धरान बैशाख ४,
भोजराज श्रेष्ठ : हामीले प्रयोग गर्ने कतिपय तेल उद्योगहरुले ‘कोलेष्ट्रोल फ्रि’ को नाम भजाएर व्यापार गरिरहेका छन् । उद्योगहरुले भ्रम छरेर लाखौं रुपैया कमाई रहेका छन् ।
‘कोलेस्ट्रोल फ्रि भएका चिजलाई फ्रि भन्नुको मतलव नै छैन ।’ केन्द्रीय प्रविधि क्याम्पस हात्तिसारका प्राध्यापक सुरेन्द्रबहादुर कटुवाल भन्छन् ‘उद्योगको बढी बिक्री गर्ने नीति मात्रै हो ।’ यर्थाथ त के भने कुनै पनि वनस्पतिजन्य तेलहरुमा कोलेष्ट्रोल नै हुदैन । तर, बजारमा बिक्री भइरहेका सूर्यमुखी, पोष्टमेन, कुखुरी, धारा, सोयाविन, मेजानलगायत तेलहरुमा कोलेस्ट्रोल फ्रि भनिदै भ्रमपूर्ण बिक्री गरिन्छ । कतिपय तेलहरुमा लेभल लगाएरै उद्योगहरुले बजारमा पठाउनेसमेत गरेका छन् ।
विभिन्न कम्पनीहरुले बजारमा विज्ञापन गर्दै कोलेष्ट्रोल फ्रि, मुटु बलियो बनाउने भन्दै बिक्री गरिरहेका छन् । अझ सूर्यमुखी, मेजान, सोयाविनको तेलहरुमा कोलेष्ट्रोल फ्रि मात्रै हैन, शरीरमा भएको कोलेष्ट्रोल पनि घटाउँछ भनी प्रचारसमेत गरिन्छ । बजारमा बिक्री गर्ने व्यवसायीहरुले भने अधिकांस सर्वसाधारण तथा उपभोक्ताहरुलाई कोलेष्ट्रोल फ्रि भनी हौवा फैलाइरहेका हुन्छन् । ‘पशुजन्य तेलहरुमा मात्रै कोलेष्ट्रोल हुन्छ’ उपभोक्ता अधिकारकर्मी केपी लम्साल भन्छन् ।
बजारमा बिक्रीका लागि राखिएका तेलहरुको गुणस्तरसँग पनि उद्योगहरुले कोलेस्ट्रोल फ्रिलाई जोडेका हुन्छन् । तर, त्यो उद्योगहरुको मार्केटिङ टुल्स मात्रै भएको अधिकारकर्मी लम्सालको दाबी छ । बजारमा पाइने प्याक होस् वा बोतलमा राखिएका तेलहरुको गुणस्तर कति छ भन्ने कुराको कुनै मापदण्ड नहुने उपभोक्ता अधिकारकर्मी लम्साल बताउँछन् । ‘कोलेष्ट्रोल फ्रि लेखिदैमा राम्रो गुणस्तरीय हो भन्ने बुझाई हामीसँग छ । तर, यथार्थमा त्यो हुदैन ।’ उनी भन्छन् ।
कोलेष्ट्रोल फ्रिका नाममा पनि कतिपय तेलहरु महंगो मूल्यमा बिक्रीसमेत हुने गरेका छन् । र, आम उपभोक्ताहरुको बुझाई पनि त्यस्ता लेभल लागेका तेलहरु राम्रो हो भन्ने बुझाइ छ । ‘तेलको गुणस्तर कोलेष्ट्रोल फ्रिले गर्दैन’, प्राध्यापक कटुवाल भन्छन् । यर्थाथमा ट्राइग्लिसराइड भनिने तत्वले सबैभन्दा बढी मुटुलाई खराबी गर्दछ । तेलको गुणस्तर हेर्नका लागि एबी भ्याल्यू, पिभी भ्याल्यु, रिसर्च नम्बर, मेल्टिङ पोइन्ट, फ्याक्स पोइन्ट, स्मोकिङ पोइन्ट, ट्रान्सफ्याट एसिडलाई बढी महत्व दिनु पर्छ । तर, बजारमा आउने अधिकांस तेलहरुमा त्यो पाइदैन । र, उपभोक्ताहरु पनि त्यसप्रति सचेत छैनन् ।
विश्व खाद्य संस्थानले हालै नेपालको चाउचाउमा गरेको अनुसन्धानमा ६० एमजि परलिटर भन्दा बढी ट्रान्सफ्याट एसिड भेटिएको थियो । जसले कोषहरुलाई खराब बनाउने र क्यान्सर जस्तो रोगहरु लाग्ने चिकित्सकहरु बताउँछन् । नेपालको तेल विक्री वितरण प्रणाली हेर्दा ट्रान्सफ्याल्ट एसिड छ÷छैन भनेर नहेरिने गरिएको अधिकारकर्मीहरुको दाबी छ । बजारमा पाइने तेलको गुणस्तर नाप्ने सरकारी निकायहरु मौन हुँदा झनै उपभोक्ताहरु चपेटामा परिरहेका छन् । ‘बजारमा पाइने तेल पूर्ण विश्वस्त भएर खान सकिने अवस्था छैन’ अधिकारकर्मी लम्साल भन्छन् ।
नर्भिक अस्पताल काठमाडांैमा मुटुसम्बन्धी समस्या लिएर परीक्षण गराउनेहरु मध्ये ६६ प्रतिशतलाई ट्राइग्लिसराइडको मात्रा बढी पाइएको थियो । गुण तथा खाद्य प्रविधि कार्यालय क्षेत्रीय कार्यालयका प्रमुख उपेन्द्र राय पनि बनस्पतिजन्य खाद्यबस्तुमा खराब कोलेस्ट्रोलको मात्रा नहुने दाबी गरे । उनी पनि पशुजन्यमा मात्रै कोलेस्ट्रोलको मात्रा हुने बताए पनि उद्योगलाई बचाउ गर्दै भने ‘उद्योगहरुले सचेतनाको लागि कोलेस्ट्रोल फ्रि लेखेको हो ।’ मानिसहरुमा सचेतना भइदिएको भए विज्ञापनको रुपमा कोलेष्ट्रोल फ्रि लेखिरहनु नपर्ने दाबी उनको छ । ‘साचो कुरालाई साचो लेख्दा भ्रमको रुपमा बुझ्नु हुदैन ।’ उनले भने ।
नेपाल सरकारले १ सय १३ वटा खाद्य बस्तुको अनुगमन गर्नका लागि स्टेण्र्डड कायम गरेको छ । त्यो स्टाण्र्डड कायम गरेमा कम्पनीलाई कारबाही नहुने नत्र कारबाहीको भागिदार हुने बताए । उनकै भनाइलाई आधार मान्ने हो भने पनि अहिलेसम्म बजारमा बिक्री भइरहेको तेलहरुको गुणस्तरीता हेरिएको छैन भन्ने प्रष्ट हुन्छ । तर, दिनहु भान्सामा एक व्यक्तिले १५ मिली लिटरभन्दा बढी उपभोग गरेमा कोलेस्ट्रोलको जोखिम बढ्ने चिकित्सकहरु बताउँछन् ।