काठमान्डू बैशाख ३,
मानव तस्करहरूले ग्रामीण बस्तीसम्म पुगेर नेपाली चेलीलाई दिल्ली, पञ्जाब र खाडी मुलुकमा बेचिरहेका छन्।
मध्यपश्चिमका महिलालाई भारत र अरब पुर्या्एर बेच्ने गिरोहमा प्रहरीको पनि संलग्नता देखिएको छ। उनीहरू विरुद्ध परेका कतिपय उजुरी प्रहरी चौकीबाट र कतिपय चाहिं अदालत पुर्यायउने क्रममा गायब पारिएका छन्। त्यसरी उम्कने बेचबिखनकर्ताको पहिलो प्रयास हुन्छ– अर्की महिलालाई जालमा पार्ने।
साउदीबाट तातो ईस्त्रीको डाम लिएर फर्किएकी नन्दकला भुसाल (बायाँ)। भुसाललाई यो हालतमा पुर्याउने चन्द्रकान्त सापकोटाकै अर्को शिकार बनेकी कोहलपुर–१ की गीता शाही अहिले सम्पर्कविहीन छन्।
बाँके, कोहलपुर―९ की नन्दकला भुसाल शरीरभरि तातो ईस्त्रीको डाम बोकेर फर्किएकी छिन्।
कमाउन भारत गएका पतिको दुई वर्षसम्म अत्तोपत्तो नभएपछि टाउकोमा रोग लागेको छोरा र छोरी पाल्न कठिनाइ भोगेकी नन्दकलालाई बाँके रझेना―७ का चन्द्रकान्त सापकोटा र उनकी पत्नी पूर्णकलाले राम्रो काम लगाइदिने लोभ देखाएर १२ जेठ २०६५ मा मुम्बई पुर्यााएका थिए।
आफैं नागरिकता र पासपोर्ट बनाइदिएका सापकोटा दम्पतीले नन्दकलालाई १० दिनसम्म मुम्बईमा राखेर साउदी अरब उडाइदिए। साउदीको एयरपोर्टमा लिन आएका दुई जना पुरुषमध्ये एकले उनलाई आफ्नो घरमा हाउसमेड बनायो। त्यसपछिको ८ महीना आफूले घर मालिक र उनका साथीहरूको यौन दुर्व्यवहार खप्नु परेको नन्दकला बताउँछिन्। ज्यादतीको विरोध गर्दा तातो ईस्त्रीले डामिनुपरेको उनी बताउँछिन् ।
कपिलवस्तु जिल्लाबाट नागरिकता लिएर लामो समयदेखि रझेना–७ बस्दै आएका ‘चन्द्रकान्त समेतको’ विरुद्ध अहिले बाँके प्रहरीमा तीन वटा उजुरी परेका छन् ।
चन्द्रकान्त―प्रहरी सम्बन्ध :
साउदीबाट नेपाल फर्केपछि नन्दकलाले २० माघ २०६५ मा इलाका प्रहरी कार्यालय कोहलपुरमा चन्द्रकान्त विरुद्ध जाहेरी दिइन्। नन्दकलाका अनुसार पहिले उजुरी लिनै नमानेको प्रहरीले जाहेरी बुझेपछि चन्द्रकान्तलाई भगाइदियो। उनी अहिलेसम्म फरार छन्।
इप्रका कोहलपुरले यो मुद्दाको अनुसन्धान गर्दा नन्दकलाको फाइल नै गायब पारेको पाइएको छ।
इप्रका कोहलपुरमा परेका उजुरीहरूको रेकर्ड रहने १० नम्बर डायरीको ६४औं नम्बरमा चन्द्रकान्त विरुद्धको मुद्दा सरकारी वकीलको कार्यालयमा पेश गरिएको उल्लेख छ, तर चन्द्रकान्त पक्राउ परे/नपरेको विवरण र मुद्दा पेश भएको मिति भर्नुपर्ने ठाउँ खाली छ ।
चन्द्रकान्तको नागरिकताको प्रतिलिपि :
उता, बाँके जिल्ला सरकारी वकीलको कार्यालय र जिल्ला अदालतको रेकर्डमा यो मुद्दा सम्बन्धी कुनै रेकर्ड भेटिंदैन। माघ २०६५ मा इप्रका कोहलपुरमा प्रहरी निरीक्षक मीनबहादुर रावल प्रमुख भए पनि उनको ठाउँमा कमल गिरी काजमा थिए। क्षेत्रीय प्रहरी कार्यालय सुर्खेतमा दरबन्दी भए पनि अहिले तालिमका लागि काठमाडौंमा रहेका गिरीले चन्द्रकान्तको मुद्दाबारे आफूलाई सम्झ्ना नभएको बताए।
