प्रकृति बाट ठगिएका वैज्ञानिक दाहाल यस्ता थिए उनका १७ आविष्कार I

काठमाडौं चैत्र ११,

कुन मान्छेलाई कस्तो कर्तव्य निर्वाह गर्न भगवानले सृष्टि गरेका हुन्छन् भन्ने कुरा पहिले नै भविष्यको गर्भमा हुँदोरहेछ। कमैलाई मात्र यस्तो कुरा थाहा हुँदोरहेछ। तर रमेशप्रसाद दाहालले भने सानैदेखि वैज्ञानिक बन्छु भन्ने अठोट गरे। काठमाडौंको गोठाटारमा २०२६ सालमा जन्मेका दाहाल पढाइमा पनि सानैदेखि निकै तेजिला थिए। 

‘नेपाल जस्तो पिछडिएको मुलुकका लागि विज्ञान प्रविधिको क्षेत्रबाट नै केही गर्न सकिन्छ भन्ने ठहरका साथ २०४३ सालमा साइन्सको विद्यार्थीका रूपमा भर्ना भएँ,’ दाहालले आफ्ना विषयमा भने। पढाइ अघि बढ्दै थियो, अचानक उनलाई आँखाको समस्या आयो। उपचार गर्दा पनि ठीक भएन। आँखाको ज्योति क्रमशः कमजोर हुँदै गएपछि उनले सोचे, अब म वैज्ञानिक हुन नसक्ने भएँ। विज्ञान विषयको पढाइलाई चटक्कै छाडेर उनी व्यवस्थापन विषयमा भर्ना भए। तर कमजोर हुँदै गएको आँखाको ज्योति पूर्णरूपमा गुम्यो। उनले जीवनदेखि नै हरेस खाए। वैज्ञानिक बन्ने अठोट लिएका दाहालले आँखाकै कारण व्यवस्थापन विषयलाई पनि निरन्तरता दिन सकेनन्। आँखाको ज्योति गुमेपछि भइरहेको स्कुलको जागिरलाई पनि निरन्तरता दिन सकेनन्। 

पढाइ पनि छाड्नुपर्योा जागिरलाई पनि निरन्तरता दिन नसक्ने स्थिति भयो। एकैचोटि आइलागेको यो प्रहारले केही समय उनी निरास भए। तर निरास भएर मात्रै जिन्दगी गुजारिन सक्ने सम्भावना थिएन। विश्वमा धेरै दृष्टिविहीनले कुनै न कुनै क्षेत्रमा उन्नति गरेको देखेसुनेका दाहालले विज्ञान प्रविधिको क्षेत्रमा केही न केही योगदान पुर्याोउने अठोट गरे। आफ्नो ज्ञानलाई थप तिखार्दै उनी नेपाल जस्तो अविकसित र गरिब मुलुकका लागि आवश्यक पर्ने उपकरणहरूको आविष्कारमा जुटे। रातदिनको मेहनत तथा ईश्वरका कृपाले उनलाई सफलता पनि मिल्दै गयो। विज्ञान प्रविधिको क्षेत्रमा हात हाल्दा नै उनले एउटा अठोट गरेका थिए– ‘विश्वमा पेट्रोलियम ऊर्जाको स्रोत सीमित छ, तसर्थ रासायनिक ऊर्जाविना नै चल्ने यन्त्रहरूको आविष्कार गर्नसके मात्रै भावी पिँढीका लागि ठूलो योगदान हुनेछ र नेपालका सर्वसाधारण जनताले समेत यी यन्त्रहरूको दीर्घकालीन उपयोग गर्नेछन् र वातावरण्ीाय प्रदूषण कम गराउन मद्दत पुग्नेछ।’ यस्तो अठोटका साथ अघि बढेका दृष्टिविहीन वैज्ञानिक दाहाल अहिलेसम्म दैनिक जीवनमा अत्यन्त उपयोगी हुने १७ वटा उपकरण आविष्कार गर्न सफल भएका छन्। 

