कविता ' उत्तरदायित्व ' : By,रमेशचन्द्र घिमिरे



कविता "उत्तरदायित्व" 

तिमी छयौ , म छु र 
हाम्रा धेरै सपनाहरू छन् 
धेरै सम्भावना र आशाहरू , 
हाम्रा अगाडि 
वेदनाको घाउ सन्चो पार्ने 
कर्तव्यका मलम छैनन् 
हृदय पगाल्ने आत्मीयता र 
भावुकताका ओखती छैनन् 
सेतै फुलेका कपाललाई 
ममताको स्पर्शले बाटेका डोरी छैनन्
 चाउरिएका गालामा
 स्नेहले सुम्सुम्याउने हात छैनन् 
छ त हामीसँग 
अतीतको स्मृति छ 
आँसुसँग साट्दै रुनुपरेको 
हिजोका रमाइला दिनको 
स्वप्निल सम्झना छ 
वर्तमानको तीतो यथार्थ 
आँसुका थाङ्नामा पसारिनु परे पनि 
आगत पन्छाएर खोज्दै गरेको 
विगतको कल्पना छ 
अनि छ भने एउटा 
तिमीले एकोहोरो हेरिरहेको र
 विगत बिर्सिएर भविष्य चियाउँदै गरेको
 ऐना छ ऐनासँगै सम्झनाको पर्खाल छ
 पर्खालमा सन्तानहरू छेकिएका छन् र
 त्यसको बिम्ब आफैँतिर फर्किएको छ 
र त्यो प्रतिबिम्बमा 
तिमी छ्यौ, म छु अनि 
निख्रिइसकेको जवानी छ र
 हाम्रो बुढ्यौली प्रेम छ
 हाम्रो प्रेमले 
शारीरिक मायाको फड्को नाघेर 
स्नेहको सगरमाथाको उचाइ नाप्दै छ 
अनि बुढेसकालमा पनि 
कर्तव्य, आत्मीयता र हार्दिकताको 
जुनेली प्रकाशमा रम्न खोज्दै छ 
हिजोको बैँसालु प्रेम
 जीवनको उत्तरार्धमा आएर 
उत्तरदायित्वमा अनुवाद भएको छ 
यतिखेर
 तिमीसँग ममताको भरोसा 
छ मसँग स्नेहको आधार छ 
किनभने 
हाम्रो दरिद्रयलाई 
खुच्चिङ गर्ने सन्तानहरू यतिबेला 
सहरी सभ्यतामा हराएका छन् र 
हामी एक्लो जीवन बाँचिरहेका छौँ ।

रमेशचन्द्र घिमिरे 
भोटेटार,लम्जुंग -८ 

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com