काठमाडौं
चिकित्सा विज्ञान पढेकी छोरीलाई रम्रो परिवारको केटासँग विवाह गरिदिने खुश्बुप्रिया मिश्रका आमाबाबुको ठूलो सपना थियो। जनकपुर निवासी रजनिश झा खुश्बुको हात माग्न आएपछि त उनीहरुको आफ्नो सपना साकार
भएजस्तो लाग्यो।
त्यसमा पनि डाक्टर पढेकी छोरीलाई ज्वाईँ पनि डाक्टर नै भएपछि आमाबाबुको खसीको सिमा रहेन।
केटा पक्षले विवाहका लागि एक सातामै समय दिँदा पनि केटी पक्षले विवाहमा कुनै कमि महशुस हुन दिएनन्। यसरी २०६८ साल असार ६ गते खुश्बुको घर सिनामंगलमा धुमधामका साथ गरिएको विवाह नै मिश्र परिवारका लागि एक दिन अभिशाप बन्ला भनेर उनीहरुले सपनामा पनि सोचेका थिएनन्। विवाह भएको तीन दिनमै रजनिशको आँखा खुश्बुको बुबाको गाडीमा परेको र दाइजो विरोधी खुश्बुले गाडी माग्न नमानेपछि उनलाई परिवारै मिलेर मानसिक र शारीरिक यातना दिन सुरु गरे।
विवाह पछि पनि झा परिवारले राम्रो साइत छैन भन्दै १० महिना भित्र्याएनन्। भने रजनिश खुश्बुको आमाबुबाले निकै जोड गरेपछि उनलाई घर त भित्र्याइयो तर उनीहरुको दाइजोको माग भने बढ्दै गयो।
’छोरी घर गएको पाँच दिनमै ज्वाइसहित फेरि काठमाडौ आएकी थिइ। त्यतीबेला दिएको पाँचलाख रुपैयाँ र १५ तोला सुन पनि उनीहरुले नै लिए,’ खुश्बुकी आमाले गहभरी आँसु पार्दै भनिन्।
गत वर्ष सिनामंगलस्थित आफ्नै घरअगाडि खुश्बुका आमाबाबुलाई रजनिशलगायत पाँचजनाको समूहले सामूहिक आक्रमण गरेको थियो। यसले गर्दा खुश्बुका आमाबाबुको टाउकोमा चोट लाग्नुका साथै उनीहरुलाई अस्पताल २ दिनसम्म बस्नु परेको थियो। त्यहाँबाटा छिमेकीको सहयोगमा रजनिश र उनका बाबुलाई पक्राउ गरी एक सातासम्म बौद्ध प्रहरीले हिरासतमा राखेर उनीहरुमाथि सार्वजनिक मुद्दा चलाइयो ।
रजनिश अहिले खुश्बुलाई पारपाचुकेको लागि दबाब दिन थालेका छन् । तर, खुश्बु भने आफूलार्य पारपाचुके गरेपछि अन्य अबोध केटीहरुलाई पनि रजनीशले सहजै फसाउने देखेर तयार भएकी छैनन् । उनि भन्छिन्, ‘मैले डिभोर्स दिँदा उसको बाटो क्ल्यिर हुन्छ । अर्की सोझी केटीलाई फेरि फसाउन सक्छ ।’
त्रिविमा अध्यापक रहेका खुश्बुका बुबा र कीर्तिपुरमा ल्याब अफिसर रहेकी उनकी आमा हिजोआजक सधैँ त्रासमा बाँच्नु परेको पीडा सुनाउँछन् । छोरीको पीडामा भक्कानिँदै खुश्बुकी आमाले भनिन्, ‘समाजमा यस्ता घटना लुकाएर राख्दा झनै नराम्रो सन्देश जान्छ ।’
पैसाका लागि पत्नी, सासू र सुरालाई समेत मार्ने धम्की दिन सक्ने रजनिशले भविष्यमा जे पनि गर्न सक्ने खुश्बुका बुबाको भनाई छ । आक्रोशित हुँदै उनले भने, ‘यस्ता डाक्टरले भोलिका दिनमा अरुको भविष्य बर्बाद नपार्लान् भन्न सकिन्न । यस्ता मान्छेले मानव अंग तस्कर नगर्लान् पनि भन्न सकिन्न ।
(अन्नपूर्णमा पोष्ट)