“मेरो पालामा कोहलपुरमा मानव बेचबिखन सम्बन्धी कुनै मुद्दा परेको सम्झ्ना छैन”, उनले टेलिफोनमा भने, “त्यसबखत मुद्दा शाखामा रहेका असईलाई सोध्दा यस सम्बन्धी जानकारी हुन सक्छ।” त्यसवेला मुद्दा शाखामा रहेका एक जना प्रहरीले चाहिं चन्द्रकान्त र उनकी श्रीमती पूर्णकला विरुद्ध जाहेरी परेको र चन्द्रकान्त चौकीमा आउ–जाउ गर्ने गरेको बताउँछन्।
नाम उल्लेख गर्न नचाहने ती प्रहरीले उनीहरू विरुद्ध मुद्दा चले/नचलेको चाहिं थाहा नभएको बताए। उनका अनुसार, सो मुद्दाको अनुसन्धान अधिकृत सई गणेश खड्का थिए, जो अहिले बाँकेकै इप्रका कम्डीमा सरुवा भएका छन्।
१० नम्बर डायरीमा चढाइसकेको मुद्दाको मिसिल आफूसँग पनि नराख्नु र अदालत तथा सरकारी वकीलको कार्यालयमा पनि नपुर्या उनुले त्यो वेला मानव तस्करलाई इप्रका कोहलपुरले कुनै न कुनै रूपमा संरक्षण दिएको प्रष्ट हुन्छ।
प्रहरीले त्यसरी उम्काएपछि मानव तस्करीलाई निरन्तरता दिएका चन्द्रकान्तले १ साउन २०६७ मा कोहलपुर―१ की गीता शाही (३६) लाई साउदी पुर्यााए। गीताकी छोरी आस्था आमालाई चन्द्रकान्तले दिल्लीबाट साउदी उडाएको बताउँछिन्।
गएको असोजमा बुबा वितेको १२औं दिनमा ३१ गते आमाले ९६६५०४४३३९०९ नम्बरबाट फोन गरेको बताउँदै आस्था भन्छिन्, “उहाँले आफू नरकमा परेर ठूलो यातना भोग्नु परेको बताउँदा बताउँदै फोन काटियो, त्यसपछि कुनै सम्पर्क भएको छैन।”
त्यो वेला आमाले रियाद शहरको आल्गा भन्ने ठाउँमा धेरै दुःख पाएर बसिरहेको बताएपछि चन्द्रकान्तलाई पक्राउ गरी आमाको उद्धार गर्न प्रहरीमा निवेदन दिएको उनले बताइन्।
फर्जी डकुमेन्ट मार्फत चेलीबेटी बेचबिखनमा संलग्न मिठू शाह ।
चन्द्रकान्तले बाँके वासुदेवपुर–१ की मनमाली घर्तीमगर (३८) लाई पनि ‘राम्रो काम’ मा लगाइदिने भनेर भारतहुँदै २१ असोज २०६८ मा साउदी पुर्यालए। उनी पनि अहिलेसम्म सम्पर्कविहीन छिन्। चन्द्रकान्तलाई पक्राउ गरी श्रीमतीको उद्धार गर्न प्रहरीमा निवेदन दिए पनि अहिलेसम्म केही नभएको मनमालीका श्रीमान् पलबहादुर बताउँछन्।
धेरै छन् मानव तस्कर :
१८ फागुन २०६६ मा बाँके कोहलपुर–४ की मीनतारा बिक (१६) प्रेमी सेते भन्ने पवन मगर (२६) सँग रुपैडिहाहुँदै दिल्लीको जीबी रोडमा राजु ठाकुर दम्पतीले चलाएको ५७ नम्बर कोठीमा पुगिन्।
भोलिपल्ट सेते हराएपछि ठाकुरका दम्पतीले भारु १७ हजारमा उनलाई किनेको मीनतारालाई बताए। त्यसपछिको ८ महीना उनले नारकीय जीवन बिताउनु पर्योन। छिन्चु―९ सुर्खेतका सेतेसँग दिल्लीमा घरजम गर्ने सपना बोकेर गएकी मीनतारा घर फर्कंदा यातना र पीडाले लखतरान थिइन्।
