मन्त्रीज्यू पुल त हावाले नै लडाएको हो I

सुनकोसी (ओखलढुंगा), चैत्र ३० - 

 पुलबारे सोधपुछ गर्दै भौतिक योजना तथा निर्माण मन्त्री विमलेन्द्र निधि । 

बन्दाबन्दै भत्केको सुनकोसी पुल निरीक्षण गर्न शनिबार भौतिक योजना तथा निर्माण मन्त्री विमलेन्द्र निधिसहितको टोली यहाँ आइपुगेको छ । मन्त्री निधिले सुरुमै प्राविधिकहरूसँग सोधे, 'पुल के कारणले भत्कियो ?,' जवाफ आयो, 'मन्त्रीज्यू पुल त हावाले नै लडाएको हो ।' मन्त्री छक्कै परे । उनले फेरि सोधे, 'हैन यी त्रिपाल टाँगेका छाप्रा पनि नउडाउने हावाले कसरी यत्रो फलामे पुल लडायो ?,' यस्तो संवाद केहीबेरसम्म चल्यो । 

जवाफ दिने प्राविधिक थिए हर्कपुर-ओखलढुंगा सडक आयोजनाका प्रमुख अर्जुन अर्याल र पुलको स्टील ट्रस जोड्ने ठेक्का पाएका हुलास स्टीलका आयोजना प्रबन्धक उद्धव राना मगर । हर्कपुर र उदयपुरको घुर्मी जोड्ने पुल सम्पन्न हुने अवस्थामा गत सोमबार राति भत्किएको थियो । घटनाको तत्काल छानबिन गरी कारण पत्ता लगाउन ओखलढुंगाका सभासदद्वय रामहरि खतिवडा र यज्ञराज सुनुवारले सदनमै सरकारलाई अनुरोध गरेपछि मन्त्री निधि यहाँ आइपुगेका हुन् । 'म राजधानी र्फकनेबित्तिकै एउटा स्वतन्त्र छानबिन कार्यदल गठन गरी वास्तविकता अध्ययन गर्न पठाउँछु,' निरीक्षणपछि निधिले भने, 'दोषी पत्ता लागेमा कारबाही गर्छु ।' 

उनले बाँकी काम तीव्र गतिमा सम्पन्न गर्न ठेकेदार कम्पनी र मन्त्रालय मातहत कर्मचारीलाई निर्देशन दिए । 'यत्रो फलामको पुल हावाले लडाएको भन्नु नै हावादारी कुरा हो,' सोलुखुम्बुका सभासद तथा कांग्रेस नेता बलबहादुर केसीले भने, 'छानबिन गरेर कारण पत्ता लगाउनैपर्छ तर भइरहेको काम पनि रोक्नुहुन्न ।' आगामी दिनमा यस्तो घटना दोहोरिन दिन नहुने केसीले बताए । 

निरीक्षणका लागि मन्त्रीसहित सचिव तुलसी सिटौला, सडक विभागका महानिर्देशक देवेन्द्र कार्की, सिन्धुलीका सभासदद्वय दिपशिखा शर्मा, मोहन बराल, ओखलढुंगाका सभासद रामहरि खतिवडालगायतको टोली आएको हो । उनीहरूले खोटाङ र ओखलढुंगा जोड्ने दुधकोसीको निर्माणाधीन पुलसमेत निरीक्षण गरे । सुनकोसी पुल भत्किनुअघिको अवस्थामा ल्याउन कम्तीमा २० दिन लाग्ने हुलास स्टीलका आयोजना प्रबन्धक उद्धव राना मगरले बताए । 

'केही सामग्री पुनः उत्पादन गरेर ल्याउनुपर्छ । काम लाग्ने यसैलाई प्रयोग गरिन्छ,' उनले भने, 'हामी काम रोक्दैनौं, सक्दो छिटो गर्छौर्ँ ।' पुलको क्षति मूल्यांकन गरेर बिमा कम्पनी फर्किसकेको छ । कम्पनीले क्षतिको विवरण खुलाएको छैन । पुलको बिमा भएकाले ठेकेदारलाई घाटा नभए पनि ओखलढुंगा, सोलुखुम्बु र खोटाङ जिल्लाबासी पुनः घाटामा परेको स्थानीयको गुनासो छ । 'यो नबन्नुमा आन्तरिक भन्दा बाह्य कारण बढी छ,' स्थानीय गिरिराज निरौलाले भने, 'फेरि पनि यसलाई राजनीतिकरण नगरियोस् ।' 
  (कुम्भराज राई-कान्तिपुर )

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com