बिन लादेनबारे पाकिस्तानलाई के थाहा थियो ?

चैत्र २३,  

सेप्टेम्बर ११ मा अमेरिकामा भएको आतंककारी हमलापछि अल कायदाबारे रिपोर्टिङ गर्न कार्लोट्टा गाल अफगानिस्तान पुगेकी थिइन् । १३ वर्षसम्म अफगानिस्तान र पाकिस्तानमा बसेर 'न्युयोर्क टाइम्सँका लागि रिपोर्टिङ गरेकी उनी गत वर्षदेखि न्युयोर्क टाइम्सको उत्तर अफ्रिका सम्पादक छन् ।

सेप्टेम्बर ११ को आक्रमण लगत्तै म 'दी न्युयोर्क टाइम्स'को लागि रिपोर्टिङ गर्न अफगानिस्तान गएँ । मैले त्यहाँ आगामी १२ वर्षका अधिकांश समय बिताउनु थियो । नयाँ संविधान र दुईपटकसम्मको निर्वाचनले सर्वसाधारण अफगानीहरूको जीवन सुधारेको थिएन । बरु तालिवानहरूले छापामार युद्धका लागि आफ्ना सदस्यहरू बढाउन थालिसकेका थिए । 

२००६ सम्म सयभन्दा बढी आत्मघाती बम हमलावार तयार गरेका थिए । उनीहरूले दक्षिणी अफगानिस्तान लाई कब्जामा लिन थालेका थिए । जब म बम पडि्कएका र युद्धग्रस्त क्षेत्रहरूमा जान्थें, अफगानीहरू मलाई उही कुरा भन्थें, 'कहाँ यता आएको, विद्रोह गर्नेहरू त उता पाकिस्तानमा छन्, क्वेटाको पश्चिमी जिल्लामा ।' प्रहरी अनुसन्धानले पनि अधिकांश बम हमलावरहरू पाकिस्तानबाट आइरहेका देखाएको थियो । २००६ को डिसेम्बरमा म क्वेटा गएँ, जहाँ मैले केही पाकिस्तानी पत्रकार र फोटोग्राफरहरू भेटें । हामीले केही परिवारहरू भेट्यौं, जसका छोराहरूले अफगानिस्तानमा आत्मघाती बम हमला गरेका थिए । आफ्ना छोराहरू कसरी बिते र तिनलाई कसले भर्ती गरेको थियो भन्ने बताउन ती डराउँथे किनभने तिनीहरू पाकिस्तानको मुख्य खुफिया एजेन्सी आईएसआईले दुःख दिन्छ भन्ठान्थे । 

क्वेटामा पहिलो दिनको रिपोर्टिङपछि हामीले थाहा पायौं, एउटा खुफिया एजेन्टले मोटरसाइकलमा हाम्रो पिछा गरिरहेको छ । हामीले ज-जसको अन्तर्वार्ता लिन्छौं, आईएसआई एजेन्टहरू हामीपछि तिनीहरूको घरमा पुगिहाल्थे । हामीले पस्तुनावादको भ्रमण गरेका थियौं । साँघुरा गल्लीहरूभित्रको त्यो बस्ती पस्तुनहरूको मुख्य बसोबास क्षेत्र थियो, जहाँ धेरै अफगानी शरणार्थीहरू माटो र परालले बनाएका ससाना झुपडीहरूमा बस्थे । त्यहाँ मजदुरहरू, बस ड्राइभरहरू र ससाना पसलेहरू पनि बस्थे । यो केही तालिबानीहरूको पनि अखडा थियो । ती चाहिँ आफैंले चलाएका मस्जिद र मदरसा पछाडिका अग्ला पर्खालले घेरिएका ठूला घरहरूमा बस्थे । यस्तै मदरसाहरूमध्ये जामिया इस्लामिया एउटा हो, जहाँ २८० विद्यार्थी पढ्ने कक्षाकोठाहरू छन् । 

