काठमान्डू वैशाख १२
सधैँजसो पाटन संग्रहालयबाहिर पेटीमा बसिबियालो गर्ने पाटन, सुन्धाराका ७२ वर्षीय ठूलोकान्छा महर्जन बुधबार चर्को घाममा सुन्दरीचोकभित्र हात्तीको दाँतबाट बनेको झ्याल खोज्दै थिए । तर उनले खोजेको झ्यालमा हात्तीको दाँतको नामोनिसान थिएन । सत्रौं शताब्दीमा मल्ल राजाले निर्माण गरेको पाटन दरबारभित्रको सुन्दरीचोक र मूलचोक १९९० को भूकम्पले पूरै ध्वस्त भएको थियो ।
मूलचोक र सुन्दरीचोकलाई २०५० सालमा जीर्ण भएको भन्दै बन्द गरेपछि आमसर्वसाधारणका लागि दुई चोक घुमघाममा रोक लगाइएको थियो ।
झन्डै २० वर्षपछि दुई चोकको मर्मत सम्भार गरी आइतबारदेखि सर्वसाधारणका लागि खुला गरिएपछि सुन्दरीचोक र मूलचोक हेर्न स्थानीय र पर्यटक छिरेका थिए । 'त्यसबेला यो चोकको बीच भागमा सुनको धारा र अगाडि-पछाडि भागमा कलात्मक ढंगले हात्तीको दाँतबाटै बनेका दुई झ्याल थिए,' महर्जनले अनुभव
सुनाए । उनका अनुसार सुन्दरीचोकको मुख्य आकर्षण चारैतर्फ नेपाली वास्तुकलाले बनेको भवन र हात्तीको दाँतबाट बनेको झ्यालेचोक नै थिए ।
'वास्तुकलालेभन्दा यो झ्याल हात्तीकै दाँतले सुनमा सुगन्ध थपेको थियो, अहिले झ्याल नहुँुदा यो चोककै महत्त्व घटेको पाएँ,' उनले
भने । सुन्दरीचोक खुल्ाा भएपछि ६४ वषर्ीय भाइ ज्ञानबाबुलाई लिएर झ्याल हेर्न आफूहरू आएको उनले जानकारी दिए ।
सुन्दरीचोक सर्वसाधारणका लागि खुला गरिएपछि ललितपुरका स्थानीयवासी खुसी छन् । '५० वर्षअघि सुन्दरीचोक हेर्दाको चमक अर्कै थियो,' नागबाहिलका ६९ वषर्ीय लालुकाजी महर्जनले बताए । 'हात्तीको दाँतबाटै फूलबुट्टा कुँदेर बनाएको झ्याल थियो । झ्यालको कला हेरेर मानिस घन्टौं बस्थे, उतिबेलाका ऐतिहासिक कला लोप हुँदै गए,' उनले भने ।
राजारानी आएर सुन्दरीचोकमा जाडो समयमा चारपाते ढुंगोमा आगो बालेर ताप्ने र गर्मी समयमा
ढुंगोलाई चिसो बनाएर ढुंगोमाथि बस्ने गरेको पाटनढोकाका ७६ वर्षीय हीरामान महर्जनले बताए ।
'पहिला यो सुन्दरीचोक आउँदा मनै उमंग हुन्थ्यो, दिनभरि बसेर साँझपख घरतिर लाग्थ्यौं, अहिले त खल्लो लाग्ने भएछ,' उनले भने ।
सन् १९७९ मा विश्व सम्पदा सूचीमा सूचीकृत पाटन दरबार क्षेत्रअन्तर्गत यी चोकमा पर्यटकको विशेष रुचि र आकर्षण रहेका कारण खोलिएको संग्रहालयले जनाएको छ ।
जीर्ण भएका कारण २०५० सालमा बन्द भएको थियो भने मूलचोक ४ वर्षअघि जीर्णेद्धारका लागि बन्द गरिएको पाटन संग्रहालयका अधिकृत सुरेशमान लाखेले बताए । 'यसअघि खोलिए पनि राम्रोसँग हेर्न पाइँदैनथ्यो, चोक घुम्न पाए पनि दरबारका भित्री भागमा घुम्न पाइन्नथ्यो,'
उनले भने, 'अब सुन्दरीचोक भित्रपट्टी संग्राहालय पनि बनाइसकेका छौं ।'
लाखेका अनुसार यी दुई चोक खुला गरिएपछि बाह्य र आन्तरिक पर्यटकको संख्यामा वृद्धि भएको छ । दैनिक १ सय ५० ले अवलोकन गर्दै आएकामा अहिले २ सय ३० जना पुगेका छन् ।
सुन्दरीचोकभित्रका संरचनामा हात्तीको दाँतबाट बनाएको झ्यालले चोकमा सौन्दर्य बढाएको संस्कृतिविद् सत्यमोहन जोशीले बताए । दुई झ्याल हात्तीकै दाँतबाट बनाउन धेरै पटक पहल गरे पनि कसैले सुनुवाइ नगरेको उनले जानकारी दिए । 'चोकको विशेषता नै दुई झ्याल हो ।
हात्तीको दाँतबाट झ्याल बनाऔं भन्दै धेरै पटक सम्बन्धित निकायमा गएँ तर कसैले बनाउने आँट गरेनन्,' उनले भने, 'भएको संरचना मास्ने मात्रै छन्, पहिलाको जस्तो बनाउनभन्दा कोेही मान्दैनन् ।'
पाटन संग्रहालयका अनुसार १२ औँ शताब्दीदेखि १८ औं शताब्दी पुराना काष्ठकलाका सामग्री छन् । (अशोक दर्नाल-इकान्तपुर)