काठमान्डू बैशाख १३,
ढुंङ्गाको काप फोरेर पनि उम्रन्छ पीपल सिर्जना-शक्ति संसारमा कैल्यै हुँदैन विफल मातृमहिमाका सदर्भमा अभिव्यक्त राष्ट्रकवि माधव घिमिरेका यी भावहरूजस्तै मातृशक्ति अर्थात् सिर्जनाशक्ति जस्तोसुकै अवस्थामा पनि विजयी भएको छ । सृष्टिको सर्वश्रेष्ठ उपलब्धि मानव हो भने त्यसमा पनि श्रेष्ठतम् स्थान आमाको रहेको छ ।
औँशीका काला रातहरूमा जून बनेर चहक छर्नेदेखि ओइलिएका फूलका पातहरूमा शीत बनेर महक भर्नेसम्मको क्षमता हुन्छ, आमाको हृदयमा । अरु पूर्ण हुनुमा गौरव गर्छन् भने आमा सन्तानका लागि रित्तिनुमा गर्व गर्छिन् । सन्तानको खुसी र सुखका लागि आफू पग्लिँदै-रित्तिँदै क्रमशः सकिनुमा परम आनन्दको अनुभूति गर्ने आमाको महिमागान सायद शब्दमा अटाउन सक्दैन । यो त अव्यक्त भावानुभूतिको विषय हो ।
सुखमा रमाउन खोज्नु मानवीय गुण हो, तर त्योभन्दा धेरै माथि, दुःखपीडामा रमाउने र पीडामै हराउन चाहने आमा प्रवृत्ति साँच्चै बयान गरिसक्नु छैन । त्यसैले त पैँचो माग्न मन लागेको छ, गोपालप्रसाद रिमालको 'मसान' नाटकबाट मातृत्वका लागि छट्पटाइरहेकी नारीको हृदयबाट निस्केका यी उद्गारहरू— 'आमाहरूको निद्रा छातीमा टाँस्सिएर सुतेको सन्तान अलिकति असजिलो मानेर चल्मलाए मात्र पनि खुल्छ । उनीहरूको बल सन्तानको जीवन हुन्छ । उनीहरूको अँगालोबाट जीवन पल्हाउँछ....मायामा सुकेको रगत वेश, स्याहारमा झुम्रो भएको मासु वेश । जीवन नवजीवनमा हराओस् ।' भोक, प्यास, निद्रा, थकान केही नभनी अझ आफैंलाई बिर्सेर सन्तानका सानाभन्दा साना खुसी र आवश्यकता पूरा गर्न तल्लिन आमाको जीवन वास्तवमै नवजीवनकै लागि हराउने गर्छ ।
यस सृष्टिमा मानवमात्र नभई सम्पूर्ण प्राणी जगतमै आमा उत्तिकै ममतामयी एवं जीवनदायिनी हुने गर्छन् । पशुजगतमा सन्तानप्रतिको उत्तरदायित्वमा भालेको सहभागिता कमै हुने हुनाले एक्ली पोथी अर्थात् आमा नै सन्तानको लालनपालनमा लागिपर्ने गर्छे । मातृत्वको मार्मिकता त यो छ कि आफ्ना सन्तानले आफूलाई नै खानेछन् भन्ने जानेर पनि माकुरी सन्तान जन्माउन छाड्दिन । चुच्चोमा चारो ओसारेर अनि आफ्नै भुत्लाले सेकेर हुर्काएका बचेरा पखेटा पलाएपछि गँुडै छाडी जाने भए पनि चरीले आफ्नो मातृत्व धर्मलाई निरन्तरता दिई नै रहन्छे ।