हामीले पत्ता लगाएमध्ये कम्तीमा तीनजना आत्मघाती बम हमलाकारी यही मदरसाका विद्यार्थी थिए । पाकिस्तानका धार्मिक पार्टीका वरिष्ठ नेताहरू, क्षेत्रीय सरकारका अधिकारीहरू यहाँ बरोबर आइरहन्थे । अँध्यारो छिप्पिएपछि स्पोर्ट्स कारमा तालिबान सदस्यहरू पनि यहाँ आउँथे । हामीले अन्तरवार्ताका लागि अनुरोध गरेपछि उनीहरूले महिलालाई प्रवेश निषेध छ भने । त्यसपछि मैले पाकिस्तानी पत्रकार र फोटोग्राफरलाई प्रश्नहरू लेखेर पठाएँ । मदरसाका उपप्रमुखले त्यहाँ कुनै लडाकु तालिम हुने वा जिहादका लागि भर्ती गरिने कुरालाई नकारे । उनले यत्ति भने, 'हामी त यहाँ विद्यार्थीहरूलाई कुरान पढाउँछौं । यो त विद्यार्थीहरूमै भर पर्ने कुरा हो कि उनीहरू जिहादमा जान्छन् कि जाँदैनन् ।' मलाई ती रिपोर्टर र फोटोग्राफरले यो पनि बताए कि भित्ताहरूमा मदरसाका संरक्षक पाकिस्तानी धार्मिक पार्टी नेता तथा तालिबान नेता मुल्लाह मुहम्मद ओमारका भनाइहरू लेखिएका छन् ।

पाकिस्तानका अरू धेरै मदरसाहरू जस्तै यो पनि अफगान राष्ट्रपति हमिद कारजाई र अरूहरूले भनेजस्तै तालिबानहरूको पुनरुत्थानका लागि मुख्य मुहानहरू हुन् । त्यो क्षेत्रका पस्तुन सांसदले मलाई भनेका थिए, 'यस्ता मदरसाहरू त मुखौटा मात्रै हुन् । पर्दापछाडि, अँध्यारोमा त्यहाँ आईएसआई एजेन्टहरू लुकेर बस्छन् ।' खासमा परवेज मुसरफको पाकिस्तान सरकार र उनका खुफिया प्रमुख लेफ्टिनेन्ट जनरल अस्फाक परवेज कयानीले तालिबानलाई संरक्षण दिएका थिए ताकि देशभित्रका विभिन्न सैन्य समूहहरूलाई नियन्त्रण गर्न सकियोस् र प्रोक्सी फोर्सका रूपमा तिनीहरूलाई प्रयोग गरी अफगानिस्तानलाई काबुमा राख्न सकियोस् । ०००० क्वेटामा हाम्रो पाँचौं र अन्तिम दिन थियो । चारजना सादा बर्दीवाला एजेन्टहरूले मेरा फोटोग्राफर सहकर्मीलाई उसकै होटलमा नियन्त्रणमा लिएर उसका कम्प्युटर र फोटो सामग्रीहरू जफत गरे । उनीहरूले उसलाई म बसेको होटलको पार्किङमा लिएर गए र मलाई फोन गर्न लगाए । 

अँध्यारो भइसकेको थियो त्यसैले मलाई त्यहाँ जान मन थिएन तर मैले सहकर्मीलाई सहयोग गर्ने बताए । मैले न्युयोर्कमा मेरा सम्पादकलाई खबर गरें र पाकिस्तानी अधिकारीहरूलाई फोन घुमाएँ । मैले उनीहरूसँग कुरा गर्नुअघि नै खुफिया एजेन्टहरू मेरो होटल कोठाको ढोका फोरेर भित्र पसे । चारजनामध्ये एकजना अंग्रेजी बोल्ने अफिसर पनि थियो । उनीहरूले मेरो लुगामा समाते अनि जबरजस्ती नोटबुक र मोबाइल फोन खोसे । जब एउटाले मेरो हाते झोला समात्यो मैले प्रतिकार गर्न खोज्दै थिएँ, उसले मलाई अनुहारमा लगालग दुई मुक्का हान्यो । उनीहरूलाई महिलाको बेडरुमसम्म पुगेको र शारिरीक हिंसा गरेकोमा मैले क्रुद्ध भएर गाली गरें । त्यो अफिसरले मलाई भन्यो कि पस्तुनावाद जाने अनुमति मसँग थिएन र तालिबान सदस्यहरूसँग अन्तर्वार्ता गर्न मनाही छ । जब तिनीहरू निस्कन लागे, मैले फोटोग्राफर आफूसँगै बस्नुपर्छ भनें । अफिसरले भन्यो, 'यो पाकिस्तानी हो, यसलाई हामी जे मन लाग्यो त्यही गर्न सक्छौं ।' 

