फुजेल प्रकरण सम्बन्धमा प्रशासन कार्यालय चितवनमा धर्ना I

चितवन बैसाख ३,

गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्या अभियोगमा पक्राउ परेकाको रिहाइको माग गर्दै दुई माओवादीले आज बिहान १० बजेदेखि जिल्ला प्रशासन कार्यालय चितवनमा धर्ना दिएका छन्। एकीकृत नेकपा माओवादी र नेकपा–माओवादी चितवनले संयुक्त रुपमा जिल्ला प्रशासनमा धर्ना दिएका हुन्। 

द्वन्द्वकालीन घटनालाई सत्यनिरुपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोग गठन गरेर मात्र अनुसन्धान गरिनुपर्ने भन्दै उनीहरुले पक्राउ परेकाको तत्काल रिहाइ हुनुपर्ने माग गरेका छन्। दिउँसो १२ बजेसम्म जिल्ला प्रशासनमा धर्ना बस्ने र त्यसपछि जिल्ला अदालतअगाडि कोणसभा गर्ने एकीकृत नेकपा माओवादी चितवनका पूर्व संयोजक घनश्याम दाहालले बताए। पक्राउ परेका दुई अभियुक्तको बयान लिने क्रम आज पनि जारी छ। 

हिजो दिउँसोबाट छविलाल पौडेलको बयान लिन थालिएको हो। सकेसम्म आज दुवै जनाको बयान सक्ने तयारीमा रहेको अदालतका श्रेस्तेदार विद्याराज पौडेलले जानकारी दिए। छविलालसँगै भीमसेन पौडेललाई पनि प्रहरीले पक्राउ गरेको थियो। पक्राउ परेका दुई अभियुक्तसहित १३ जनाविरुद्ध जिल्ला अदालत चितवनमा अभियोगपत्र दर्ता भएको छ। 

अधिकारी परिवारले सुरुमा ११ जनाविरुद्ध जाहेरी दिएकामा प्रहरीको अनुसन्धानबाट तीन जना थप भएको थियो भने परिवारले नै गृहमन्त्रालयमा दिएको उजुरीमा जानुका पौडेलको नामसमेत उल्लेख गरिएको थियो। प्रहरी प्रतिवेदनमा उल्लेख भएका तीन अभियुक्तमध्ये दुई जना सशस्त्र द्वन्द्वमा मारिएका कारण १३ जनाविरुद्ध मात्र अदालतमा अभियोगपत्र दर्ता भएको जिल्ला न्यायाधिवक्ता एकनारायण लम्सालले बताए। बयानपछि थुनछेक बहसका लागि प्रतिवादीका तर्फबाट वरिष्ठ अधिवक्ता चण्डेश्वर श्रेष्ठ, बारका पूर्व महासचिव रमण श्रेष्ठलगायत २० जना वकिल तयारीमा रहेका छन्। 

वरिष्ठ अधिवक्ता श्रेष्ठले २० जनाभन्दा बढीले प्रतिवादीकातर्फबाट बहस गर्ने बताए। प्रहरीले यसअघि रामप्रसाद अधिकारी र परशुराम पौडेलविरुद्ध आतङ्ककारी तथा विध्वङ्सात्मक अपराधअन्तर्गत मुद्दा चलाएकामा अहिले भने उनीहरु विरुद्ध ज्यानसम्बन्धी महलको दफा १३ को उपदफा १ अर्थात् सर्वस्वसहित जन्म कैदको मागसहितको मुद्दा चलाएको छ। रासस:

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com