छोराको बदला अस्पतालले छोरी दिएपछि I

रुपन्देही  बैशाख १२, 

भैरहवा गोनाहाकी विद्या हरिजनले जन्माएको बच्चा नरोएपछि परिवारले उपचारको लागी भैरहवास्थित भिम अस्पतालमा ल्याएका थिए । उपचार नहुने भन्दै भिम अस्पतालका चिकित्सकले नवजात शिशुलाई बुटवलमा रहेको सिदार्थ बाल तथा महिला अस्पताल (आम्दा)मा रिफर गरेका थिए । 

हरिजन परिवारले आम्दा अस्पतालमा बुधवार दिउसो ४ बजे शिशु लगेका थिए । शिशुको तत्काल उपचार भएको थियो । तर अस्पतालले राति १२ बजे शिशुलाई मृतक घोषणा गर्यो । परिवारले आफनो नवजात शिशुको शव भैरहवा लगी अन्तिम संस्कारमा जुटे । छोरा जन्मिएको शिशु अन्तिम संस्कार गर्दा छोरी देखियो । हरिजन परिवार छांगाबाट खसेजस्तो भए । र तत्काल बच्चा आफ्नो नभएको दाबी गर्दै पुनः अस्पताल फर्किए । ‘सुरुमा अस्पतालले हाम्रो कुरा पत्याएन’ शिशुका पिता कन्हैया हरिजनले भने, ‘भिम अस्पतालले दिएको कागजको आधारमा बल्ल त्यहाँ कार्यरत स्वास्थ्यकर्मीहरुले स्वीकार गरे ।’ 

अस्पतालका कार्यकारी निर्देशक डा. बिनोद पराजुलीले अस्पतालको गल्ती भएको स्विकार गरेका छन् । ‘बच्चाको रेकर्ड फाईल फरकपरेपछि बच्चा साटिएको हो’ डा. पराजुलीले भने, ‘ यसबिषयमा छानबिन समिति गठन भएको छ ।’ हरिजनको छोराको उपचार अस्पतालमा भइरहेको छ । बच्चा साटिनु त्रुटि हो वा नियतबस हो खुल्लन सकेको छैन । अस्पतालले लापरवाहि स्विकार गरेपनि हरिजन परिवार भने सहमत हुन सकेको छैन । अस्पताल स्रोतका अनुसार साटिएकि ति नाबालिकाको मृत्यु दिउसो करिब ३ बजे नै भएको हो । नियतबस बच्चा साटिएको स्रोतको दाबी छ । अस्पतालले हरिजन परिवारलाई जिम्मा लगाएकी मृत नाबालिका गुल्मीको नयाँगाउँ ३ की कमला गौतमकी छोरी थिइन् । 

कमलाले गुल्मी अस्पतालमा बालिका जन्माएकी थिइन् । तर शिशु स्वस्थ नभएपछि थप उपचारका लागि मंगलबार आम्दा अस्पतालमा एनआईसीयूमा भर्ना गरिएको थियो । नाबालिकालाई राति मृत घोषणा गरेर चिकित्सकले हरिजन परिवारलाई बुझाएका थिए । बालिकाको शव फर्काएपछि अस्पतालले तुरुन्तै गौतम परिवारलाई जिम्मा लगाएको थियो । अस्पतालले लुम्बिनी अञ्चल अस्पताल विकास समितिका पूर्व अध्यक्ष रामबहादुर कार्की, आम्दा अस्पतालका एकजना प्रतिनिधि र पिडितको तर्फबाट एक जना गरी तिन सदस्यीय छानबिन समिति गठन गरेको हो । समितिले १ हप्ताभित्र प्रतिबेदन पेस गर्ने गरी सहमति भएको अस्पतालका निर्देशक डा. पराजुलीले बताए । आम्दा अस्पतालले शिशुको निशुल्क उपचार गरी दिने समेत उनले बताए ।
तस्वीर : उपचार भईरहेको हरिजनको शिशु (by, healthnews)

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com