जसमध्ये उनले सर्वप्रथम आविष्कार गरेको ट्राफिक लाइट २०५८ सालमा तत्कालीन समाजकल्याणमन्त्री राजेन्द्र श्रेष्ठले एक समारोहबीच प्रदर्शन गरेका थिए। सडक दुर्घटनाको पूर्वसंकेत गर्नसक्ने उक्त ट्राफिक लाइटको व्यावसायिक उत्पादनका वैज्ञानिक दाहालसँग आर्थिक स्रोत भएन, अरुले चासो लिएनन्। तर उनले निरास भएर आफ्नो आविष्कारलाई विश्राम दिने गल्ती भने गरेनन्। एक दिन न एक दिन कसैले व्यावसायिक उत्पादन अघि बढाइहाल्छ भन्ने अठोटका साथ थप आविष्कारतर्फ उनी अघि बढे। यसरी अघि बढ्ने क्रममा उनले अहिलेसम्म १७ वटा उपकरण यन्त्रहरू आविष्कार गरिसकेका छन्। जसमध्ये एउटा हो, भ्याकुप पम्प। यो यन्त्रले विनाइन्धन तलको पानी माथि फाल्न सक्छ। पहाडी भूवनोट भएको र पानीको स्रोत बढी भएका कारण नेपालका लागि ज्यादै उपयोगी हुने ठहरका साथ उनले यो यन्त्रको आविष्कार गरेका हुन्। एयर पोलुसन कन्ट्रोलर फ्यान–गाडीले उडाएको धुलो एवं धूँवालाई वातावरणमा फैलन नदिन यो उपकरणको उपयोग हुन्छ, हरेक गाडीमा जडान गर्नसकिने गरी उनले यो यन्त्र आविष्कार गरेका हुन्। 

भूकम्प सूचक यन्त्र– भूकम्प आउनासाथ ठूलो आवाज दिने साइरन यस यन्त्रमा जडान गरिने भएकाले तत्कालै सुरक्षित स्थानमा जान मद्दत गर्छ। एयर प्रोसयुड इन्जिन– विनाइन्धन सवारीसाधन चलाउन सकिने अवधारणाअन्तर्गत उनले यो यन्त्रको आविष्कार गरेका हुन्। मनी स्केल–दृष्टिविहीनहरूले सजिलै पैसाको नोट चिन्न सक्ने अवधारणाअन्तर्गत यो उपकरणको आविष्कार गरिएको वैज्ञानिक दाहाल बताउँछन्। यसैगरी, उनले दृष्टिविहीनलाई कुनै ठाउँ सजिलै पत्ता लगाउन मद्दत पुर्याकउन ड्रोइङ बोर्ड नामक यन्त्रसमेत आविष्कार गरेका छन्। सुज क्लिनर– यो यन्त्र डोरम्याटका रूपमा राखिन्छ, जसले जुत्ता सफा गरिदिने हुँदा कोठाभित्र फोहोर जान पाउँदैन र जुत्ता पनि सधैं सफा भइरहन्छ। इन्सिनेटर– यो उपकरणले फोहोरलाई जलाउँदा निस्कने धूँवालाई शुद्धीकरण गरिदिन्छ। सकिङ बेड– विशेष गरी कान सुन्न नसक्नेहरूका लागि लक्षित गरी यो उपकरण बनाइएको हो। यो उपकरण बेडमा जडान गर्नाले आफू चाहेका बेला निन्द्राबाट ब्यूँझन सकिन्छ। सोलिङ अर्गानिक वेस्ट म्यानेजिङ सिस्टम–घरगोठबाट निस्कने फोहोरलाई खाल्डोमा नपुरीकनै कम्पोस्ट मल तथा बायोग्याँस उत्पादनका लागि यो उपकरण प्रयोग गर्न सकिन्छ। 

