काठमाडौ, चैत्र ६ ,
नेपाली क्रिकेट टिमले आम नेपालीको अनुहार उज्यालो पारेको यो घडीमा एक पोखरेली युवा धेरै टाढा रहेर यस्तै प्रयास गरिरहेका छन् ।
युक्रेन संकटले खबरमा रहेको रुसमा वल्र्ड डिजे सुपरस्टार च्याम्पियनसिप पनि भइरहेको छ ।
पोखराको नयाँबजारका युवा एलेक्स थपलिया (अनल थपलिया) पनि त्यसका प्रतिस्पर्धी छन्, जो विश्वभरका चार हजार प्रतिस्पर्धीबाट छानिँदै १२ औं स्थानमा पुगेका छन् । विजेताले एक लाख युरो पाउने यो प्रतियोगिता एक महिनाअघि सुरु भएको हो । फाइनल मेमा हुनेछ ।
विजेता बन्नमा भोटिङको २५ प्रतिशत र प्रस्तुतिको ७५ प्रतिशत भूमिका हुने खुलाउँदै एलेक्सले कान्तिपुरसँगको इमेल वार्तामा भने, 'जित्छु भन्ने विश्वास छ । नजिते पनि दुःखी बन्दिनँ । यति ठूलो प्लेटर्फम पाएको छु, यही ठूलो हो ।'
उक्त प्रतियोगिताका यो तेस्रो संस्करणमा २५ वर्षीय नेपाली डिजेलाई जिताउन उनको फेसबुक पेजमा गएर भोटिङ गर्न सकिन्छ ।
एलेक्सलाई वल्र्ड डिजे सुपरस्टार बनाउन पोखरेली युवाहरूले केही दिनयता क्याम्प खडा गरेर भोटिङ अभियान चलाइरहेका छन् । उनको परिवार पनि पोस्टर, पम्लेट बनाएर प्रचारप्रसारमा उत्रेको छ ।
'छोराको पक्षमा भइरहेको भोटिङ र प्रस्तुति हेर्दा उसले जित्छ भन्ने लागेको छ,' एलेक्स पिता चिरञ्जीवीले भने, 'पढाइमा पनि राम्रो थियो । संगीतमा गरेको प्रगतिले खुसीको सीमा नै छैन ।'
एलेक्स पाँच वर्षअघि रुस पुगेका थिए, पूर्ण छात्रवृत्ति पाएर । स्पेस इन्जिनियरिङमा स्नातक सकिसकेका छन् । संगीतमा पनि रुचि भएका उनले थप खर्चको जोहोका फुर्सदको समय डान्स बारमा डिजेइङ थाले र त्यसैमा पोख्त बन्दै गए ।
उनले अन्तर्राष्ट्रिय स्तरको मस्को सिटी हलमा दस पटकभन्दा बढी डिजेइङ गरिसकेका छन् । उनले अंग्रेजी गीतका दुइटा एल्बमसमेत निकालिसकेका छन् ।
'विश्वका हजारौं प्रतिस्पर्धीबाट छानिएर एउटा नेपाली युवक यो अवस्थासम्म पुग्नु ठूलो कुरा हो,' एलेक्सका मामा दामोदर अधिकारीले भने, 'सबै मिलेर भोटिङ गरियो भने उनले जित्ने सम्भावना धेरै छ ।'
पछिल्लो भोटिङ अनुसार एलेक्स पहिलो स्थानमा रहेका प्रतिस्पर्धीभन्दा चार हजारजति भोटले पछाडि छन् । एउटा नेपालीलाई विजेता बनाउन तपाईंले पनि पहल गर्ने हो कि ? (शिव शर्मा-इकान्तिपुर)