामाथि हिंसा भएको तथ्याङ्क प्रकाशित भएको छ । तर योभन्दा धेरै हत्या र हिंसाका घटनाहरू घटेको अनुमान गरिएको छ । धेरै घटनाहरू दर्ता नै नहुने गरेका छन् । परिवारको प्रतिष्ठामा आँच आउने डरले महिलाहरू स्वयम् नै घटनालाई उजागर नै नगरी बस्छन् । देशमा हाल दर्ता भएका घटनाहरूले केहीमात्र घटनाको प्रतिनिधित्व गर्छ ।
पर्सामा हालै साठी वर्षीया छठियादेवीलाई बोक्सीको आरोपमा मरणासन्न हुनेगरी छिमेकीबाट कुटपिट भएको र उनी घन्टौंसम्म बेहोश भएको कुरा पनि समाचारमा प्रकाशित भएको थियो । उक्त गाउँमा एकजना नवजात शिशुको मृत्यु भएपछि छठियाले बोक्सीमन्त्र लगाई उक्त नवजात शिशुलाई मारेको आरोपमा उनलाई बर्बर यातना दिइएको थियो । यसैगरी दाइजोको निहुँमा एकजना पुरुषले आफ्नी पत्नी र दुईजना छोरालाई जिउँदै जलाउने प्रयास गरेको समाचार पनि हालै प्रकाशमा आएको थियो । अहिले नेपालमा दण्डहीनताको पराकाष्ठा नै छ । अब महिलाहरू स्वयम् नै गाउँ-गाउँमा संगठित हुनु जरुरी छ ।
सामाजिक चेतनाको अभावमा नै महिलाहरूले समाजमा बिभिन्न हिंसाको सिकार भोग्न बाध्य हुनुपरेको छ । यसको निम्ति महिलाहरू स्वयम्ले नै महिला हिंसाविरुद्ध बिभिन्न माध्यमवाट चेतना जगाउनु आवश्यक छ । महिलामाथि हुने विभिन्न किसिमका हिंसाका केही घटनाहरूमा माहिलाहरू स्वयम्को नै संलग्नता भएको पनि प्रशस्तै उदाहरण छन् । महिलालाई यसबारे जानकारी गराउनु आवश्यक छ ।
महिलाहरूले अब हिंसाविरुद्ध दरिलो मोर्चा बनाउनुपर्छ । हिंसा हुनसक्ने सम्भावित क्षेत्रमा महिलाहरू स्वयम्ले हिंसा विरुद्धको कानुनी प्रावधानबारे जानकारी गराउनुपर्छ ।
महिलाहरूलाई कुनै किसिमको हिंसा भएमा कहाँ गएर उजुरी गर्ने त्यो कुराको पनि जानकारी दिनु आवश्यक छ । जसले गर्दा पीडितहरूले समयमा नै न्याय पाउन सक्छन् ।
महिलामाथि हुने गरेको हिंसालाई सहेर बस्ने मौनताको संस्कृतिलाई अन्त्य गर्ने कुरा निकै चुनौतीपूर्ण पनि छ, त्यसका लागि महिला स्वयम्ले प्रयास गर्नुपर्छ । धर्म र परम्पराले दरिलो जरा गाडेको नेपाली समाजमा केही धार्मिक ग्रन्थहरूले महिला हिंसाको विपक्षमा लेखेका यी हरफले पनि महिलामाथि हुने हिंसालाई निन्दा गरेको छ ।
सनातन धर्मले पनि महिलामाथि हुने सबै किसिमको हिंसालाई आलोचना गरेको छ । आफ्नो पत्नीले जस्तै अपि्रय काम गरे पनि उनलाई फुलले समेत नहिर्काउनु भनिएको छ । 'पुष्पेणापी न ताडयेत' यो भनाइलाई पनि अहिले व्यावहारिक रूपमा उतार्नु त्यतिकै आवश्यक छ । किनभने अहिले महिलामाथि हतियारको प्रयोग बढ्दै गइरहेको छ, जिउँदै जल्नु सामान्य घटना भएको छ, गर्भमा नै मारिनुपर्ने बाध्यता भएको छ, आखिर कहिलेसम्म ? (दुर्गा घिमिरे-इकान्तिपुर)