काठमान्डू माघ २५,
विष्णु गौतम : साँच्चिकै आफन्तको मृत्यु सबैका लागि
पीडादायी हुने गर्छ । झन् आफूले जन्माएका हुर्काएका, पढाएका र आफ्नो
सर्वश्व ठानिने सन्तानको मृत्युको पीडा कसैले पनि अनुमान गर्न सक्दैन ।
जो
कोही सम्झँदै काँप्छन् तर केही भाग्य फुटेका मानिसहरू भने त्यो सुन्न तथा
सोच्न नसकिने अद्भूत पीडा बेहोर्न बाध्य हुने गर्छन् । त्यस्तै बाध्यता
आइलाग्यो, जिन्दगीमा । मान्छेको जिन्दगीमा ऋण लागे पनि दिन नलागोस् भन्छन्
तर दिन पो लाग्यो । हुर्केका छोराहरूले बाबुआमालाई अबको बाँकी जिन्दगीमा
खुसी नै खुसी दिन्छन् भन्ने बेलामा दुई छोराको मृत्युको पीडा सहनुप-यो ।
एउटा
छोराको काठमाडौंमा मृत्यु भयो । अर्को छोराले अमेरिकामा पढाइ सकेर सुख
दिन्छ भन्ने आशा कायमै थियो । अमेरिकाको नर्थ वेस्टर्न ओक्लाहोमा स्टेन
युनिसर्भिटीबाट टप गरेर राष्ट्रपति सम्मान अवार्ड पाएर हाम्रो परिवारको
मात्र होइन, देशकै नाम राखेको त्यो छोराबाट पाउने सुखी जीवनको कल्पना पनि
पूरा हुन सकेन । पहिलो छोराको निधन भएको नौ महिनापछि अर्को छोराले सडक
दुर्घटनामा ज्यान गुमायो । एउटा पीडाको आहाल सुक्न नपाउँदै अर्को पीडाको
आहाल जम्यो । यति शोकविह्वल भयो कि हाम्रो परिवार शव उठाउन अमेरिका जान
सक्ने अवस्था थिएन । त्यही क्षेत्रमा बसोबास गर्ने नेपालीले एक आपसमा चन्दा
उठाई अमेरिकामै दाहसंस्कार गरेर पार्सलबाट पठाएको आधा किलो खरानीे
काठमाडौंमा बुझेर बाग्मतीमा बगाई उसको काजक्रिया गर्न बाध्य भयौं ।
२०६५ साल पुस १२ गते सडक दुर्घटनामा २८ वर्षीय जेठो छोरा कुमार गौतमलाई गुमाएको नौ महिनापछि २०६६ असोज १७ गतेका दिन अमेरिकाको ओक्लाहोमा राज्यमा २६ वर्षीय माइला छोरा बलराम गौतमलाई पनि गुमाउन पुग्यौं । पीडा र शोकको मापन थिएन । घरका प्रत्येक कोठाहरू कुनै अस्पतालको इमर्जेन्सी कक्षझैं बनेका थिए । मेरो परिवारका सदस्यहरू कोही छिनछिनमा ब्युँझिन्थे त कोही बेहोस् भई ढल्थे । म विवश प्राणीझैं पालैपालो परिवारका सदस्यहरूलाई पानी छ्यापी सम्झाई–बुझाई गर्न प्रयासरत रहन्थें । त्यतिखेर यति विवश थिएँ कि, मैले रुन, कराउन, बौलाउन, मर्न केही गर्न पनि मिल्दैनथ्यो । दिनभरि परिवारलाई सम्झाउँथें र अरू निदाएपछि आफू घोप्टो परेर रुन्थें ।
