कविता : "यौवन अनि धैर्यता" आचार्य प्रभा
यौवन,
भक्भकी उम्लेर
पोखिँदाको त्यो क्षण
शायद,
हर युवाहरुमनलाई
क्षणिक स्वाद लाग्ला
तर अफ्सोच!
त्यही क्षणभरको जवानी
उम्लाइेमा जिन्दगीका
हर खुशीहरु पनि
पोखिन कत्तिबेर नलाग्ला ।
हो त्यो क्षण
आकाशमा उडिरहेको पंक्षीसँग
आफुलाई दाँज्न मन लाग्छ
अनि,
यौवनले मस्त मात्तिएको
पलाँससँग आफुलाई मिसाउन
मन लाग्छ,
मानौं,
उस्कोलागी असम्भव
कुनै कुरा नै छैन
र....,
छैन कुनै अप्ठ्यारा गल्लीहरु
जो आँखा चिम्लेर पार गर्न सक्छ ।
हो त्यो क्षण,
धुमिल रंगहरुपनी रंगिन लाग्छ
फिक्का मौसम पनि हरियाली लाग्छ
आँखाको ज्योति नै रंगिन भएपछी
संसारभरिका सारा कालो,मैलो नै
उज्याला लाग्छन्
अब भनौं,त्यो पलमा
कम्जोरीपन र गल्तिहरुमा
कहाँ दोष देखिन्छन् र ?
लाग्छ,
म मैं हुँं,
यो यौवनको मात नै मेरो
जीवनको सार हो,
यो अल्लारेपन नै
शास्वत जिन्दगी हो ।
हो यसरी,
यौवन उम्लाइेको अर्थमा
मान्छे अन्धो बन्छ
क्षणिक आवेशमा खुशीहरु
बहिष्क्रित बन्छन्
र,यतिखेर
मान्छे यौवनको बाँधमा
अल्झिन्छन्,
न'त बग्न नै सक्छन्
न'त उत्रिन नै
यसैले यो समय,यो पल
यौवनको उम्लाइेमा
उम्लिनु हुन्न
बरु बैंशको रापलाई
शितलता दिने प्रयास गर्नुपर्छ
र,
उन्मादिलो यौवनलाई
शान्त्वनाको कसीले बाँध्नु पर्छ
अनि....,
जीवनको सार नै
धैर्यता हो हो भनी
बाँच्नु पर्छ.....।