कविता "उत्तरदायित्व"
तिमी छयौ , म छु र
हाम्रा धेरै सपनाहरू छन्
धेरै सम्भावना र आशाहरू ,
हाम्रा अगाडि
वेदनाको घाउ सन्चो पार्ने
कर्तव्यका मलम छैनन्
हृदय पगाल्ने आत्मीयता र
भावुकताका ओखती छैनन्
सेतै फुलेका कपाललाई
ममताको स्पर्शले बाटेका डोरी छैनन्
चाउरिएका गालामा
स्नेहले सुम्सुम्याउने हात छैनन्
छ त हामीसँग
अतीतको स्मृति छ
आँसुसँग साट्दै रुनुपरेको
हिजोका रमाइला दिनको
स्वप्निल सम्झना छ
वर्तमानको तीतो यथार्थ
आँसुका थाङ्नामा पसारिनु परे पनि
आगत पन्छाएर खोज्दै गरेको
विगतको कल्पना छ
अनि छ भने एउटा
तिमीले एकोहोरो हेरिरहेको र
विगत बिर्सिएर भविष्य चियाउँदै गरेको
ऐना छ ऐनासँगै सम्झनाको पर्खाल छ
पर्खालमा सन्तानहरू छेकिएका छन् र
त्यसको बिम्ब आफैँतिर फर्किएको छ
र त्यो प्रतिबिम्बमा
तिमी छ्यौ, म छु अनि
निख्रिइसकेको जवानी छ र
हाम्रो बुढ्यौली प्रेम छ
हाम्रो प्रेमले
शारीरिक मायाको फड्को नाघेर
स्नेहको सगरमाथाको उचाइ नाप्दै छ
अनि बुढेसकालमा पनि
कर्तव्य, आत्मीयता र हार्दिकताको
जुनेली प्रकाशमा रम्न खोज्दै छ
हिजोको बैँसालु प्रेम
जीवनको उत्तरार्धमा आएर
उत्तरदायित्वमा अनुवाद भएको छ
यतिखेर
तिमीसँग ममताको भरोसा
छ मसँग स्नेहको आधार छ
किनभने
हाम्रो दरिद्रयलाई
खुच्चिङ गर्ने सन्तानहरू यतिबेला
सहरी सभ्यतामा हराएका छन् र
हामी एक्लो जीवन बाँचिरहेका छौँ ।
रमेशचन्द्र घिमिरे
भोटेटार,लम्जुंग -८