मलाई थाहा थियो खासगरी क्वेटामा सुरक्षा निकाय आफैंमा कानुन थिए, उनीहरू जो सुकैलाई यातना दिन वा हत्या गर्नसमेत सक्थे । खासमा उनीहरू सरकारले गोप्य ढंगले सशस्त्र समूहहरूलाई सहयोग गरेको भन्ने समाचार सार्वजनिक हुन दिन चाहँदैनथे । ६ महिनापछि, विस्फोट भयो । २००७ को वसन्तमा इस्लामावादमा लाल मस्जिदसँग जोडिएको मदरसाका छात्राहरूले सहरका केही अवैधानिक मस्जिदहरू ध्वस्त गरिएको भन्दै विरोध प्रदर्शन गरे । लाल मस्जिद अफगानिस्तान र मुस्लिम विश्वमा जिहादका लागि पाकिस्तानको सहयोगको केन्द्र थियो । जिहादी धर्मोपदेशक मौलाना मुहम्मद अब्दुल्लाहले यसको स्थापना गरेका थिए । १९९८ मा अफगानिस्तानमा ओसामा बिन लादेनलाई भेटेर फर्केपछि उनको हत्या भएको थियो । अल कायदाले हत्याको दोस पाकिस्तान सरकारमाथि लगाएको थियो । त्यसपछि अब्दुल्लाहका छोराहरूले मस्जिदको स्वामित्व लिएर अतिवादी शिक्षा जारी राखेका थिए । 

जेठा मौलाना अब्दुल अजिज मुसरफका आलोचक थिए भने कान्छा अब्दुल रसिद घाजी ओसामा बिन लादेनका निकट । सुरुमा गैरधार्मिक कूटनीनिज्ञको छवि बनाएका घाजीले बाबुको मृत्युपछि लादेनलाई भेटेका थिए । उनले लाल मस्जिदका प्रदर्शनकारीहरूमाथि कडा रबैया अपनाइए आत्मघाती बम हमलाको शृंखला सुरु हुने चेतावनी दिएका थिए । यस्ता नेताहरूको साथ पाएपछि विद्यार्थी आन्दोलन अझ चर्कियो । एक रात उनीहरूले एउटा मसाज पार्लरमा छापा मारेर केही चिनियाँ युवतीहरूलाई कब्जामा लिए । आफ्नो सबैभन्दा महत्त्वपूर्ण क्षेत्रीय मित्र शक्ति चीनको दबाब आएपछि पाकिस्तानले लाल मस्जिदमा सेना उतार्‍यो । हरियाली देखिने इस्लामावादमा केही समयसम्म त्यसपछि बम र गोलाबारुदको आवाज मात्रै सुनिने भयो । ५० जना महिला र छात्राहरूको उद्धार गरिएको त्यो घटनामा सेनाका १० कमान्डोसहित सयभन्दा बढीको ज्यान गयो । मस्जिदका अगुवा घाजी त्यो हमलामा मारिने अन्तिम व्यक्ति भए । 

