पुलित्जर बिजेता पत्रकारको गोली हानी हत्या

काबुल  चैत्र २२ ,

पुलित्जर बिजेता एक फोटो पत्रकारलाई अफगान प्रहरीले गोली हानी हत्या गरेको छ । एसोसिएटेड प्रेस (एपी) का दुई पत्रकारमाथि अप्रत्यासित रूपमा गोली चलाउँदा ४८ वर्षे जर्मन फोटो पत्रकार अन्जा निद्रिनघौसको घटनास्थलमै मृत्यु भएको हो । 

उनकी सहकर्मी काथी गाननोन घाइते छिन् । पाकिस्तानी सीमा नजिकैको खोस्त सहरमा उनीहरू चढेको कारमा गोली हानिएको थियो । राष्ट्रपति निर्वाचनको पूर्वसन्ध्यामा सुरक्षा प्रबन्ध कडा गरिएका बेला विदेशी सञ्चारकर्मीको हत्याले सबैलाई स्तब्ध पारेको छ । इराक युद्धको कभरेजका लागि सन् २००५ मा पुलित्जर पाउने एपीका ११ फोटो पत्रकारमध्ये उनी एक्ली महिला थिइन् । उनले हाई स्कुल अध्ययनरत हुँदा १७ वर्षको उमेरदेखि नै स्वतन्त्र फोटोग्राफरका रूपमा करिअर सुरु गरेकी थिइन् । 

सन् २००२ देखि एपीमा आबद्ध निदि्रनघौस युगोस्लाभिया, गाजापट्टी, इजरायल, कुवेत र टर्कीमा पनि काम गरेकी थिइन् । आक्रमणमा परेकी क्यानडा मूलकी ६० वर्षे पत्रकार गाननोन एपी संवाददाताका रूपमा पाकिस्तान र अफगानिस्तानमा कार्यरत छिन् । उनले सन् २००६ मा एक पुस्तक पनि लेखेकी छन् । ती दुई पत्रकार अफगानिस्तानको खोस्त प्रान्तको तनाय जिल्लामा मतपत्र पुर्‍याइरहेका निर्वाचन कर्मचारीसँगै यात्रा गरिरहेका थिए । उक्त जिल्ला पाकिस्तानको वजिरिस्तान क्षेत्रसँग जोडिएको छ । 

उक्त सीमामा पाकिस्तानलाई आधार क्षेत्र बनाएको हक्कानी नेटवर्कको कडा पकड छ । सुरक्षा परिसरमा प्रवेशका लागि पालो कुरिरहेका बेला एक प्रहरी युनिटका कमान्डरले गोली हानेको प्रत्यक्षदर्शीले बताए । ती प्रहरी अधिकृतलाई हिरासतमा लिइएको छ । अफगान गृह मन्त्रालयले यसबारे पूर्ण अनुसन्धान हुने जनाएको छ । उक्त क्षेत्रको सुरक्षा जिम्मेवारी पाएका ती प्रहरी अधिकृतले उनीहरूको पहिचानमा भूल वा गलत अनुमानका कारण गोली चलाएको हुन सक्ने गृह प्रवक्ताले बताए । ब्रसेल्सस्थित एपी सम्पादक जोहन थोर डाहालवर्गले यो घटनालाई एपी र समग्र पत्रकारिता क्षेत्रकै लागि 'भयावह दिन' भनेका छन् । 

चीनस्थित न्युयोर्क टाइम्सका संवाददाता एडवार्ड बोंगले टि्वटरमा साहसी पत्रकारको ज्यान लिने उक्त आक्रमणलाई त्रासदीपूर्ण भनेका छन् । एबीसीका विदेश सम्पादक जोन विलियम्सले पत्रकारिताको शीर्षमा पुगेका ती दुई मित्रमाथिको आक्रमणले फेरि एक पटक सोच्न बाध्य पारेको धारणा राखेका छन् । निर्वाचन नजिकिँदै जाँदा अफगानिस्तानमा हिंसा बढेको छ । २१ मार्चमा काबुलस्थित एक होटलमा तालिवान बन्धुकधारीले आक्रमण गर्दा ८ जनाको मृत्यु भएको थियो । तीमध्ये एएफपीका वरिष्ठ पत्रकार सारदार अहमद पनि थिए । 

स्विडेन र बेलायतका नागरिकता वाहक रेडियो पत्रकार निल्स होर्ननरको पनि गत ११ मार्चमा काबुलमै गोली हानी हत्या गरिएको थियो । हिंसा मच्चाउने तालिवानी धम्कीबीच अफगानिस्तानमा शनिबार निर्वाचन हुँदैछ । तालिवानको पतनपछि हुन लागेको निर्वाचन सुरक्षाका लागि मुलुकभर झन्डै २ लाख सैनिक परिचालन गरिएका छन् ।  एजेन्सी :

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com