किर्ते गरी जग्गा हडप्न खोज्नेलाई ४०/४० करोड जरिवाना I

गाईघाट (उदयपुर), चैत्र ४ ,

किर्ते गरी सिंगो टोलको जग्गा हडप्न खोज्ने तीन जनालाई जिल्ला अदालतले कैदसहित १ अर्ब २० करोड रुपैयाँ जरिवाना फैसला गरेको छ । सरकारी छाप र दस्तखत दुरुपयोग गरी त्रियुगा नगरपालिका-१ विशंखेटोलको जग्गा दर्ता गराउन खोज्ने तत्कालीन नापी प्रमुख विष्णुदेव चौधरी, कार्यालय सहयोगी भूपबहादुर गौली र नक्कली जग्गाधनी पृथ्वीमान सार्कीलाई जनही ४०/४० करोड जरिवाना तथा क्रमशः दुई/दुई र एक वर्ष कैद फैसला भएको हो । 

फैसला जिल्ला न्यायाधीश भोजराज शर्माको इजलासले गरेको हो । भूमाफियाको एक समूहले विशंखेटोलको ५६ बिघा १० कठ्ठा जग्गा दर्ता गराउन नापी कार्यालयको फिल्ड बुकमा रहेको वास्तविक स्रेस्ता मेटाएर सार्कीलाई नक्कली जग्गाधनी बनाएको थियो । तत्कालीन नापी प्रमुख चौधरीसमेतले २०२८ को नापीमा फिल्ड बुकमा भीरपहिरो भनिएको स्थानमा सार्कीको नाम राखेर दर्ता गर्न खोजेका थिए । भूमाफियाले यसरी करिब २ सय परिवारको बसोबास रहेको विशंखेटोल नै दर्ता गर्न खोजेको स्थानीयले बताए ।

'२०२८ सालको नापीमा कसैको नाममा उल्लेख भएको छैन,' स्थानीय किरण पाण्डेले भने, 'तर भूमाफिया र नापीका कर्मचारी मिलेर नापीको फिल्ड बुकमा सार्कीको नाम राखेछन् ।' नापी र मालपोत कार्यालयबाट अवकाशप्राप्त कर्मचारीको सहयोगमा भूमाफियाले नगरक्षेत्रका ऐलानी र ब्लक जग्गा दर्ता गराउन प्रयास गरिरहेको पीडित डिकबहादुर कार्कीले बताए । 'जग्गा दर्ता प्रक्रिया अगाडि बढाउन नापी र मालपोतका अवकाशप्राप्त कर्मचारीको हात छ,' उनले भने, 'अवकाशप्राप्त कर्मचारीको सहयोग नहुने हो भने भूमाफियाले विशंखेटोल पूरै ऐलानी र ब्लकको जग्गा भनेर थाहा हुने थिएन ।'

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com