सामुदायीक शौचालयले मुसहर समुदाय खुसि I

हरिपुर चैत २१,

टंक ब.क्षेत्रि : ‘यसरी हाम्रो घर आगनमै तपाईंहरु आएर राम्रो काम गर्नुहुन्छ भन्ने मैले सोचेकै थिइन, घर बनाउन एकधुर जग्गा पनि नहुने हामीहरु जस्ताका लागि सामुहिक शौचालय बनाइदिएर ठूलो गुन लगाउनु भएको छ, यहाँहरु सबैलाई मुरी–मुरी धन्यवाद अनि स्वागत गर्दछु ।’’ मालती देवी नमूना महिला समूहकी अध्यक्ष शकुन्ती देवीले विहिबार खुसी प्रकट गरिन् । 

हरिपुर गाविस–१ स्थित मुसहर बस्तीमा निर्माण भएको सामुदायिक शौचालयको उद्घाटन समारोहमा स्वागत मन्तव्य राख्दै शकुन्तीले त्यस्तो खुशी प्रकट गरेकी हुन् । विहिबार एक समारोहबीच १२ कोठे उक्त शौचालय भवनको स्थानीय विकास अधिकारी उमेश बस्नेत र फिनल्याण्डको अन्तर्राष्ट्रिय गैर सरकारी संस्था फेलम (ँभ्ीः) की प्रतिनिधि अन्न लिनाले संयुक्त रुपमा उद्घाटन गरेका छन् । शौचालय निर्माण समितिका अध्यक्ष फौदी माझीको सभापतित्व एवं स्थानीय विकास अधिकारी बस्नेतको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । 

शौचालय निर्माणबाट उक्त बस्तीका ४० घरधुरीका बासिन्दा लाभान्वित हुने भएका छन् । उद्घाटन समारोहमा शकुन्ती जस्तै उपस्थित सबै मुसहर समुदाय हर्षित देखिएका थिए । खुला दिसा गर्ने क्रममा पटक–पटक बारी धनीले कुटपीट गरेको र शौच गर्नका लागि रात नै पर्नुपर्ने लगायत कठिनाइबाट मुक्ति पाउने भएपछि आफूहरु निकै खुसी भएको मुसहर टोलका बासिन्दाले बताए । घर बनाउन पनि एकधुर जग्गा नहुने मुसहर समुदायलाई सामुहिक शौचालय निर्माणमा सामरी उत्थान सेवाले पहल गरेको थियो । 

सामरीको प्रस्तावलाई फेलमले सहजै स्वीकार गरेपछि तीनवर्ष अघि दुईलाख ५५ हजारमा खरिद गरिएको जग्गामा १४ लाख ५६ हजार लागतमा १२ कोठे शौचालय भवन निर्माण गरिएको सामरीकी संयोजक विमला गायकले बताइन् । भवनको निर्माण कार्य (फिनिसिङ) बाँकी नै भएपनि सहयोगी संस्था फेलमकी प्रतिनिधि अन्ना लिना र स्थानीय विकास अधिकारी लगायतको समय अभावका कारण उद्घाटन गरिएको गायकले प्रश्ट्याइन् । कार्यक्रममा बोल्दै स्थानीय विकास अधिकारी बस्नेतले वि.सं. २०७२ सालसम्म सर्लाहीलाई खुला दिसा मुक्त बनाउने अभियानमा मुसहर बस्तीको सामुदायिक शौचालयको निर्माणले ठूलो टेवा दिएको बताए । ‘

‘हामीले केही समयअघि जिल्ला सरसफाई सम्मेलन गरेर २०७२ सालभित्र सर्लाहीलाई खुला दिसा मुक्त क्षेत्र घोषणा गर्ने १३ बुँदे घोषणा पत्र सार्वजनिक गरेका थियौं ।’’ कार्यक्रममा बोल्दै स्थानीय विकास अधिकारी बस्नेतले भने–‘‘उक्त अभियानलाई यस्तै गरी हुने शौचालय निर्माणबाट ठूलो टेवा पुग्छ र अभियान सफल हुन्छ ।’’ कार्यक्रमकी विशेष अतिथि एवं फेलमकी प्रतिनिधि अन्ना लिनाले शौचालय निर्माण भन्दा पनि संरक्षण र सहि प्रयोग ठूलो कुरा भएको बताइन् । उनले शौचालय प्रयोगसँगै मुसहर समुदायलाई सफा गरि हात धुने बानीको समेत विकास गराउनु र बालबालिकालाई शिक्षाप्रति धकेल्नु आवश्यक रहेको सुझाइन् ।

हरिपुर गाविसका सचिव जनार्दन चालिसेले मुसहर बस्तीमा खानेपानी सेवाका लागि तत्काल दुईवटा ट्यूबबेल एवं विद्यालय जाने बालबालिकालाई तीनमहिनाको ट्यूसन (अतिरिक्त पढाई) को व्यवस्था गरिदिने प्रतिबद्धता जनाए । गाविसको कार्यालयले मुसहर बस्तीका समुदायको शिक्षा, स्वास्थ्य र राज्यद्वारा दिइने विभिन्नखाले भत्ताहरुका लागि पहल गर्ने समेत सचिव चालिसेको भनाई थियो ।

कार्यक्रममा दलित जनजाती पार्टीका केन्द्रीय सदस्य राधेश्याम पासवानले मुसहर जस्तो पिछडिएको दतिल समुदायका लागि हित हुनेगरी सामुदायिक शौचालय निर्माण सहितका विभिन्न सेवा सुविधा उपलब्ध गराउने जिविस, गाविस, दातृ निकाय एवं सामरी संस्थालाई धन्यवाद प्रकट गरे । कार्यक्रममा नेपाल पत्रकार महासंघका सल्लाहकार विद्यानन्द राय लगायतले निर्माण भएको शौचालयको सहि सदुपयोग हुनुपर्ने धारणा राखेका थिए ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com