भर्जिनिया (अमेरिका) मङ्सिर २०,
विजय थापा : अमेरिकाका लागि नेपाली राजदूत डा शंकर प्रसाद शर्मालाई म्यासाचुसेट्स राज्यको प्रतिनिधि सभाले सम्मान गरेको छ । दि कमनवेल्थ अफ म्यासाचुसेट्स (म्यासाचुसेट्स राष्ट्रमण्डल ) प्रतिनिधि सभाको सभामुख रोबर्ट ए डेलीयो तथा प्रतिनिधि सभाका सभासद डोनाल्ड वंग द्वारा हस्ताक्षरित उक्त सम्मान पत्र एक कार्यक्रम बीच डा शर्मालाई हस्तान्तरण गर्दै सम्मान गरिएको थियो ।
उक्त सम्मान पत्र पढेर अमेरिकी प्रतिनिधि सभाका सभासद डोनाल्ड वंगले सुनाउदै राजदूत शर्मालाई हस्तान्तरण गरेका थिए भने यस कार्यक्रममा सिनेट विलिएम एन ब्राउनस बर्गर तथा अन्यहरुको उपस्थिति रहेको थियो । कार्यक्रम बोस्टनको माथिल्लो सदन सिनेट भवनमा गरिएको थियो ।उक्त सम्मान पत्रमा नेपालको विकास तथा मुलुकको स्थायित्वमा गरेको मेहनत र सयुक्त राज्य अमेरिका संगको मित्रताको निरन्तरताको लागि खेलेको अहम भूमिकाको उच्च कदर गर्दै सम्पूर्ण प्रतिनिधि सभाका सदस्यहरुको तर्फबाट प्रगतिको कामना तथा सफलताको लागि शुभकामना ब्यक्त गरिएको छ ।
राजदूत डा शर्माले म्यासाचुसेट्स प्रतिनिधि सभाका सबैलाई नेपाली राजदूताबास तथा नेपाल सरकारको तर्फबाट धन्यबाद दिएको बताईएको छ । उक्त अवसरमा प्रतिनिधि सभाका सभासदले राजदूतलाई नेपालमा भर्खर सम्पन्न भएको निर्वाचन तथा अन्य बारेमा प्रश्न राखेका थिए भने राजदूत शर्माले नेपालमा लगानी गर्न सुरक्षित वातावरण भएको र अब नेपालमा छिट्टै सरकार बन्ने र संबिधान बन्ने कुरामा बिश्वस्त रहेको बताएका थिए ।
उक्त सम्मन कार्यक्रममा सिनेट भवनमा साथ दिन बोस्टन नेपाल अमेरिका फाउन्डेसन (प्रतिष्ठान)का अधक्ष्य प्रल्हाद केसीको पनि साथ रहेको थियो । म्यासाचुसेट्स राज्यका प्रतिनिधि सभाका सभासद डोनाल्ड वंग एक सफल ब्यापारी हुन र अमेरिकामा रहेका नेपाली समुदायसंग मिलेर काम गर्ने गर्न ईक्षा वंगले राखेको कुरा केसीले बताए ।