चिनियाँ राष्ट्रपति युरोप भ्रमणमा आम्स्टर्डम I

चैत्र १० ,

चिनियाँ राष्ट्रपति सि जिन पिङ पहिलो युरोप भ्रमणमा नेदरल्यान्ड्सको राजधानी आम्स्टर्डम पुगेका छन् । फ्रान्स, जर्मनी, बेल्जियम र ब्रसेल्सस्थित युरोपेली महासंघको केन्द्रीय कार्यालयको पनि भ्रमण गर्ने उनको कार्यक्रम छ । युक्रेनको क्रिमियालाई आफ्नो देशमा गाभ्ने रुसी निर्णय लगत्तै चिनियाँ राष्ट्रपतिको यस भ्रमणलाई अर्थपूर्ण मानिएको छ । 

पत्नी पेङ लियुआन, मन्त्रीहरू र व्यापारिक टोलीसहित उनको भ्रमण दलमा २ सयभन्दा बढी सहभागी छन् । त्यस क्रममा एयर बस कम्पनीका १ सय ५० विमान चीनले खरिद गर्नेसम्बन्धी सम्झौतामा हस्ताक्षर हुने अनुमान छ । आगामी साता द हेगमा हुने जी ७ राष्ट्रको बैठक र आणविक सुरक्षा सम्मेलनमा उनी सहभागी हुनेछन् । दुवै बैठकमा भाग लिन आउने अमेरिकी राष्ट्रपति बाराक ओबामासँग उनले भेटवार्ता गर्नेछन् । 

बैठकमा ७ औद्योगिक राष्ट्रका नेताले क्रिमिया विवादमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको कदमको कटु आलोचना गर्ने पर्यवेक्षकहरूको विश्लेषण छ । चिनियाँ राष्ट्रपतिले भने पश्चिमा देशको तीव्र दबाबका बाबजुद आफ्नो शान्त कूटनीतिलाई निरन्तरता दिने विश्लेषकहरूको धारणा छ । अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार सुसन राइसका अनुसार क्रिमिया कदमबाट क्रूद्ध राष्ट्रपति ओबामा रुसलाई विश्व समुदायबाट अलग्याउने पक्षमा छन् । 

चीनको समर्थन पाए यसलाई अझै बलियोसँग अघि बढाउन सकिने ओबामाको सोच छ । आगामी अपि्रलमा एसिया भ्रमणको तयारीमा रहेका ओबामाले चिनियाँ समकक्षीसँगको वार्तामा आफ्नो देशको साधन स्रोत एसियाली मुलुकमा सन्तुलित वितरण गर्ने नीतिबारे कुरा गर्ने आशा छ । पिङको भ्रमणलाई लक्ष्य गर्दै एमनेस्टी इन्टरनेसनलले नेदरल्यान्ड्सको राजदरबार अगाडि चीनमा मानवअधिकार हनन विरुद्ध प्रदर्शन समेत गरेको छ । एजेन्सी :

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com