मुम्बई चैत २३,
भारतमा दुई सामूहिक बलात्कार मुद्दामा दोषी ठहरिएका तीनजनालाई मुम्बईको एक अदालतले शुक्रबार मृत्युदण्डको सजाय सुनाएको छ । गत वर्षदेखि त्यहाँ बलात्कारसम्बन्धी कानुनलाई कडा बनाइएपछि यौनअपराधका दोषीविरुद्ध पहिलोपटक यस प्रकारको फैसला सुनाइएको हो ।
त्यहाँको नयाँ कानुनमा पटकपटक यौनअपराधमा संलग्न भएकालाई मृत्युदण्ड दिने प्रावधान छ ।
गत वर्ष जुलाई तथा अगस्टमा मुम्बईको एक प्रयोगविहीन शक्ति मिल परिसरमा उनीहरूले दुई युवतीलाई सामूहिक बलात्कार गरेका थिए । पीडित हुनेमा २२ वषर्ीया प्रशिक्षार्थी फोटो पत्रकार पनि थिइन् । यसले विश्वका आमसञ्चारको ध्यान तानेको थियो । यसपछि अर्की पीडित १८ वर्षे टेलिफोन अपरेटर पनि हिम्मत गरेर प्रहरीसम्म पुगेकी थिइन् ।
२८ वर्षे मोहमद सलिम अन्सारी, १९ वर्षे विजयमोहन यादव तथा २१ वर्षे कसिम हफिज सेखले उक्त सजाय पाएका हुन् । गत महिनाकै द्रूत सुनुवाइ प्रक्रियाबाट उनीहरू दोषी ठहरिएका हुन् । सात महिनासम्म सुनुवाइ चलेको थियो । अर्को घटनामा एक महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा गत महिना आजीवन काराबास पाएका पाँचजनामध्ये तीनजना पनि परेका थिए । एएफपी :