काठमाडौं चैत्र २५,
ज्येष्ठ नागरिकले चौध महिनाअघि आफ्ना माग पूरा गराउन नयाँ बानेश्वरनजिक धर्ना बस्दाका पाँचजना सारथि गुमाइसकेका छन् तर सरकारलाई गलाउन आन्दोलनबाट पछि हटेका छैनन्। काठमाडौं नरेफाँटका ६७ वर्षीय प्रेम अमात्य र चितवनका ७५ वर्षीय नरबहादुर खाँड दैनिक बिहान आन्दोलनस्थलमा आइपुग्थे। आन्दोलनकै क्रममा चिसोका कारण निमोनिया भएपछि खाँड र अमात्यको मृत्यु भएको हो।
आन्दोलनमा सहभागी भइरहने कोटेश्वरका ७० वर्षीय रामु पोखरेल, भक्तपुरका ८० वर्षीय लालबहादुर खत्री र धापासीका ६२ वर्षीय वासु लम्साल पनि अहिले छैनन्।
हरेक दिन बिहान ११ बजेदेखि दिउँसो एक बजेसम्म धुलाम्मे सडक किनारमा धर्ना बस्दा वृद्ध शरीर कमजोर हुँदै गयो। अन्तत: माग पूरा नभई पाँचजना ज्येष्ठ नागरिक सधैंका लागि बिदा भए।
आन्दोलनका यी सारथि गुमाए पनि ६० नाघेका ज्येष्ठ नागरिक गलेका छैनन्, सरकारविरुद्ध अझ सशक्त आन्दोलन छेडिरहेका छन्। ज्येष्ठ नागरिकका सेवासुविधासम्बन्धी आठबुँदे माग लिएर सडकमा आएका उनीहरू माग पूरा नभएसम्म छोड्ने मनस्थितिमा छैनन्।
ज्येष्ठ नागरिक संयुक्त संघर्ष समितिका सहअध्यक्ष नयनबहादुर खड्काका अनुसार रामु पोखरेल माग पूरा नभए आत्मदाह गर्न तयार रहेको बताइरहन्थे। उनले भने, 'रामुले सरकारलाई पटकपटक गोली ठोकेर मार्न आग्रह गरेका थिए तर आन्दोलनले कमजोर बनायो उनी गए।' खड्काले सोमबार अन्नपूर्णसँग भने, 'अब हामी पनि मर्न तयार छौं।'
उच्च रक्तचापबाट पीडित समितिका अध्यक्ष महाप्रसाद पराजुलीलाई चिकित्सक ले आराम गर्न सल्लाह दिए पनि उनी सडकमै छन्। उनले भने, 'कांगे्रस नेता रामशरण महतले वृद्धवृद्धालाई भत्ता दिँदा राज्यको ढुकुटी रित्तो हुन्छ भन्ने अभिव्यक्ति दिए। उनलाई हामीले पनि कार्यक्रमबाट बहिष्कार गरेका छौं।' ७० वर्षीय हरीप्रसाद श्रेष्ठले थपे, 'महतको कुराले मुलुकभरका वृद्धवृद्धाको मन दुखाएको छ। हाम्रो मन रोएको छ।'
चौध महिनामा सरकारले पाँचपटक वार्तामा बोलाए पनि आफ्ना मागलाई भने सधैं बेवास्ता गरेको आन्दोलनरत ज्येष्ठ नागरिकले बताए। पटकपटक सरकारले ढाँटेको उनीहरूको गुनासो छ। माग पूरा हुने छाँट नदेखिएपछि उनीहरूले बुधबारदेखि दुईतर्फी सडक छेक्ने कार्यक्रम सार्वजनिक गरेका छन्।
आन्दोलनरत वृद्धवृद्धाले १३ दिनसम्म टाउकोमा सेतो टालो बाँधेर एकोहोरो शंखसमेत फुके। गत शुक्रबार सिंहदरबार चोखो बनाउने भन्दै गहुँत छर्कन जुलुससहित अघि बढ्दा प्रहरीले हस्तक्षेप गरेको थियो। 'अब मरे मरिन्छ माग पूरा नभई छोड्दैनौं', श्रेष्ठले भने।
ज्येष्ठ नागरिकले २०६९ फागुन २४ गतेदेखि आन्दोलन थालेका हुन्। सरकारले वृद्धवृद्धाको ससम्मान बाँच्न पाउने अधिकारलाई बेवास्ता गरेको र संविधानमा लेखिएबमोजिम कानुनी प्रावधान कार्यान्वयन नगरेको उनीहरूको भनाइ छ।
ज्येष्ठ नागरिक संयुक्त संघर्ष समितिले सार्वजनिक यातायातमा कम्तीमा ५० प्रतिशत छुट दिनुपर्ने, ६० नाघेका सबैलाई वृद्धभत्ता दिनुपर्ने, मासिक भत्ता तीन हजार पुर्याउनुपर्ने र सबै अस्पतालमा छुट्टै वार्डको व्यवस्थासहित उपचारमा ५० प्रतिशत छुट हुनुपर्ने माग अघि सारेको छ।
यसका साथै खानेपानी, बिजुली, टेलिफोन, घरजग्गा करमा पनि ५० प्रतिशत छुट दिनुपर्ने, दैनिक उपभोग्य सामग्री ग्यास, तेल, खाद्यान्नमा सहुलियतको व्यवस्था हुनुपर्ने, धार्मिक क्षेत्रमा दर्शन र पूजा गर्न छुट्टै व्यवस्था हुनुपर्ने माग पनि ज्येष्ठ नागरिकले अघि सारेका छन्। सर्वोच्च अदालतले २०६७ चैत २४ गते जारी गरेको परमादेश तुरुन्त लागू हुनुपर्ने माग उनीहरूको छ। (अन्नपूर्ण)