 लाल मस्जिद र यसका अगुवाहरूसँगको आईएसआईको पुरानो सम्बन्ध र त्यहाँ उसका दुई सूचनावाहकहरू हुनुका बाबजुद यो घटनामा आईएसआईले अनौठो ढंगले प्रभावहीन भूमिका निर्वाह गर्‍यो । त्यो घटनापछिको एउटा क्याबिनेट बैठकमा मन्त्रीहरूले वरिष्ठ आईएसआई अधिकारीमाथि उग्रवादीहरूको कारबाही रोक्न नसकेकोमा आईएसआईको असफलताका लागि प्रश्न उठाए । उनले भनेका थिए, 'मैले हिजो बेलुका डिनर बैठकमा कसलाई भेटें र के कुरा गरें भन्ने सबै तपाईंहरूको टेबलमा आइपुग्छ । तर आईएसआई मुख्यालयबाट सय मिटरको दूरीमा रहेको मस्जिदका बारे कसरी तपाईंलाई थाहा हुँदैन ?' त्यो क्याबिनेट बैठकमा सहभागी मन्त्रीले मलाई पछि भनेका थिए, 'उनीहरूलाई सय प्रतिशत थाहा थियो । सहानुभूतिबस उनीहरूले उग्रवादीहरूलाई उनीहरूले चाहेअनुसारको गर्न दिएका थिए । तर राज्य त्यति निकम्मा छैन, जति मानिसहरू सोच्छन् ।' लाल मस्जिद घटनाको पछिल्लो महिना सेनालाई उग्रवादीहरूले आत्मघाती बम हमला गरेर कडा प्रतिक्रिया दिए । यसका बाबजुद सेनाका जनरलहरूले आफ्नो प्रयोजनका लागि उग्रवादीहरूलाई प्रयोग गर्न छाडेका थिएनन् । 

त्यो प्रयोजन खासगरी पाकिस्तानकी पहिलो महिला प्रधानमन्त्री बेनेजिर भुट्टोमाथि आक्रमण गर्नका लागि थियो, जो झन्डै दशक लामो निर्वासनबाट २००७ को ग्रीष्ममा पाकिस्तान फर्किने तयारी गर्दै थिइन् । भुट्टो र मुसर्रफका बीच भुट्टोलाई प्रधानमन्त्री बन्ने बाटो खोल्ने गरी एउटा कमजोर सम्झौता भएको थियो, जसमा मुसर्रफले सेना प्रमुखको पद त्याग्ने तर एक कार्यकाल राष्ट्रपति चलाउन पाउने थियो । २००८ को सुरुवातमा चुनाव हुँदै थियो । भुट्टोले अरू पाकिस्तानी राजनीतिज्ञभन्दा बढी नै मात्रामा सैन्य अतिवादको विरोध गरेकी थिइन् । उनले विदेशी उग्रवादीहरूले पाकिस्तानी भूमि प्रयोग गरेको भन्दै वजिरिस्तानमा सैन्य अपरेसन गर्नुपर्ने आह्वान गरेकी थिइन् । उनले आत्मघाती बम हमलालाई गैरइस्लामिक चरित्र भन्दै आलोचना गरेकी थिइन् । आफू पाकिस्तान फर्केकै दिन उनले आफूमाथि हुने आक्रमणका बारेमा भनेकी थिइन्, 'म विश्वास गर्न सक्दिनँ कि कुनै पनि सच्चा मुसलमानले मलाई आक्रमण गर्छ, किनभने मुसलमानलाई थाहा छ यदि उनीहरूले महिलामाथि आक्रमण गरेभने उनीहरूलाई नर्कमा जलाइनेछ ।' 

अफगान राष्ट्रपति हमिद कारजाईले आफ्नो खुफिया सेवाले भुट्टोको ज्यान खतरामा छ भन्ने जानकारी पाएको भन्दै उनलाई सचेत गराएका थिए । सन्देशवाहकहरूले अफगानहरूलाई बताएका थिए कि मुसर्रफ र उनका सबभन्दा शक्तिशाली १० सैन्य जनरलहरूले आतंककारी हमलामा भुट्टोलाई खत्तम गर्ने गरी छलफल गरेका थिए । २००७ को अक्टोबर १८ मा भुट्टो कराँची आइपुगेकी थिइन् । उनीसँग जहाजमा यात्रा गरेका दर्जनौं पत्रकारमध्ये म पनि एक थिएँ । समर्थकहरू नारा लगाइरहेका थिए । उनी छत खोलिएको बसमा थिइन्, अचानक दुई ठूला बम विस्फोट भए । भुट्टो त बचिन् तर १५० जना मानिसको मृत्यु भयो, अरू ४ सय घाइते भए । उनले दाबी गरिन् कि मुसर्रफले उनलाई धम्क्याएका हुन् । डिसेम्बरको अन्त्यतिर दुईजना किशोरसहितको आत्मघाती बम हमलाको तालिम लिएको उग्रवादीहरूको समूह अकोरा खत्तकको उत्तरपश्चिमी सहरको हकानिया मदरसामा आइपुगे । 

