कान्दा चेपाङ बस्तीमा सोलारको उज्यालो I

लोथर (चितवन) फागुन १४, 

भिम गौतम : चितवन लोथर–९ का ६० वर्षीय जब्बरसिंह चेपाङले सोचेका पनि थिएनन्, गाउँमा बिजुली बाल्न पाइन्छ भनेर । तर, सोलार (सौर्य ऊर्जा) पाएपछि उनी खुसीले फुरुंग छन् । 

उनी मात्र होइन, जंगलमा पुगेर बल्लतल्ल ल्याउनुपर्ने मेताङ (चेपाङ भाषामा सल्लाको दियालो) को भरमा रहेका कान्दास्थित लोथर–९ र कोराक–४ का लोपोन्मुख जाति चेपाङमा सोलार पाएपछि खुसीको बहार आएको छ । 

‘मेताङको भर पर्नुपर्ने, त्यो पनि आङ्खनो जंगलमा नपाइने, टाढाटाढा जानुपर्ने, अब त सोलारले गाउँमै बिजुली बल्ने भो, योभन्दा खुसी अरू बढी के हुन सक्छ,’ जब्बरले सुनाए, ‘६ महिना पनि खान नपुग्ने र बाँकी ६ महिना गिठ्ठा, भ्याकुर, प्याकुना, जार खाएर बाँच्नुपर्ने हाम्रो गाउँमा उज्यालो आउँदा धेरै खुसी छौं ।’ वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र, ब्राइट लाइट फाउन्डेसन, ग्लोबल सस्टेनएबल इलेक्ट्रिसिटी पार्टनरसिप र एलएस सोलार एसिया प्रालि, मितेरी फाउन्डेसनलगायतको सहयोगमा लक्ष्मी प्रतिष्ठानले कान्दाका ५० घरधुरीमा निःशुल्क रूपमा सोलार उपलब्ध गराएपछि चेपाङ बस्तीमा खुसियाली छाएको हो । 

एउटाको झन्डै ११ हजार रुपैयाँ पर्ने भए पनि यी संस्थाहरूले चितवन भरतपुरबाट ४२ किलोमिटर कच्ची सडकपछि ८ घन्टा उकालो लागेर पुगिने विकट कान्दाका चेपाङलाई निःशुल्क रूपमा सोलार उपलब्ध गराएका हुन् । कोराकका सचिव चन्द्रकान्त न्यौपाने, लोथरका सचिव कुलप्रसाद आचार्य, लक्ष्मी प्रतिष्ठानका अध्यक्ष विष्णु गौतम, मितेरी फाउन्डेसनका अध्यक्ष एकल सिलवाललगायतले उनीहरूलाई लोथर पुगेर आइतबार सोलार वितरण गरेका थिए । सोलारबाट घरमा बत्ती बाल्नुका साथै मोबाइल, क्यामरा चार्ज गर्न पुग्छ । अति विकट कान्दामा मोबाइल चल्दैन भने यातायात, स्वास्थ्यलगायतको सुविधा पनि राम्रो छैन । 

कहिल्यै उज्यालो देख्न नपाएका र बत्तीकै अभावमा साँझ नपर्दै खाना खाएर सुत्नुपर्ने अवस्थामा रहेका चेपाङहरूमा सोलार पाएपछि आधा जीवनमा खुसियाली छाएको कान्देश्वरी राष्ट्रिय प्राथमिक विद्यालयका प्रधानाध्यापक बालकृष्ण थपलिया बताउँछन् । ‘सल्लाको दियालो पनि टाढा लिन जानुपर्ने भएकाले अधिकांश चेपाङ ६ नबज्दै खाना खाइसक्छन्, बालबालिका रातिको समयमा पढ्न पनि सक्दैनन्, अब भने उनीहरूले साँझसम्म काम गरेर आङ्खनो जीविकोपार्जन गर्न सक्छन्,’ उनले भने । अँध्यारोमा कष्टकर जीवन बिताइरहेको देखेपछि विभिन्न संघ/संस्थालाई अनुरोध गरेर सोलार वितरण गरिएको प्रतिष्ठानका अध्यक्ष गौतम बताउँछन् । 

‘कान्दा साँच्चिकै अन्धकारमा थियो, अब उज्यालो पाएको छ,’ उनले भने । सोलारको उज्यालो पाएपछि सबैभन्दा बढी खुसी महिला र विद्यार्थी भएका छन् । ‘हामीले जहिले पनि खाना पकाउनुपर्छ, सोलार आएपछि हामी सबैभन्दा बढी खुसी छौं,’ कोराक–४ की सुकमाया चेपाङले भनिन् । कान्देश्वरी प्रावि ४ कक्षामा पढ्ने कुमार प्रजा सोलार बत्तीले आङ्खनो पढाइमा धेरै सजिलो पुग्ने बताउँछन् । लोपोन्मुख जातिमा पर्ने चेपाङको कुल ८१ प्रतिशत संख्या लोथर गाविसको विकट कान्दामा बसोबास गर्छन् । 

कान्दाका ८५ घरधुरीमध्ये ५० घरमा आइतबार सोलार वितरण गरिए पनि दोस्रो चरणमा बाँकी घरधुरीमा छिट्टै दिने योजना प्रतिष्ठानले बनाएको छ । लोथार गाविस सचिव कुलप्रसाद आचार्य सोलारमार्फत बिजुली पुगेपछि अब उनीहरूको आय आर्जनका लागि थप कार्यक्रम सञ्चालन गर्नुपर्ने बताए । प्रतिष्ठानकै पहलमा कान्दाका ८५ घरधुरीकै लागि नयाँ घर बनाउने योजना पनि प्रतिष्ठानले बनाएको छ । योजनाअन्तर्गत एक दर्जन घर निर्माण भइसकेको प्रतिष्ठानले जनाएको छ ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com