लथालिंग स्वास्थ्य तालिम केन्द्र व्यवस्थापन अभावमा I

धनकुटा बैशाख ८,

दरबन्दीअनुसार न कर्मचारी छन्, न त कुनै कार्यक्रम नै छ । पूर्वाञ्चलको एक मात्र क्षेत्रीय स्वास्थ्य तालिम केन्द्र यतिवेला कर्मचारीका लागि समय बिताउने थलो मात्र भएको छ । पूर्वाञ्चलका १६ वटै जिल्लामा खटिने विभिन्न तहका स्वास्थ्य प्राविधिकलाई तालिम दिन खोलिएको क्षेत्रीय स्वास्थ्य तालिम केन्द्र आवश्यक बजेट र व्यवस्थापन अभावमा लथालिंग बन्दै गएको हो । 

अत्यावश्यक उपकरण, भौतिक पूर्वाधार व्यवस्थापन तथा स्तरोन्नतिमा ध्यान नदिइँदा केन्द्र निष्प्रभावी बनेको छ । पूर्वाञ्चल विकास क्षेत्रमा दरबन्दी भएका विभिन्न तहका हजारौँ स्वास्थ्य प्राविधिकको व्यावसायिक दक्षता, स्तरोन्नति र पुनर्ताजगीलगायत तालिम सञ्चालनका लागि ३२ वर्षअघि यो केन्द्रको स्थापना भएको हो । केन्द्रमा पुस्तकालय, प्रयोगात्मक प्रदर्शनी, अस्पताल संरचना र आवश्यक उपकरणको व्यवस्था नहुँदा केन्द्रको अवस्था लथालिंग बन्दै गएको केन्द्रका निमित्त प्रमुख रामसागर चौधरीले बताए । 

कार्यालयमा दरबन्दीअनुसारका कर्मचारी पनि छैनन् । केन्द्रमा कुल १९ जनाको दरबन्दी रहेकामा अहिले जम्मा नौ जना मात्र कार्यरत छन् । निमित्त प्रमुख चौधरी पनि कार्यालयको पाँचाँै मर्यादाक्रममा रहेका कर्मचारी हुन् । निर्देशक, स्वास्थ्य शिक्षा अधिकृत नवौँ तह, स्वास्थ्य शिक्षा अधिकृत र नर्सिङ अधिकृतको दरबन्दी केन्द्रमा रिक्त छ । नायब सुब्बा र टाइपिस्ट पनि छैनन् । दरबन्दीअनुसारका कर्मचारी मात्र होइन, तालिम हल र छात्रावासको स्थिति पनि बिजोगको रहेको केन्द्रले जनाएको छ । 

निमित्त प्रमुख चौधरीका अनुसार दुई वर्षयता तालिम सञ्चालन हुन सकेको छैन । केन्द्रमा रहेका तीनवटा तालिम हल कामचलाउ मात्र छन् । ‘लामो समय भयो मर्मत सम्भार नभएको’ उनले भने ‘अब नयाँ प्रविधिअनुसारको तालिम हल चाहिन्छ ।’ महिला र पुरुष दुईवटा छात्रावास भए पनि त्यसमा रहेका भौतिक संरचना जीर्ण भइसकेको निमित्त प्रमुख चौधरीले बताए । 

‘छात्रावासका खाट खत्तम भइसकेका छन्,’ उनले भने, ‘यस्तै अवस्थामा अब स्तरीय तालिम गर्न समस्या छ ।’ छात्रवासमा कुल ५६ वटा बेड छन् । तर, सबै सुत्न नमिल्ने अवस्थामा पुगेको केन्द्रको भनाइ छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ । (स्वास्थ्य खबर)

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com