दश जातिलाई 'जनजाति' मान्यता दिइँदै I

काठमान्डू फाल्गुन २३, 

छुट्टै राज्य 'गोर्खाल्याण्ड' प्राप्त हुने सम्भावना नदेखेर आफूलाई 'आदिवासी' पुष्टि गराउनतिर लागेका दार्जिलिङक्षेत्रका १० समुदायले जनजातिको मान्यता पाउने तरखरमा छन्। आफूलाई 'दार्जिलिङक्षेत्रको आदिवासी' भन्दै अधिकार प्राप्तिका लागि आवाज उठ्न थालेपछि जातिय सद्भाव कायम राख्न पश्चिम बंगाल सरकारले उनीहरुलाई जनजातिको मान्यता दिइसकेको छ। 

सात वर्षदेखि 'गार्खाल्याण्ड' आन्दोलन हाँकेको गोर्खा जनमुक्ति मोर्चाले मूल मुद्दा बिर्संदै गएपछि छुट्टै राज्य हुने सम्भावना नदेखेका जनजातिहरु विकास वोर्ड गठन गर्दै अधिकार प्राप्तिका लागि जुर्मुराउँदा बंगाल मुख्यमन्त्री ममता ब्यानर्जीले दुईपल्ट दार्जिलिङ भ्रमण गरिन्। त्यसपछि बंगाल सरकारको सिफारिसमा १० समुदायलाई जनजाति मान्यता दिन लागिएको हो। '

बंगालले गोर्खाका १० जातिलाई जनजातिको मान्यता दिन केन्द्र सरकारसमक्ष सिफारिस गरिसकेको छ,' सिलिगुडीबाट प्रकाशित भारतीय सञ्चारमाध्यमले जनाएका छन्, 'केन्द्रले स्वीकार गर्नासाथ दार्जिलिङक्षेत्रमा ती समुदायमाझ खुशी छाउनेछ।' जनजाति मान्यता पाउन लागेका समुदायमा राई, याख्खा, गुरुङ, भुजेल, नेवार, जोगी, सुनुवार, मुखिया, मगर र थामी छन्। यी समुदायलाई अधिकार, आरक्षण र अवसर प्रदान गर्ने गरी बंगालले केन्द्र सरकारसमक्ष जनजाति मान्यता दिन सिफारिस गरेपछि मोर्चाले स्वागत गरेको छ। 

'पुस्तौंदेखि दार्जिलिङमा बसोबास गर्ने ती समुदाय हरेक कुरामा अवसर बञ्चित हुँदै आएका थिए' दिल्ली दौडाहामा रहेका मोर्चा महासचिव रोशन गिरीले भनेका छन्, 'क्षमता हुँदाहुँदै पनि पाखा पारिनु हुँदैन।' दर्जनौं जातजातिको रहेको दार्जिलिङक्षेत्रमा ३३.७२ प्रतिशत जनजाति र ९.३२ प्रतिशत अनुसूचित जातिको बसोबास छ। 'गोर्खाल्याण्ड' आन्दोलन ओझेल पर्दै जाँदा लिम्बू, तामाङ, शेर्पा, भोटिया, डुक्पा आदि समुदायले पनि 'जनजाति'को मान्यता दिइनुपर्ने माग राख्दै संघर्ष गर्दैछन्। 

'जातीय विभाजन राम्रो नहुने' भन्ने धेरै हुँदाहुँदै पनि रोक्न खासै प्रयास भएको छैन। तेलेङ्गनालाई छुट्टै राज्य दिइने प्रक्रिया अन्तिम चरणमा पुगेपछि 'गोर्खाल्याण्ड'को आवाज उठाउन दिल्ली गएका महासचिव गिरीले केन्द्रिय गृह राज्य मन्त्री आर पिएन सिंहसित भेटवार्ता गर्दै 'जनजाति युवालाई भारतीय अर्धसैनिक बलमा भर्ती गर्दा प्राथमिकता दिन' आग्रह गरेका छन्। दार्जिलिङमा केन्द्रिय विश्वविद्यालय स्थापना गर्न पनि मोर्चाले झक्झक्याउँदैछ।  (सिल्गडी टाइम्स)

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com