पीडाको आहालबाट कसरी बाहिर निस्कने धेरै सकस भयो । एकमनले भन्यो, ‘बुढेसकालमा सुख दिने दुई छोरा गुमेपछि के बाँच्नु, एउटा सानो छोरा र छोरीसहित भोटेकोसीमा हामफालेर मरौं ।’ अर्को मनले भन्यो, ‘छोराहरूको निधनको शोकले मर्नुभन्दा बाँचेर उनीहरूको नाम सधैंका लागि जीवित पार्नुपर्छ । त्यो जीवित बनाउने आधार समाजसेवा हुन सक्छ ।’ महिनौं डुबेको शोकको आहालभित्रबाट दोस्रो विकल्प रोजियो । रोज्न त रोजियो तर समाजसेवा गर्न पनि त पैसा चाहिन्छ नै । पर्यटन व्यवसाय गर्दा कमाएको पैसा थियो । त्यतिबेलाका लागि करोडौं रुपैयाँभन्दा पीडाको मूल्य धेरै थियो । त्यो पीडाको घटाउनु हाम्रो परिवारका लागि करोडौं कमाउनुभन्दा बढी थियो । जीवन र जगत्को यथार्थताको बोध गरी पीडाबाट परिवारलाई अन्यत्र मोडी बाच्न विकल्प खोज्ने दुई छोराको स्मृतिमा जन्मियो, लक्ष्मी प्रतिष्ठान । प्रतिष्ठानबाट कुमार बलरामको पुनर्जन्मको दिनु मात्र प्रतिष्ठानको उद्देश्य थिएन, सबैभन्दा पीडाको आहालमा डुबेकी लक्ष्मीको मनभित्र खुसी छर्नु पनि अर्को उद्देश्य थियो ।
भोटेकोसीमा हामफालेर
आत्महत्या गर्ने तहमा पुगेको हाम्रो परिवारले पाएको त्यो पीडा आज ऊर्जा
बन्यो । समाजसेवाका नाममा जहाँ–जहाँ जे–जे काम ग¥यौं, जो–जोको जीवनमा
खुसीयाली छर्न सक्यौं, ती अनुहारभित्र कुमार र बलराम देखिन्छन् । साढे तीन
वर्षअघिदेखि सुरु भएको समाजसेवा गर्दा व्यक्तिगत ५० लाख रुपैयाँभन्दा बढी
खर्च भयो होला तर त्यो ५० लाखभन्दा कैयौं गुणा बढी खुसी समाजसेवाबाट पाएका
छौं ।
कपडासमेत नभएर नांगै अवस्थामा बस्नुपर्ने चितवन कान्दाका चेपाङहरूले
हाम्रो कपडा सहयोगबाट शरीर ढाक्ने गरी लगाएको कपडासँगको खुसीभन्दा ठूलो
हाम्रो कमाइ के होला र † यहाँका ८५ चेपाङ परिवारलाई हामी घर बनाइदिँदै
छौं । स्याउलगायतका फलफुल, तरकारी खेतीमा सहयोग गरिसक्यौं । स्कुलका
बालबालिकालाई दिएको ड्रेसदेखि उनीहरूमा आएको पढाइको सुधारभित्रका खुसीयाली
पनि पीडा कम गर्ने माध्यम बनेका छन् ।
विवादका कारणले बन्द जस्तै अवस्थामा रहेको र स्वास्थ्य केन्द्रका अभावमा घन्टौं लगाएर अन्यन्त्र जानुपर्ने अवस्थामा रहेका काभ्रे र सिन्धुपाल्चोको दोसाँधमा रहेको इन्द्रावती सामुदायिक अस्पतालमा सहयोग गरेर उपचार गराइरहेका बूढाबूढीदेखि बालबालिकासम्मको अनुहारभित्रको खुसी हाम्रा लागि समाजसेवा गर्ने ऊर्जा बनेको छ । योबाहेक विभिन्न क्षेत्रमा २५ सयभन्दा बढीले स्वास्थ्य सेवा पाएका छन् भने ५ सयभन्दा बढीको आँखाको निःशुल्क अपरेसन गरेर संसार देख्ने भएका छन् । उनीहरू संसार देख्दा जति खुसी छन्, त्यहाँबाट बढी खुसी उनीहरूलाई संसार देखाउन पाएकोमा हाम्रो परिवार छ ।
