काठमान्डू फागुन १ ,
संखुवासभामा गएको माघ १७ गते महिलालाई बलात्कारको प्रयास असफल भएपछि एकै परिवारका तीन जनाको हत्या भएको खुलेको छ । संखुवासभाको पाथीभरा १ का १६ वर्षीय साने भन्ने निमा तेम्वा शेर्पाले हत्या गरेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक यामनाथ अधिकारीले जानकारी दिनुभयो ।
शेर्पा माघ १६ गते रातको १२ बजे पाथिभरा १ इकुवा बस्ने कालीमाया शेर्पाको घरमा प्रवेश गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । प्रहरीका अनुसार कालीमाया महिलाले शेर्पालाई रक्सी नदिई गाली गरेको र प्रहरीलाई खबर गरिदिन्छु भनेपछि निमातेम्बाले कालीमायाको हत्या गरेका थिए ।
गाउँका अन्य महिलालाई पनि निमातेम्बाले जबरजस्तीको प्रयास गरेको भन्दै ती महिलाले प्रहरीलाई खबर गरिदिन्छु भनेपछि शेर्पाले हत्या गरेको प्रहरीको भनाइ छ ।
पहिलेका घटना सार्वजनिक हुने डरले शेर्पाले महिलाको हत्या गरेको प्रहरीले जनाएको छ ।
कालीमायाको हत्यापछि निमातेम्बाले उनीसँगै ११ वर्षीया छोरी मिङकिवा शेर्पा र भदैनी हटिया ७ की ५ वर्षीया ओंङगमु शेर्पा चिच्याउन थालेपछि घटनाको पोल खुल्ने डरले दुई बालिकाको समेत हत्या भएको प्रहरीले जनाएको छ ।
प्रहरीले घटनामा प्रयोग भएको खुकुरी तथा सुनको गहना शेर्पाकै घरमा लुकाइराखेको अवस्थामा बरामद गरेको छ । कालीमायाका श्रीमान आङगनुर्बु शेर्पा तीन वर्षदेखि वैदेशिक रोजगारको सिलसिलामा मलेसियामा हुनुहुन्छ । निमातेम्बाले यसअघि पनि मादकपदार्थ सेवन गरी गाउँका अन्य मानिससँग झैझगडा गर्ने तथा महिलाहरुलाई दुर्व्यवहार गर्ने गरेको प्रहरीको भनाइ छ । नेपालब्रिटेन :