बम आक्रमण बाट पुनः जोगिए परबेज I

इस्लामावाद, चैत्र २१,

पाकिस्तानका पूर्वराष्ट्रपति एवं सैनिक जनरल पर्वेज मुसर्रफ बिहीबार बम आक्रमणबाट बँचेका छन् । उनको यसअघि पनि धेरै पटक हत्या प्रयास भइसकेको छ । गत वर्ष निर्वाचनमा सहभागी हुन स्वदेश फर्केदेखि तालिवान समूहले उनलाई ज्यान मार्ने धम्की दिँदै आएका छन् । 

रावलपिण्डीस्थित अस्पतालबाट इस्लामावादस्थित फार्म हाउसमा लगिने क्रममा बुधबार अबेर राति उनीमाथि बम प्रहारको प्रयास भएको थियो । उनको छाती दुखाइको उपचार भइरहेको छ । देशद्रोहको मुद्दाको सुनुवाइका क्रममा गत जनवरीमा अदालततर्फ जाने क्रममा छाती दुख्दा उनलाई अस्पताल भर्ना गरिएको थियो । 

उनी सुरक्षा बलसहित राजधानी इस्लामावाद प्रवेश गर्ने क्रममा फैजावाद पुलपार गर्नु करिब २० मिनेटअघि चार किलोग्रामको विस्फोटक पदार्थ पडििाइएको प्रहरी स्रोतले जनाएको छ । हालसम्म यसको कुनै पनि समूहले जिम्मेवारी लिएको छैन । पुलमुनिको पाइपलाइनमा ती विस्फोटक लुकाइएको थियो । यो घटनापछि उनलाई वैकल्पिक मार्गबाट लगिएको थियो । मुसर्रफका प्रवक्ता आसिआ इज्हाकले मुसर्रफ सुरक्षित रहेको बताएकी छन् । 

सबै अतिवादी र आतंककारी समूहले मुसर्रफलाई मार्ने कोसिस गरिरहेको उनले भनेकी छन् । मुसर्रफलाई केही भए पनि सरकार जिम्मेवार हुने पनि उनले बताएकी छन् । विभिन्न पाँच आरोपमध्ये आफ्नो शासनकालमा संकटकाल घोषणा गरेर संविधान मिचेको अभियोगमा उनीविरुद्ध देशद्रोहको मुद्दा चलाइएको छ । राजनीतिक रूपले प्रेरित आरोपहरू झूटो भएको मुसर्रफले भन्दै आएका छन् । एपी :

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com