काठमान्डू चैत्र १९,
प्रधानमन्त्री सुशील कोइरालाले दोस्रो पटक भोलि विहीबार मन्त्रिपरिषद् विस्तार गर्ने हुनुभएको छ । बुधबार विहान राप्रपा अध्यक्ष सूर्यबहादुर थापासँगको भेटपछि प्रधानमन्त्री कोइराला मन्त्रिपरिषद् विस्तार गर्ने निष्कर्षमा पुग्नुभएको हो ।
बुधबार विहान अध्यक्ष थापाले राप्रपालाई दुई मन्त्रालय दिन प्रधानमन्त्री कोइरालासँग आग्रह गरेका थिए । राप्रपालाई दुई मन्त्रालय दिन प्रधानमन्त्री सहमत भएपछि भोलि राप्रपाका तर्फबाट दुई र नेकपा मालेका तर्फबाट एकजना मन्त्रीले सपथ लिने तय भएको बुझिएको छ ।
राप्रपाले वाणिज्य तथा आपूर्ति र विज्ञान तथा प्रविधि मन्त्रालय पाउने भएको छ ।
वाणिज्य तथा आपूर्ति मन्त्रीमा अध्यक्ष थापाले आफ्ना छोरा सुनिलबहादुर थापालाई सिफारिस गरेका छन् भने विज्ञान मन्त्रीमा दिपक बोहरा र विक्रम पाण्डेमध्ये एकजना हुने भएका छन् । यता माले अध्यक्ष सीपी मैनालीले भने आफ्नी श्रीमति नीलम खड्कालाई मन्त्रीका लागि सिफारिस गरेका छन् । खड्कालाई महिला तथा बालबालिका मन्त्रालय दिइएको छ । (NB)