अफगानिस्तानमा लड्न जाने ९५ प्रतिशत तालिबानीले तीनह जार विद्यार्थी अट्न सक्ने यही मदरसाबाट शिक्षा लिएर गएका हुन् । मदरसाकै प्रवक्ताले बडो गर्वसाथ मलाई यो कुरा बताएका थिए । यहाँका सबैभन्दा चर्चित स्नातक अफगान मुजाहिद्धिन कमान्डर जलालुद्धिन हक्कानी हुन्, जसको नेटवर्कका कारण काबुल र पूर्वी अफगानिस्तानमा आईएसआई निर्देशित हमलाहरू भएका थिए । एक रातलाई मस्जिदमा बस्न आइपुगेका दुई किशोरलाई भोलिपल्ट स्कटिङ गरी रावलपिन्डी लगियो, जहाँ भुट्टोले डिसेम्बर २७ मा सम्बोधन गर्दै थिइन् । उनी छत खुला राखेको मोटरमा थिइन्, उनको गाडी धिमा भयो ताकी उनी सडकमा रहेका आफ्ना समर्थकहरूलाई अभिवादन गर्न सकून् । त्यति नै बेला दुईमध्येको एउटा किशोरले उनीमाथि पेस्तोल प्रहार गर्‍यो र आफ्नो गन्जीभित्रको विस्फोटक पदार्थ विस्फोट गर्‍यो । र यसपटकको हमलामा भुट्टो जीवित रहिनन् । 

भुट्टोलाई धेरै पहिलेदेखि सचेत गरिएको थियो किनभने उनका विरोधीहरूको समूह उनलाई मृत देख्न चाहन्थे र त्यसका लागि एकढिक्का भएका थिए । अफगानिस्तान विद्रोहको पछाडिको शक्ति तालिबान, पाकिस्तानी सैन्य समूहहरू, अल कायदा र मुसरफ र जनरल कयानीसहितको पाकिस्तानको सैन्य संस्थापन समुह यी शक्ति थिए । पाकिस्तानी अभियोजकहरूले भुट्टोलाई राजनीतिक परिदृश्यबाट हटाउने बृहत् षड्यन्त्रमा मुसर्रफको पनि हात रहेको औंल्याएका थिए । प्रमुख सरकारी वकिल चौधरी जुल्फीकर अलीले मसँग भनेका थिए, 'भुट्टोलाई पर्याप्त सुरक्षा उपलब्ध नगराएर उनले परिस्थितिजन्य हमलामा उनको मृत्यु होस् भन्ने चाहेको देखिन्छ ।' मुसर्रफले यसको अस्वीकार गरेका थिए । तर कार्यालय जाँदै गर्दा अलीको २०१३ मेमा बाटोमा गोली हानी हत्या गरियो । अलीलाई भुट्टोको हत्या अल कायेदाले गराएको हो भन्नेमा कुनै शंका थिएन, किनभने 'उनी अमेरिका निकटकी थिइन्, राष्ट्रवादी नेता थिइन्,' उनले मसँग भनेका थिए । त्यो घटनामा समातिएका अरू उग्रवादीहरूले पनि अल कायदाको उच्च काउन्सिलमै भुट्टोका हत्या गर्ने सल्लाह भएको बताएका भनी मलाई एक अधिकारीले पछि बताएका थिए । 

