कविता:-स्वर्ग हाम्रो : By, कोमल भट्ट



कविता:-स्वर्ग हाम्रो  

कति हुनु छ विरानो ? दिक्क लागेर आयो 
रहर जति सवै नै,भित्र बाटै हरायो 
भत भत भत पोल्दै, दुख्न लागेछ छाती l 
 सहन सकिन पीडा, आँसु बर्षिन्छ राती ll १ ll

नियति अझ कठोरै,रैछ यो आज जानेँ 
जनपद संग टाढा,बस्नु दुर्भाग्य ठानेँ 
झलमल छ विदेशै,तै नि लाग्यो अँधेरो 
बरु सकस सहौंला,देश आफ्नै छ प्यारो ll २ ll

अति सरस छ भाषा,भेष सारा रिवाज 
सब जन सित मायाँ,स्वच्छ ऊँचो छ भाव 
सकल जन मिलेमा,बन्छ नेपाल राम्रो 
जनम थल नबिर्सौं,त्यै त हो स्वर्ग हाम्रो ll ३ ll

छन्द:-मालिनी 
८ अक्षरमा विश्राम 
(जनपद =देश) 
कोमल भट्ट 
पुरानो नैकाप, काठमाडौँ 
हाल:-न्युयोर्क,अमेरिका

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com