काठमान्डू फाल्गुन २३,
दुई जना विदेशीले चितवनलगायत विभिन्न जिल्लाका युवासँग लाखौँ रकम ठगेको खुलासा भएको छ। मलेसियामा जागिर लगाइदिने भन्दै उनीहरूले नेपालीलाई ठगेका हुन्।
चितवन, नवलपरासी र कास्कीका १११ जनाभन्दा बढी युवासँग करिब रु ७५ लाख ठगेर उनीहरू बेपत्ता भएको पीडित युवाले बताएका छन्।
मलेसियाका नुरुत तोजा र पाकिस्तानी नागरिक मोहम्मद खान नेपाल आई यसरी रकम ठगेर बेपत्ता भएका हुन्। ठगिनेमा चितवनका मात्रै ५४ जना छन्। अन्य पोखरा र नवलपरासीका रहेका छन्। रु ५० हजारदेखि लाखौँ रकम उठाएर उनीहरू बेपत्ता भएको भरतपुर चितवनका योगेश थापाले बताए। उनले आफ्नो तीन दाजुभाइबाट रु दुई लाख लगेको बताए।
माघ अन्तिम सातासम्म उनीहरू पैसा उठाउँदै विभिन्न जिल्लामा बसेको भए पनि अहिले भने बेपत्ता भएको थापाको भनाइ छ।
ठगहरूले गाउँका युवालाई मलेसियाको कम्पनीमा आकर्षक तलब दिनेगरी जागिर लगाइदिन्छु भन्दै पैसा उठाएको पीडितहरूले बताएका छन् ।
ती ठगहरूलाई पक्राउ गरी रकम असुलीको मागसहित अफूहरूले हालै हनुमानढोका प्रहरीमा उजुरीसमेत दिएको पीडित विजय विकले बताए। रासस :