पाकिस्तानको अल कायदासँगको सम्बन्ध सतहमा आएपछि पनि ओसामा विन लादेन कहाँ लुकेर बसेका छन् भन्ने कुरा विश्वले थाहा पाउन तीन वर्षभन्दा बढी समय लाग्यो । जबकि उनी पाकिस्तानको उच्च सैन्य एकेडेमीभन्दा केही सय गजमात्रै पर लुकिरहेका रहेछन् । २०११ मे मा १८ इन्चको पर्खालले घेरिएको तीनतले सिमेन्टेड घरमा छ वर्षदेखि लुकिरहेका ओसामा बिन लादेनलाई माथिल्लो तलाको ओछ्यान कोठामा नेभी सिल कमान्डोहरूले गोली हानी हत्या गरेका थिए । त्यसको तीन घन्टापछि त्यहाँ पुग्दा म बिन लादेन कसरी र कहाँ लुकेर बसेका रहेछन् हेर्न बडो आकिर्षत थिए । नहोऊन पनि किन अफगानिस्तान र पाकिस्तानको रिपोर्टिङ गरेको, बिन लादेनको पछि लागेको एक दशकभन्दा बढी भइसकेको थियो । 

अफगानिस्तानमा आफूलाई घेरिएपछि उनले दलबलसहित त्यो ठाउँ छोडेका थिए । त्यसपछिका आठ वर्षसम्म उनले जम्मा दुईजना पाकिस्तानीमाथि भरोसा गरे जसलाई अमेरिकी जाँचकर्ताहरूले उनका भाइ र सन्देशवाहकका रूपमा चित्रित गरेका छन् । मानिसहरूलाई थाहा थियो, त्यो घर बडो अनौठो छ र स्थानीयहरूका बीच के अफवाह थियो भने, बजिरिस्तानमा घाइते भएको तालिबान यो घरमा आएपछि स्वस्थ हुन्छ । यो कुरा मलाई परवेज मुसर्रफका पूर्व निजामती खुफिया प्रमुखले बताएका थिए, जसले बिन लादेनलाई अबोट्टाबादको त्यो घरमा लुकाउन आफ्नो पनि भूमिका भएको अरूले आरोप लगाउँछन् तर त्यो सही होइन भनेका थिए । 

पाकिस्तानका विभिन्न खुफिया एजेन्सीहरू आईएसआई, सैन्य खुफिया ब्युरोहरूले देशभरि नै गोप्य अपरेसनका लागि सुरक्षित घरहरूको प्रयोग गर्छन् । उनीहरूले धेरैजसो बस्तीभित्रका अलिक शान्त घरहरूको खोजी गर्छन्, जहाँ उनीहरू समातिएका मानिसहरूको पुछताछ गर्छन् । केही ठाउँहरूमा यसरी समातिएका अमेरिकीहरूलाई समेत पुछताछ गर्थे । कतिपयलाई महिनौंसम्म त्यही राखिन्थ्यो । पूर्व पाकिस्तानी अधिकारीहरूले मलाई के पनि बताएका थिए भने, प्रतिबन्धित सैन्य समूहका नेताहरूलाई यस्तो हिरासतमा सुरक्षित राखिन्थ्यो । पाकिस्तानमा शरण लिएका तालिबान नेताहरूलाई पनि उनीहरूका आफ्नै गार्डसहित यस्ता घरहरूमा बस्ने व्यवस्था मिलाइएको थियो । 

सेप्टेम्बर ११ को घटनापछि अल कायदा सदस्यहरूमाथि निगरानी गरिरहेका पूर्व वरिष्ठ खुफिया अधिकारीले २००७ मा मलाई के बताएका थिए भने, आईएसआईको एउटा समूह विद्रोहीहरूलाई समाप्त गर्न लागिरहेको थियो भने अर्को समूह सहयोग गर्न । नेभी सिल रेडको लगत्तैपछि पाकिस्तानी अधिकारीले मलाई बताएका थिए कि आईएसआई प्रमुख लेफ्टिनेन्ट जनरल अहमद सुजा पासालाई अबोट्टाबादमा ओसामा बिन लादेनको उपस्थितिबारे जानकारी छ भन्ने दह्रो प्रमाण छ । मलाई लाग्छ, त्यो अमेरिकीहरूले पासाको फोनमा अवरोध गरेका थिए र सूचना लिएका थिए । खासमा पासा सधैं तालिबानको उग्र विरोधी थिए र यी नीला आखा भएका व्यक्ति अमेरिकाको निकट सहयोगी थिए । तर पासा र आईएसआईले सधैं लादेनका बारेमा आफूहरूलाई केही थाहा नभएको बताइरहे । तर लादेनको घरमा छापा मार्दा फेला परेका चिठी र अरू सूचनाहरूले चाहिँ लादेन र अरू उग्रवादी नेताहरूको नियमित सम्पर्क हुन्थ्यो भन्ने देखाउँछ । 

