संक्रमण सवाइन फ्लुको I

काठमाडौं, फाल्गुन २९ ,

मुलुकमा स्वाइन फ्लु संक्रमण फेरि देखिएको छ । संक्रमणबाट जटिल स्थितिमा पुगेका एक व्यक्तिलाई विशेष उपचारका लागि एयर एम्बुलेन्सबाट बुधबार नयाँदिल्ली लगिएको छ । नोबेल अस्पतालमा उपचार गराइरहेका ती व्यक्तिलाई नयाँदिल्लीको मेदान्त अस्पताल लगिएको हो । 

मुलुकमा हाल कडा रूपमा स्वाइन फ्लु संक्रमित चार जनामध्ये नर्भिक अस्पतालमा एक महिलाको यही साता मृत्यु भएको छ । दुई महिनाअघि पनि नर्भिकमै एक व्यक्ति (सहसचिव) को स्वाइन फ्लुबाटै मृत्यु भएको थियो । इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाले मुलुकमा स्वाइन फ्लु (एच१एन१) भएकाहरूमा कडा संक्रमण देखिएपछि रुघाखोकीका ल्ाक्षण भएकाहरूको उपचारमा थप सतर्क हुन अस्पतालहरूलाई निर्देशन दिएको छ । 'पाँच दिनअघि हामीकहाँ भर्ना भएका एक बिरामीमा निमोनिया र स्वाइन फ्लु देखिएको हो,' नोबेल अस्पतालका निर्देशक डा. लोचन कार्कीले बुधबार भने, 'आजै एयर एम्बुलेन्सबाट थप उपचारका लागि उहाँ नयाँदिल्लीस्थित मेदान्त अस्पताल जानु भएको छ ।' 

उपचारका लागि भारत गएका ती व्यक्तिको छिमेकीलाई समेत स्वाइन फ्लुको उपचार गरिएको डा. कार्कीले बताए । 'हामीले अस्पताललाई रुघाखोकीको लक्षण देखिनेहरूमा थप सतर्कता अपनाउन भनेका छौं,' महाशाखाका निर्देशक डा. बाबुराम मरासिनीले भने । उनका अनुसार कडा स्वाइनले ४ जना प्रभावित छन् । जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा. गीता शाक्यका अनुसार अहिले स्वाइन थोरै व्यक्तिमा तर कडा रूपमा देखिएको छ । 'यो संक्रमण स्थानीय होइन जस्तो लाग्छ,' डा. शाक्यले भनिन्, 'भाइरसको आनुवंशिक विश्लेषण नभएसम्म स्थानीय हो या विदेशबाट आएको भन्न सकिन्न ।' 

स्वाइन फ्लुको जटिलताको पहिलो लक्षण सास लिन कठिनाइ हुनु हो । अन्य लक्षणमा रुघाखोकी, ज्वरो, माथिल्लो श्वास नलीको संक्रमण आदि हुन् । सामान्य रुघाखोकी जस्तै स्वाइन फ्लुको भाइरस पनि मुख्य रूपमा संक्रमित व्यक्तिले खोक्दा, हाच्छिउँ गर्दा, बोल्दा मुखबाट निस्किने पानीका स-साना कणहरूको माध्यमले वातावरणमा फैलिन्छ । संक्रमितको एक मिटर दूरीमा भएका स्वस्थ व्यक्तिमा प्रश्वासको माध्यमले भाइरस पसेपछि सर्छ । (अतुल मिश्र-इकान्तिपुर)

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com