रुम प्रफेक्ट डिजाइन– कोठाभित्रको तापक्रमलाई बाहिरको तापक्रमले कुनै असर पुर्याजउन नसकोस् भन्नका लागि यो उपकरणको आविष्कार वैज्ञानिक दाहालले गरेका हुन्। भेजिटेवल ग्रोइङ लेयर्स– जमिन सीमित हुनेहरूका लागि आकासको प्रयोग गरी तरकारी खेती गर्नसकिने गरी यो उपकरणको आविष्कार गरिएको हो। ह्वेट थ्रेसर– विशेष गरी गहुँबाली भित्र्याँउदा भुस एकातिर दाना एकातिर र छ्वाली एकातिर छुट्याउन यो उपकरणको आविष्कार गरिएको हो। रोचक पक्ष के छ भने– उनले आविष्कार गरेका कुनै पनि उपकरण सञ्चालनका लागि इन्धनको आवश्यकता पर्दैन। यतिबेला उनि साँघुरा गह्रा तथा पाटा भएका पहाडी खेतबारी खनजोत गर्नसक्ने र इन्धनको समेत प्रयोग गर्न नपर्ने ट्रयाक्टरको आविष्कारमा जुटेका छन्। यसका लागि कन्सेप्ट तयार भइसके पनि आर्थिक अभावमा काम अघि बढाउन नसकेको वैज्ञानिक दाहाल बताउँछन्। पेट्रोलियमको स्रोत नभएको गरिब मुलुक नेपालका लागि अत्यावश्यक मानिने उपकरणहरूको आविष्कार गरिरहेका दाहालले न त राज्यबाट कुनै प्रोत्साहन पाएका छन्, न त निजी क्षेत्रका उद्योगी व्यवसायीहरूले उनको क्षमतालाई चिनेका छन्। 

जसका कारण उनी आर्थिक रूपमा कष्टपूर्वक बाँचिरहेका छन्। वैज्ञानिक घोषणा गर्ने र उनले गरेका केही आविष्कारलाई पेटेन्ट राइट दिनेबाहेक राज्यका निकायबाट कुनै प्रोत्साहन तथा सहयोग गरिएको छैन। उनी भन्छन्– ‘एउटा आविष्कारलाई पेटेन्ट राइट लिने तहसम्म पुर्याकउँदा कम्तीमा दुई/तीन लाख रुपैयाँसम्म खर्च हुन्छ। व्यावसायिक उत्पादन त उद्योगपतिले मात्रै गर्नसक्छ, मैले कहाँबाट यत्रो खर्चको जोहो गर्नसक्ने?’ विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट) को स्थापना भएको २९ वर्ष बितिसकेको स्मरण गर्दै वैज्ञानिक दाहाल भन्छन्– ‘वैज्ञानिकहरूको प्रतिभा राज्यसम्म लैजाने, विशेष प्रतिभा भएका मान्छेलाई राज्यले कसरी उपयोग गर्ने भन्ने कामसम्म नास्टले गरेको भए राम्रो हुन्थ्यो। 

राज्यले प्रोत्साहन नदिएकामा भन्दा पनि मुलुकका प्रतिभाहरूले दुःख पाइरहेकोमा उनी दुःखी छन्। उनी भन्छन्– ‘प्रतिभाहरूले दुःख पाएको सन्देश भावी पुस्तामा गयो भने नयाँ आविष्कारका लागि कोही उत्साहित हुँदैनन्। उनलाई नास्टले २०६० सालमा वैज्ञानिक घोषणा गरेको हो। यतिबेला उनी अपांगता भएका नागरिकको प्रतिनिधित्व संविधानसभामा हुनुपर्ने अभियानमा छन्। उनी भन्छन्–’समावेशी लोकतन्त्र भनिएको छ, तर अपांगता भएकाहरूलाई निस्तेज पारिएको छ, यस्तो पाराले कसरी लोकतन्त्र अघि बढ्न सक्छ ? (W.Nepal)

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com