तनहुँ फाल्गुन २८,
तनहुँ-जिल्लामा महिला र बालबालिका हराउने क्रम बढेपछि जिल्ला प्रहरी कार्यालय तनहुँमा उजुरीको चाङ लागेको छ। फागुनमा मात्रै ४ बालबालिकासहित १० महिला हराएको उजुरी परेको जिप्रकाले जनाएको छ। हराउनेमा एकै परिवारका आमाछोरी र भिर्कोट गाविसका ३ जना छन्।
कार्यालयका अनुसार व्यास–८ ठूलेटारकी निर्मला कुमाल, सतिस्वारा–६ की सबिना गुरुङ, भानु–६ की पुतलीमाया नेपाली, भिरकोट–१ की अप्सरा रानाभाट, सतीस्वारा–४ की नवीना थापा, भिरकोट–५ की फूलमाया नेपाली, घाँसीकुवा–४ की हीरा गुरुङ, कोटदरबार–१ की टंकमाया थापा, घाँसीकुवा–१ की सन्तुमाया भुजेल, भानु–५ की आसना आचार्य हराएको उजुरी परेको छ। हराएकामध्ये ६ महिला विवाहित छन्।
त्यसै गरी बालिकातर्फ फूलमायाकी ३ वर्षीया छोरी, स्याम्घा–९ की १४ वर्षीया सुस्मिता लामा भिरकोट–१ की १४ वर्षीया मीना विक र बन्दीपुर–१ की १४ वर्षीया अर्चना न्यौपाने हराएको उजुरी परेको थियो।
महिला र बालिका हराउने क्रम बढेपछि खोजीका लागि प्रहरी कार्यालयमा सर्वसाधारणको घुइँचो लाग्ने गरेको छ। ‘केही महिलाले परिवारलाई जानकारी नगराई भागेर विवाह गरेका हुन सक्छन्,' प्रहरी उपरीक्षक चक्रराज जोशीले भने, ‘खोजी कार्यसँगै अनुसन्धान गरिरहेका छौं।'
उजुरी दर्तासँगै कार्यालयले तराईका प्रहरी कार्यालय र माइती नेपालमा हुलियासहित पत्राचार गरेर खोजीकार्य तीव्र बनाएको जोशीले बताए। ‘खुला सिमानाका कारण भारत जान सक्ने सम्भावना हुन्छ,' उनले भने, ‘त्यसैले तराई क्षेत्रमा विशेष निगरानी गर्न पत्राचार गरेका छौं।' दुई साताअघि विद्यालयबाट घर नफर्किएकी १४ वर्षीया सुस्मिता लामाको खोजीका लागि प्रहरीमा दबाब दिन मंगलबार स्याम्घा–९ का स्थानीय बासिन्द सदरमुकाम आएका थिए।
करिब २ सयको संख्यामा आएका गाउँलेले प्रमुख जिल्ला अधिकारी शंकरप्रसाद खरेललाई भेटी बालिकाको खोजी गर्न र दोषीलाई पक्राउ गर्न आग्रह गरेका थिए। प्रहरीले घटनामा संलग्नताको आशंकामा केही दिनदेखि गाउँमा बस्दै आएका धरान–१७ का अमित बाँसफोरलाई नियन्त्रणमा लिएको छ। (समुद्र पौडेल:नागरिकबाट)