नेपाल आएपछि प्रहरीलाई दिएको बयानमा मीनताराले भनेकी छिन्– ‘कोठी मालिकले दिनमा २० देखि २५ जना पठाउँथ्यो। विरोध गर्दा मालिक्नीले कुटपिट गर्थी। म चिच्याएँ, रोएँ, कराएँ, तर कसैले सुनेनन्।’
उनको उजुरीपछि पक्राउ परेको सेतेले त्यसअघि छिन्चु―९ कै २३ वर्षकी रीता वली र जुम्लाकी २८ वर्षकी गीता रोकायालाई ठाकुर दम्पतीकोमै क्रमशः भारु १४ हजार र भारु १८ हजारमा बेचेको बयान दिए।
मीनतारालाई भारु १५ हजारमा बेचेकोमा थप भारु २ हजार पाएको बताएका सेते अहिले जेलमा छन्।
यस्तै, कक्षा ८ मा पढिरहेकी कोहलपुर–३ की सुनिता पौडेल (१६) लाई ‘उपकारी’ भनिने जयबहादुर सुनार, उनकी पत्नी शान्ता र सासू कमलाले पुस २०६७ मा भारत पञ्जाबको उपकार नगरको घर नम्बर–१३८ की मालिक्नी सुनिता सेठलाई जिम्मा लगाए। सेठले केही दिन मैनबत्ती बनाउन लगाएपछि त्यही घरमा रहेको ‘हीना संगीत तथा नाट्य समूह’ मा नाच्न लगाएको सुनिता बताउँछिन्।
त्यसको केही दिनमा नराम्रो काम गर्न बाध्य पारेपछि मात्र त्यो कोठी रहेको र आफूलाई बेचिएको थाहा पाएको बताउँदै सुनिता भन्छिन्, “त्यो वेला रुनु बाहेक मेरो केही उपाय थिएन।”
साँझ् परेपछि सधैं शरीर बेच्न बाध्य पारिने उनलाई सुनिता सेठले भारु ४० हजारमा किनेको बताउँदै सात वर्ष काम गर्न ‘सम्झौतापत्र’ मा सही गराएको सुनिता बताउँछिन् ।
सेते भनिने पवन मगर।
‘सम्झौता’ को बुँदा नम्बर ३ मा कपडा र मेकअपका लागि मालिक्नीले खर्च व्यहोर्ने उल्लेख छ भने बुँदा नम्बर ४ मा मालिक्नीले भने बमोजिम जुनसुकै समय र स्थानमा सुनिता पुग्नुपर्ने लेखिएको छ।
बिरामी भएर उपचार गराउन बाहिर निस्कन पाएको मौकामा सुनिता भागेपछि आफ्नो पैसा उठ्न बाँकी रहेको भन्दै नेपालसम्म आइपुगेकी सेठ सुनिताले उजुरी गरेपछि जयबहादुर र शान्ता सहित पक्राउ परेर अहिले जेलमा छन्।
१७ माघ २०६९ मा जिल्ला न्यायाधीश कृष्णकमल अधिकारीको इजलासले उनीहरू तिनै जनालाई १० वर्ष कैद र रु.५० हजार जरिवानाका साथै पीडितलाई रु.३० हजार क्षतिपूर्ति दिनुपर्ने फैसला गर्यो०। सुनिता भने अहिले नेपालगञ्जमा टेलरिङ चलाएर बसेकी छन् ।
बेचबिखनमा महिला :
दाङ पुरनधारा―४ की मीठू शाहले २०६७ मा जाजरकोटको खलङ्गा―९ रावतगाउँकी वीरेन्द्रा बिकलाई दिल्लीहुँदै साउदी पठाइन्। वीरेन्द्रालाई उनका फुपू र फुपाजु पर्ने बाँकेको रझेना―४ का भद्री कामी र पर्से कामीले नेपालगञ्ज ल्याएर मिठूसँग सम्पर्क गराइदिएका थिए। नेपालगञ्ज गएकी छोरी नफर्केपछि वीरेन्द्राका बाबु सर्वजित बिकले खोजी गर्दा पुरनधाराकी मीठूले विदेश पठाएको थाहा पाए।