पाँच-छवटा छाउराले दूध लुछ््दा पनि परम आनन्द अनुभूति गर्ने भोकी कुकुर्नी होस्, चाहे छोरालाई छातीमा च्यापेर वल्लो रुख पल्लो रुख चहार्दै आहारा खोज्ने पशुपतिकी बाँदर्नी होस्, ती सबै सृष्टिको निरन्तरतामा रमाइरहेका आमा वर्ग हुन् । त्यसैले त आमाबिना संसारै रित्तो हुने सम्भावनामा 'गौरी'का सर्जक कवि घिमिरे जीवनसङ्गनिी अर्थात् आफ्ना सन्तानकी आमाको वियोगमा यसरी पोखिएका होलान्—गाईलाई लग्यो नि आज कसले बाच्छो छुटाइकन पोथी पास परी मरी नि गुँडका बच्चा नहुर्किकन के हेछ्र्यौ यतिको विजोग, धरती माता तिमी फाट हे आमा बालककी नमार भगवान् संसार भर्ने भए संसारलाई नै हराभरा पार्ने आमा, जसको अभावमा जीवन शून्य-शून्य अनि जगत खाली-खाली हुन्छ ।
आमा यस्ती महिमामयी हुनाले होला, देशलाई पनि सम्मानपूर्वक मातृभूमि भन्ने गरिएको । अनि जननी र जन्मभूमिलाई स्वर्गभन्दा पनि गरिमामयी मानिएको । यस्ता महिमामयी र गरिमामयी आमाहरू आज आफ्ना बुढ्यौली हृदयमा असीमित पीडा पोको पारेर असहाय अवस्थामा रोइरहेका छन् । सन्तानका लागि सुनौला सपना सजाएका आँखाभरि भरिएको सन्तानकै अवहेलना र तिरस्कारको भेलमा डुब्दै बाढीको खहरेभै“m सुसाइरहेका छन् । आखिर किन ?
अतीतलाई बिर्सेर वर्तमानमा रमाउने सन्तानको बढ्दो स्वार्थी प्रवृत्तिका कारण आज आमाहरू अपमानित हुँदैछन् । सन्तानको यौवनलाई आफ्नो बुढ्यौलीको सहारा बनाउने सपना देखेका कैयौँ आमाहरू वृद्धाश्रमका चिसा भित्ताहरूमा वात्सल्यको न्यानो पोख्दै जीवनका बाँकी दिन गनेर बस्न बाध्य छन् । चाहे पशुपति वृद्धाश्रमका आमाहरू हुन्, चाहे देवघाटका आमाहरू, आमाघरका आमाहरू हुन् अथवा अन्य आश्रमहरूमा आश्रति आमाहरू हुन्, ती कसैका पनि आँखा ओभाना हुँदैनन् । उनीहरूलाई भेट्न र उनीहरूका बारेमा जिज्ञासा राख्ने जोकोहीलाई पनि रुवाइदिन्छ, उनीहरूको बुढ्यौली छातीबाट निस्कने पीडाको भक्कानोले ।
किनभने उनीहरूमध्ये स्वेच्छाले त्यहाँ आउनेको संख्याभन्दा बाध्यताले आउनेको संख्या अत्यधिक देखिन्छ । छोराछोरी हुर्काइ-बढाइ तिनीहरू सक्षम भएपछि धोेदि्रएको शरीरले राहत पाउने अनि नातिनातिना काखमा राखेर कथा सुनाउँदै बाँकी जीवन आनन्दपूर्वक बिताउने सपना कुन आमाले नदेखेका होलान् र ? तर वर्तमानको उत्तरआधुनिक सभ्यता अनि बढ्दो पुस्तौनी दूरीका कारण आमाका ती सपनाहरू बेवारिसे बन्दै अन्त्यमा कुनै आश्रममा पुगेर थन्किने गर्छन् । माया ठकुरीको 'आमा जानुहोस्' कथाकी आमाजस्तै आफ्नै सन्तानका लागि बोझ बन्ने गर्छन्, आमाहरू । कतै व्यक्त अनि कतै अव्यक्त रूपमा आमाहरू रोइरहेकै छन् ।
कोही भौतिक दुःखमा रोएका छन् भने कोही पूर्ण भौतिक सुखमा पनि मानसिक पीडा रुने गरेका छन् ।
