नयाँदिल्ली फाल्गुन २७ ,
गृहयुद्धले ग्रसित सिरियामा नेपाली युवती पठाउने गिरोह अझै सक्रिय रहेको पाइएको छ । दमास्कस लैजान लागेकी झापा, दमक ७ की एक युवतीलाई यहाँ उद्धार गरिएको छ ।
अर्कैको राहदानीमा त्यसतर्फ पठाउने तयारी भइरहेको जानकारी पाएर पहाडगंजस्थित होटल ओएसिसबाट उनको उद्धार गरिएको हो ।
उद्धारमा संलग्न अखिल भारत नेपाली एकता मञ्च र हेल्प नेपाली मिसनका अनुसार एजेन्टद्वय श्यामलाल डंगोल र सुनिता सतारले सिरियामा राम्रो कमाई हुने भन्दै उनलाई दमास्कस उडाउने तयारी गरिरहेका थिए ।
धादिङ, गजुरी २ ठेगानामा अर्कै नाममा जारी राहदानीमा उनलाई उडाउन लागिएको थियो । उनको उद्धार गर्न एकता मञ्च र हेल्प मिसनले स्थानीय नवीकरिम प्रहरी थाना र नेपाली दूतावासलाई जानकारी गराएका थिए ।
उनलाई प्रवासी नेपाली मित्र मञ्चको सहयोगमा गत शुक्रबार दमकस्थित घरमा जिम्मा लगाइएको मिसनका कवि कार्कीले बताए ।
यसअघि, दलालहरूले सिरिया पुर्याएका पोखराकी लक्ष्मी गुरुङ र बागलुङकी हुमा मगरको अत्तोपत्तो छैन । उनीहरूलाई २०१२ जुलाई १५ मा सिरिया पुर्याइएको थियो । (ekantipur)