२०६७ मै उजुरी परेकोले मीठू भारतमा लुकेको थाहा पाएपछि सर्वजितले पनि प्रहरीमा उजुरी हाले। २०६९ मा नेपाल आएको वेला प्रहरीले मीठूलाई पक्राउ गर्यो्।
उनले वीरेन्द्रालाई जाजरकोटकै भूर―२ की गीता बिकको नागरिकता र पासपोर्टबाट ‘पर्यटक भिसा’ बनाई साउदी पठाएकी थिइन् । वीरेन्द्रा भन्छिन्, “मलाई नराम्रो ठाउँमा पठाएर एउटा खुट्टा पनि भाँचिदिए, धेरै दुःख पाएँ।”
मीठूले बाँके बेतहनी―१ की पुष्पा थापालाई पनि ३ चैत २०६६ मा भारतको मुम्बई लगेर १६ चैत २०६६ मा साउदीमा बेचेकी थिइन्। साउदीमा आफूलाई रु.१ लाख २० हजारमा किनेकाले जे भने पनि मान्नुपर्ने भनेको पुष्पा बताउँछिन्।
उनले जाहेरीमा ‘साउदीमा यौनशोषण तथा शारीरिक र मानसिक यातना सहनु परेको’ उल्लेख गरेकी छन्।
मीठूलाई बाँके जिल्ला अदालतले पुष्पाको मुद्दामा दोषी ठहर गर्दै १० वर्ष कैद र रु.१ लाख जरिवाना तोकेको छ। वीरेन्द्राको मुद्दा चाहिं जिल्ला अदालतमा विचाराधीन छ।
जयबहादुर, शान्ता सुनार र सुनिता सेठ (बायाँबाट क्रमशः)।
बाँके जिल्ला कारागारमा कैद भुक्तान गरिरहेकी मीठूले आफूले श्रीमान्सँग मिलेर रोजगारीका लागि बाहिर जान चाहनेहरूलाई कागजात बनाएर भारतबाट विदेश पठाउने गरेको, तर किनबेच नगरेको बताइन्।
“गरीब परिवारका महिलालाई कमाउन पठाएकी हुँ”, उनी भन्छिन्, “विदेशमा नराम्रो काम पर्योप भनेर हामीलाई मानव बेचबिखनको मुद्दा लगाउन पाइँदैन।”
नक्कली प्रमाण बनाइन्छ :
कोहलपुर कुटीका भीमबहादुर बिक र माने दमाई मार्र्फत कुवेत पुगेकी कोहलपुर―३ की गंगा दमाई बेपत्ता छिन्। गंगाका पति प्रेमबहादुरका अनुसार, सबै कागजात घरेलु कामदारका रूपमा कुवेत जाने गरी बनाइए पनि भिसा दुई महीनाका लागि मात्र लगाइएको थियो। जबकि, घरेलु कामदार (हाउस मेड) का लागि दुई वर्षको भिसा दिइन्छ।
कुवेतको अध्यागमन विभागको प्रवेशाज्ञामा भने ७ नोभेम्बर २०१३ देखि दुई महीनाका लागि मात्र कुवेतमा रहन इजाजत दिइएको उल्लेख छ।
कुवेतस्थित नेपाली राजदूतावासले वैदेशिक रोजगार विभाग काठमाडौंलाई श्रम स्वीकृति दिन गरेको सिफारिश पत्रमा भने दुई वर्ष नै उल्लेख छ। नेपाल लाइफ इन्स्योरेन्स र दि बहराइन कुवेत इन्स्योरेन्स कर्पोरेसनबाट गंगाको जीवन बीमा गर्ने रोजगारदाता कम्पनीको नाम हादी महसान मोआकिल स्सेर अलाज्मी लेखिएको छ।
वीरेन्द्रा बिक :
वैदेशिक रोजगारका क्रममा बेचिएका महिलाको उद्धारको क्षेत्रमा काम गर्ने माइती नेपालका नेपालगञ्ज कार्यालय प्रमुख केशव कोइराला गंगाको सबै कागज नक्कली हुनसक्ने बताउँछन्।
१५ डिसेम्बर २०१३ मा नेपाल लाइफ इन्स्योरेन्ससँग भएको बीमा (बीमा नं १०१२४१११) सम्झौतामा सोही दिनदेखि १५ डिसेम्बर २०१५ सम्म सम्झौता लागू हुने उल्लेख छ। त्यसमा हस्ताक्षर गर्ने ‘अधिकारप्राप्त अधिकारी’ को नाम, पद र जाँच गर्नेको नाम खाली राखिएको छ।
