गज़ल : By, कोमल भट्ट



    गज़ल :

जिन्दगीमा मिठो मुस्कान,सितिमिती पाईंदैन 
झलमल्ल सुनको विहान,सितिमिती पाईंदैन

 गुराँस फुल्छन् वसन्तमा,शिशिरमा झर्छन् सवै
 बाह्रै मैना फुल्ने उद्यान,सितिमिती पाईंदैन

 घुमिराख्छन् सुख दु:ख,कुमालेको चक्र जस्तै 
वेदनाका उचित निदान,सितिमिती पाईंदैन

आजका ती वैभवशाली हुन सक्छन् कङ्गाल भोलि 
सधैं उस्तै मान सम्मान,सितिमिती पाईंदैन

 काम,क्रोध,लोभबाटै,डगमगाउँछन् कति कति 
नहल्लिने स्थिर चट्टान,सितिमिती पाईंदैन

    कुरा जस्तै काम भए,स्वर्ग हुन्थ्यो देश हाम्रो 
निस्वार्थ र स्वच्छ विधान,सितिमिती पाईंदैन

 सरल शिष्ट 'कोमल' मान्छे,हराई सके संसारमा
 सुशान्तिको चोखो आह्वान,सितिमिती पाईंदैन

    कोमल भट्ट 
पुरानो नैकाप,काठमाडौँ 
हाल:- न्युयोर्क

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com