१. भनिन्छ, जुनसुकै क्षेत्रमा पनि छुट्नु फुट्नु टुट्नु साह्रै नराम्रो कुरा हो, मलाई पनि त्यस्तै लाग्थ्यो । तर म लाटो सोझो रहेछु, त्यसो होईन रहेछ । अरू तिर जे सुकै भए पनि सामाजिक सेवा भावनाले खोलिएका संघ संस्थाहरू छुट्नु वा फुट्नुमा चाहीं फाईदै फाईदा रहेछ ।
दानी ज्ञानी सहयोगी मनहरूलाई चाहीं अलिकति भार परे जस्तो हुने रहेछ, त्यति न हो । एक मनको भारी हलुकैसँग बोक्ने ज्यानलाई दुई चार किलो थपिंदा के नै भार पर्छर ? त्यसै पनि नेपालीको शिर सगरमाथा भन्दा उच्च हुन्छ, छाँती तराईको फाँट भन्दा चौडा हुन्छ । यसो भनौं भार होईन अलिकति दायीत्व बढ्ने रहेछ, त्यति न हो । मनकारी मन र दिलदार दिल भएका नेपालीहरूलाई त्यो दायित्व त साधारण नै हो ।
२. कुरा लिम्बुहरूको एक मात्र पवित्र र गरिमामय संस्था "किरात याक्थुड्•ग चुम्लुड•ग" को भातृ संगठनको रूपमा रहेको "किरात याक्थुड्•ग चुम्लुड्•ग नेपाल ईजरायल" को विवादबाट शुरू गर्न चाहान्छु । विवाद बढ्दै गएर संस्था दुई भागमा विभाजित भएको सबैमा सर्वविधितै छ । भन्नेले जे भने पनि मैले निष्पक्ष रहेर सहज कर्ताको रूपमा पहल कदम गरिरहेको थिएँ । अरूले पनि गर्नु भयो । मलाई कसैको पक्ष विपक्षसँग लिनु दिनु थिएन र छैन । मेरो चाहाना केवल चुम्लुड्•ग एकताको थियो त्यो भन्दा पर किमार्थ स्वार्थ िथएन र छैन । दुवै पक्षको तर्क प्रश्तुति आ-आफ्नो ठाउँमा बलियो रहेको थियो, भलै त्यहाँ झूट शब्दावली हरू पनि पाएँ । कसको गल्ति कति भन्ने मोटामोटी मैले बुझे पनि यहाँ उल्लेख गर्न उचित छैन । तर कति चाहीं सत्य हो भने दुवै पक्षले एक अर्कालाई आरोप प्रत्यारोपको वाण प्रहार गरे पनि उसको र मेरो कति गल्ति हो र कति चाहीं मैले उसलाई लान्छाना लाको र कति चाहीं उसले मलाई लान्छाना लाउँदैछ भन्ने कुरा दुवैलाई प्रष्ट थाहा छ । त्यो वहाँहरुले आफैं आत्मालोचना गर्ने कुरा हो ।
हामी मध्यस्थ व्यक्तिहरूले गल्ति औंलाएर मुख तितो अमिलो बनाउनुको कुनै अर्थ छैन । गल्ति जस्ले शुरू गरे पनि समाधानमा लाग्नुको अलवा कसले कसलाई कति लडाउने भन्ने होडबाजी नै चलेको देखियो, अन्ततोगत्वा संस्था दुई फ्याक भो । सल्लाहकारको भूमिका शून्य पाईयो । गल्ति भए माफ गर्नु होला । मैले दुवै पक्षसँग कुरा गर्दा पहिलाको गल्ति बिर्सेर एक भएर अगाडी बढ्न दुवै पक्ष तयार तर पद विभाजनमा अत्तो थाप्ने अडान रहयो । तर किन ? किन को प्रति उत्तर पाईंन । पदमा रहँदा सेवा गर्न सकिने र नरहँदा नसकिने पनि होईन । यसैबाट फ्युचर करिअर बनाउन सकिन्छ है भनेर हो भने पनि त्यो छदै छैन ।
नाम शुभास को लागि हो भनौं भने पनि यो वडा सदस्य जति भन्दा माथिको गन्तिमा पर्ला भन्ने मलाई लागेन फेरि ईजरायलको जागिरको भरो़सा कति दिन र कति महिनाको लागि हो सबैलाई थाहा भएकै कुरा हो तब किन खिचातानी मैले बुझिन । कसलाई समाजले कति गन्छ, त्यो उसको वौद्धिकता र ईमान्दारिता मा निर्भर हुन्छ । यिनै कुराहरूको पैठे जोरी मेरो मनमा परिरहेको थियो । अब कसरी निकास दिन सकिन्छ भनि सोच्दा सोच्दै केन्द्रबाट मिलाउने पत्र आएछ र मेरो भूमिकाको औचित्य नरहेको महसुस् गरि एकता को कामना गर्दै बसें तर हात लाग्यो शून्य ! एकता हुन सकेन ।
३. अब निष्कर्षमा मेरो व्रम्हले के ज्ञान प्राप्त गर्यो भने समाज सेवाका संस्थाहरू जति धेरै भो उति राम्रो । कसै कसैले भन्छन् ईजरायलमा च्याउ सरी संघ संस्था उम्रिएका छन् गर्ने केही होईन तातो न क्षारो ! तर म भन्छु होईन यो अति राम्रो पो रहेछ । किन कि २/४ संस्थाले ५ बर्षमा गर्ने काम १ दर्जन संस्थाले एकै बर्षमा गर्न सक्छ । ईजरायलमा त करिव ४ दर्जन विभिन्न नेपाली संघ संस्थाहरू छन् ।
एउटा संस्थाले एक बर्षमा एउटा मात्र काम गरे पनि ४ दर्जन संस्थाले ४ रै दर्जन काम पूरा गर्न सक्ने रहेछ। अब त्यो ४ दर्जन काम पूरा गर्न २/४ संस्थालाई कति वर्ष लाग्ला ? अन्दाज गर्न गाह्रो छ । त्यसैले ईजरायलको याक्थुड्•ग चुम्लुड्•गले पनि दुईटा भएर डबल काम गर्नेछ भन्ने मलाई ज्ञान प्राप्त भएको छ । दुवै चुम्लुड्•ग लाई उत्तरोत्तर प्रगतिको मेरो हार्दिक शुभकामना ! र ईजरायलका सम्पूर्ण संघ संस्थालाई नयाँ वर्ष २०७१ को हार्दिक मंगलमय शुभकामना अर्पण गर्दछु ।
सेवारो, नमस्कार !
यात्री लिम्बु
इज़रायल