अभिलेखमा रहेको नम्बर (१११४९६८४६) मा बीमाको रसिद नम्बर (४९७०९४) भरिएको छ, तर बीमितले इच्छाएको व्यक्तिको विवरण भरिएको छैन। गंगाको ठेगाना पनि सुर्खेत लेखिएको छ। ७ नोभेम्बरमा भिसा आइसकेपछि २ डिसेम्बर २०१३ मा प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान शाखाले ‘प्रहरी रिपोर्ट’ दिएको छ। मित्रनगर―२९, नयाँ बसपार्क काठमाडौंको क्यापिटल मेडिकल सेन्टरले ३ डिसेम्बर २०१३ मा स्वास्थ्य परीक्षण गरी निरोगिताको प्रमाणपत्र दिएको छ।
नेपाल लाइफ इन्स्योरेन्ससँगको बीमा सम्झौता बाहेक अन्य सबै कागजातले प्रहरी रिपोर्ट आएको र स्वास्थ्य परीक्षण भएको मितिमा गंगा कुवेत पुगिसकेको देखाउँछ। यसरी नै कुवेत पुगेकी सूर्यपटुवा―९ बर्दियाकी सवोनी थारू पनि बेपत्ता छिन्। ०५९०४५४६ नम्बरको पासपोर्ट मार्फत उडेकी उनलाई पनि दुई महीनाको भिसा दिइएको थियो।
अन्य सबै कागजात दुई वर्षका लागि बनाइएका छन्। यी दुई महिलालाई नेपालमै नक्कली कागजात बनाएर पर्यटक भिसामा काठमाडौं विमानस्थलबाट विदेश पठाएको देखिन्छ।
(खोज पत्रकारिता केन्द्रको सहयोगमा तयार यस रिपोर्टमा उल्लेख सम्पूर्ण कागजात हिमाल मा सुरक्षित छन्। –सं.)
________________________________________
‘कारबाही होस्’
श्रीमान्ले अर्को बिहे गरेपछि माइतीमै बसेकी थिएँ। फुपू–फुपाजु नाता पर्ने पर्से र भद्री कामीले नेपालगंज जाऊँ भनेपछि गएँ।
उनीहरूले तिम्रो घरबार बिग्रेकोले दुइटी छोरी पाल्न गाह्रो छ। हामीले चिनेको मान्छेले साउदी पठाउँछ, जाऊ भने। त्यहाँ घरको काम गरेर महीनाको भारु १६ हजार कमाइ हुन्छ भनेका थिए। आफूसँग पैसा र कागजात केही थिएन।
उनीहरूले पैसा हालिदिन्छौं, नागरिकता र पासपोर्ट उतै बनाउँला भन्दै दिल्ली लगे। तर, १३ जेठ २०६७ मा साउदी ओर्लेको दिनैदेखि मालिकले तँलाई २० हजार रियालमा किनेको भन्दै अत्याचार गर्न थाले। फलामको डन्डाले हानेर मेरो देब्रे खुट्टा भाँचिदिए। अहिले पनि सोझो हिंड्न सक्दिनँ। तिनलाई कारबाही होस्।
——————————————————–
‘नेपालमै कमाइ छ’
मैनबत्ती उद्योगमा काम गरेर महीनाको रु.२५/३० हजार कमाउन सकिन्छ भनेर पञ्जाबको कोठीमा बिक्री गरिदिए।
‘नराम्रो काम’ गर्न नमान्दा कुटपिट गर्थे। नेपाल फर्केपछि तीन महीना साथी संस्थाको सेल्टरमा बसेर सिलाइ कटाइ सिकें। महिला विकासले दिएको रु.१० हजारले एउटा मेशीन किनें।
अहिले बचत गर्न र एड्भान्स तालिम पनि लिन थालेकी छु। बहिनीलाई पढाएकी छु, हजुरआमालाई हेरेकी छु। अहिले थाहा भयो– नेपालमै कमाइ छ, कतै जानु पर्दैन। पुराना कुराले भने पिरोलिरहन्छ।
(तुफान न्यौपाने-हिमाल)