मातृभूमिको मुहार हँसाउने सपथ लिएर गएका राजनीतिज्ञहरूले दलगत र व्यक्तिगत स्वार्थमा डुबेर आफ्नो कर्तव्य बिर्सनाले आज नेपाल आमा रुँदैछन् । कामधेनुसरि प्राकृतिक स्रोत र साधनले पूर्ण भए तापनि त्यसको उचित दोहनका अभावमा सारा दुग्धामृत आफैंमा सुकाउँदै, अभाव र गरिबीमा छट्पटाइरहेका सन्तानलाई टुलुटुलु हेर्दै आँसु बगाइरहेकी छन्, नेपाल आमा । देशको आर्थिक दुरावस्था र अवसरविहीनताका कारण विदेशिएका सन्तानको आगमनको पर्खाइमा थाकेका आमाहरू 'मुनामदन'की आमाको नियति भोग्न बाध्य छन् ।
यस्तै केही आमाहरू विदेशबाट छोराले पठाएको रुपैयाँको चसचसी बिझाउने सिरानीमा अनिष्ट सपना देखेर छोराहरूले विदेशमा बगाएको रगत-पसिनाको हिसाब गर्दै सारा रात छट्पटीमा बिताउने गर्छन् । अतीतको जस्तो सुन्दर शान्त नेपालमा आफ्ना सन्तानका साथ आनन्दी मनले रुखोसितो खाएर बुढ्यौली बिताउने चाहनामा आफ्नै आँखाबाट पलपल बगिरहेछन्, आमाहरू । आमाहरूका यस्तै पीडाहरूलाई आत्मसात् गर्दै उनीहरूप्रति सम्मान अर्पण गर्ने परम्पराले केही हदसम्म भए पनि उनीहरूका घाउमा मल्हम लगाउनेछ ।
प्रत्येक घरमा आमाहरूका लागि अनेक परिकार तथा उपहारका साथ उनीहरूका सन्तानको उपस्थिति हुने गर्छ, मातातीर्थ औंशीका दिन । अनि आपसमा स्नेह र आत्मियता आदान-प्रदान गरी अलिकति हार्दिकता तथा बेसी औपचारिकतामै सीमित हुने गर्छ, मातृसम्मान । वर्षको एकपटक मनाइने यस पर्वको हार्दिकता अनि सम्मानले मात्र आमाको ममता, त्याग अनि वात्सल्यको मान राख्न सक्ला र ? अझ आफ्नै सन्तानबाट तिरस्कृत भई आश्रममा पुगेका आमाहरूका लागि ? के उनीहरूले पनि नौ महिनासम्म सन्तानलाई गर्भमा हुर्काएर, धरतीमा उतारेर अनि अहोरात्र प्रयास गरी आफ्ना सन्तानलाई सबल बनाएका थिएनन् र ? खै त उनीहरूका ती सन्तान ? खै उनीहरूको बुढ्यौलीको सहारा ? रुखले जरालाई बिर्से पनि जराले आफ्नो धर्म छाड्दैन ।
जरा जननी हो, ममतामयी जननी । त्यसैले जननीको सम्मान प्रत्येक दिन गरिनुपर्छ । पलपल सम्झनुपर्छ, आमालाई । वर्षमा एकदिन होइन, हरेक दिन हेर्नुपर्छ, आमाको मुख अनि आत्मसात् गर्नुपर्छ, उनले झेलेका पीडा र दुःखलाई । आमा हुनु वास्तवमै एक चुनौती हो, महान चुनौती । त्यसैले मातृसम्मानको यस पावन पर्वमा यी चुनौतीमय भावसूमनहरू सम्पूर्ण आमाप्रति समर्पित गर्छु—धर्तीजस्तै चोटहरू सहेर त हेर सक्छौ यदि भने आमा भएर त हेर ।
बोकेर तिम्रै मैला ढलहरू छाती भरि-भरि हिउँदको वाग्मतीसँगै बहेर त हेर ।
तिरस्कृत आफ्नै सन्तानबाट बुढ्यौलीमा भीडबीच पनि एक्लो रहेर त हेर ।
झेल्दै युद्ध छोराहरूको, काखभित्रै पनि मलामी आफ्नै लासको गएर त हेर ।
(साधना प्रतिक्षा-इकान्तिपुर)