तिनीहरूलाई पक्कै थाहा थियो लादेन पाकिस्तानमै थिए भनेर । तीमध्ये लस्कर ए तोइबाका संस्थापक हफिज मुहम्मद सइद र तालिबानका मुल्लाह ओमार हुन् । यी दुवै आइएसआइले संरक्षण दिएका उसका सबैभन्दा महत्त्वपूर्ण र आज्ञाकारी विद्रोही नेता हुन् । तर लादेन सधैं पत्राचारमा मात्रै भर पर्दैनथे । उनी बरोबर बाहिर डुल्न पनि निस्कन्थे । जिहादीहरूबाट सूचना पाएको भन्दै यो कुरा मलाई पाकिस्तानी सुरक्षा अधिकारीले बताएका थिए । उनले भनेका थिए, त्यत्रो संगठन चलाउन आम मानिससँग सम्पर्क नगरी सम्भव हुँदैनथ्यो । जस्तो कि २००९ मा उनले पाकिस्तानको आदिवासी बहुल क्षेत्रको भ्रमण गरेर विद्रोही नेता करी सैफुल्लाह अख्तरसंग भेटेका थिए । करीलाई जिहादका पिता भनिन्छ । पचास हाराहारीका उनी अझै पाकिस्तानमा सक्रिय छन् । 

आईएसआईलाई बिन लादेनका बारे थाहा थियो भन्नेबारे परिस्थितिजन्य प्रमाणभन्दा पनि अझ दरो प्रमाण खोज्न मैले दुई वर्षभन्दा बढी समय लगाए । पूर्व आईएसआई प्रमुख अवकाशप्राप्त जनरल जियाउद्धिन बटले मलाई भनेका थिए कि बिन लादेनलाई अबोट्टाबादमा बसोबासको बन्दोबस्त मुसर्रफले नै मिलाइदिएका हुन् । तर उनीसँग कुनै प्रमाण थिएन र दबाबमा परेर उनले आफूले त्यस्तो नभनेको बताए । २०१२ को हिउँदको एक साँझ मैले एउटा सूचना पाए, जुन म खोजिरहेको थिएँ । सूत्रका अनुसार बिन लादेनलाई ह्यान्डल गर्न आईएसआईले खासमा एउटा विशेष डेस्क नै सञ्चालन गरेको थियो । यो एकजना अफिसरले स्वतन्त्र रूपमा सञ्चालन गर्थे, उनले आफ्ना हाकिमलाई रिपोर्ट गर्नुपर्दैनथ्यो र सबै निर्णयहरू आफैं गर्न सक्थे । 

अफगानहरूलाई यसबारे थाहा थियो, तालिबान लडाकुहरूले पनि मलाई त्यसै भनेका थिए, तर आईएसआईभित्रकै कसैले यसलाई स्वीकार गर्‍यो । उसले भनेको थियो, 'यति गोप्य अपरेसन भए पनि उच्च सैन्य अधिकारीलाई यसबारे जानकारी थियो ।' पाकिस्तानले अमेरिकालाई सहयोग गर्ने र आतंकवाद निर्यात गर्ने दोहोरो काम गरेको बुझ्न नसक्नु अमेरिकाको सबैभन्दा ठूलो असफलता हो । र अफगान राष्ट्रपति हमिद कारजाई अमेरिकाबाट दिग्भ्रमित भएका पनि यही कारणले हो । अमेरिकी र नेटो सैन्य यही वर्षको अन्त्यसम्ममा अफगानिस्तानबाट फिर्ता बोलाउन लागिएको समय पाकिस्तानी सेना र यसको तालिबान प्रोक्सी फोर्सहरू कुरेर बसिरहेछन् । त्यसैले २००१ मा जुन चुनौती त्यहाँ थियो त्यो अहिले पनि उत्तिकै छ ।
 (कान्तिपुर-कार्लोट्टा गाल)

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com