विवादका कारणले बन्द जस्तै अवस्थामा रहेको र स्वास्थ्य केन्द्रका अभावमा घन्टौं लगाएर अन्यन्त्र जानुपर्ने अवस्थामा रहेका काभ्रे र सिन्धुपाल्चोको दोसाँधमा रहेको इन्द्रावती सामुदायिक अस्पतालमा सहयोग गरेर उपचार गराइरहेका बूढाबूढीदेखि बालबालिकासम्मको अनुहारभित्रको खुसी हाम्रा लागि समाजसेवा गर्ने ऊर्जा बनेको छ । योबाहेक विभिन्न क्षेत्रमा २५ सयभन्दा बढीले स्वास्थ्य सेवा पाएका छन् भने ५ सयभन्दा बढीको आँखाको निःशुल्क अपरेसन गरेर संसार देख्ने भएका छन् । उनीहरू संसार देख्दा जति खुसी छन्, त्यहाँबाट बढी खुसी उनीहरूलाई संसार देखाउन पाएकोमा हाम्रो परिवार छ ।
काभ्रेका साथै
सिन्धुपाल्चोकका विभिन्न क्षेत्रमा पुगेर इलेक्ट्रिसियन, पल्बर, टायल एन्ड
मार्बल फिटिङ, हाउस पेन्टिङ, सु मेकिङ, टेलरिङ, कम्प्युटर, महिलालाई
ड्राइभिङ जस्ता सीपमूलक तालिम प्रतिष्ठानबाट पाएका १ हजारभन्दा बढीको
सीपसँग हाम्रो भावना जोडिएको छ । ट्राफिक जनचेतनामार्फत सवारी दुर्घटना कम
गर्नका लागि कलेजदेखि सडकसम्म पुगेर गरेका कार्यहरूले कसैले सडकमा ज्यान
गुमाउनु नपरोस् भन्ने हाम्रो अभियानलाई थप मजबुत बनाएको छ । पीडामाथि पीडा
थपेर पीडाको आहाल बढाइरहेको भए सायद हामी त्यही आहालभित्र डुबिसकेका हुने
थियौं तर आज त्यो आहालबाट निस्केर हामीजस्तै आहालभित्र डुबेकालाई खुसीयाली
छर्न लागिरहेका छौं ।
चितवनको हात्तीधापबाट ८ घन्टा हिँडेर कान्दा पुग्दा मनमा बल्झिरहने सेवाका भावना र चेपाङहरूको खुसीसँग हाम्रो जीवन साटिरहेको छ । सयौं चेपाङको खुसीयालीमा रमाइरहेका हाम्रा लागि दुई छोराको निधनको पीडा ऊर्जा बन्दै समाजमा खुसी बाँडिरहँदा मन झन् प्रफुल्लित हुँदै गएको छ । पहिला दायाँ–बायाँ, उत्तर–दक्षिण अर्थात् चारैतिर पीडा नै पीडा थिए तर अहिले जताततै खुसी नै खुसी घुमिरहेको छ । यो नै कुमार, बलरामको मृत्यु नभएर हजारौं जन्म भइरहेको महसुस भइरहेको छ । सायद पीडाले जिन्दगीको मोड परिवर्तन नगरिदएको भए न पाइला कान्दाडाँडा पुग्थे न पीडा बाँडिन्थो न त खुसी नै फैलिन्थ्यो । काभ्रेको अनेकोटमा बनाएको नयाँ विद्यालयको भवनदेखि कान्दाका चेपाङ र म्याग्दीका अपांग, गाउँगाउँका सीप सिकेका अनुहारभरि खुसी नै खुसी देखिरहेका छौं । सधैं खुसीको त्यो पथमा हाम्रो यात्रा निरन्तर जारी छ ।