प्रणयको उपहार तिमीलाई …. By, कल्पना राई"ख़ुशी"



प्रणयको उपहार तिमीलाई ….

हे!मेरा प्राण प्रिय
तिमी पनि आज पश्चिमाको पछि लाग्दै
प्रेमको हजार दीप बालेर
मन,मुटु र आँखाको नानी भरि-भरी मनोकांक्षा थुपारेर
मेरो उपहारको प्रतिक्षामा छौ क्यार……
मलाई माफ़ गरी देउ,
मैले मेरो प्रेम प्रदर्शन गर्न
अदृश्य मनको बन्धन कस्नलाई
मुस्काउदै फुलेकी त्यो गुलाफ निमोठ्न सकिनl
मलाई माफ़ गरि देउ,……

उपहारमा महंगा हीरा,मोती र जुहारको आश नगर्नु
मेरै अंगालोमा बेरिएर मीठा पकवान खाने आश नगर्नु
मलाई फुर्सद छैन……
तिम्रा दाप्सो लागेका सपना उकास्न
तिम्रा कलेटी परेका ओठ मुस्काउन
रेगिस्तानको रेत संग पाइलाका डोबहरु मेट्दैछु
त्यही कतै-कतै सिउडीको बोट भेट्दैछु
र,
म स्वार्थी मान्छे हुनुको रूप देखाउन खोज्दैछु
मात्र तिम्रै प्रेमको लागी
अनि
बर्षौ बर्ष दुःख कष्ट झेलेर
काँडै काँडा माँझ फुलेको सिउड़ी फूल टिप्न हात लम्काउदैछु
गुलाफको साटो……
तिमीलाई पठाउन यो प्रणय दिवसमा,

तिरिक्क आँशु झार्छे सिउड़ी कठै
मेरै हात बाट निर्मम हत्या हुने भो भनेर
म स्तब्ध हुन्छु
म आफुलाई धिक्कार छु
म मान्छे भएर पशु हुनुको बोध गर्छु
अझ त्यो भन्दा तुच्छ अनुभूती गर्छु
आत्मग्लानि हुन्छ

अन्तत,
बिदाईको बेला तिमीले दिएको सेतो रुमाल झिकेर
तिम्रो र मेरो नाउको पहिलो अक्षरहरु चुम्दै
देब्रे हातको साहीली औला चिरेर
केहि थोपा मेरो मुटुको रगतले
त्यही सेतो रुमाल रातो पारेर
तिमीलाई उपहार पठाउदै छुl
त्यसैलाई गुलाफ सम्झ……
त्यसैलाई मोती र जुहार सम्झ………
त्यसैलाई मेरो धड्कन र अमूल्य प्यार सम्झ,…………

कल्पना राई"ख़ुशी"
दोलखा नेपाल
हाल दक्षिण कोरिया

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com