भर्जिनिया (अमेरिका) मङ्सिर २४,
विजय थापा : कलाकार देशका गहना हुन र मुलुकका सम्पत्ति हुन । संगीतमा डुबुल्की मारेर करौड़ोको हृदयमा बस्न सफल यी कलाकार हाम्रा आदर्श पनि हुन । कलाकार कसैका निजि हुदैनन र सबैका साझा हुन्छ र सबैलेमा उच्च स्थानमा राखेका हुन्छन ।
यस्तो सम्मान र आदर्श बोकेका केहि कलाकारहरु दोश्रो संबिधान सभाको चुनाबी मैदानमा उनीहरुको धरौटी राखिएको रकम जमानत जफ्त भयो । पराजयको पिडा भोग्नु पर्यो । मतदाताहरुले विपक्षमा मतदान गरि यिनीहरुलाई उपबिजेताको टोपी लगाई दिए । भावनात्मक रुपमा निरुत्साहित हुन पुगे भने चुनाबमा जीत र हार हुन्छ भन्दै सहर्ष स्वीकार गरे । भनिन्छ राजनीति गन्धा खेल हो ,सम्भवत राजनीतिको जातोमा कलाकारहरुलाई घुन पिसिए झैँ पिसिए र राजनीतिको छक्का पन्जा नजान्ने कलाकारहरु यसको शिकार बन्न पुगे ।
कलाकार आफ्नो पेशा प्रति वफादार हुन्छन र दाया बाया जान्दैनन् । उनीहरुको जीवन नै संगीत हुन्छ र सफलताको लागि त्याग र तपस्या गर्न तिर रुचाउने यी कलाकारले राजनीतिको जालको भुमरी परे र लज्जाजनक हार बेहोर्नु पर्यो । कहिलेकाही परिस्थितिले उनीहरु दुबिधामा पर्दछन र हुन्न भन्न सक्दैनन । कसैको आग्रहले बाध्यता बनाई दिन्छ । म बाट हुदैन भन्ने अस्विकार गर्न सक्दैनन् । तर जबर्जस्ति पनि कसैले उम्मेदवार बनाएका पनि हैनन ,राजनीतिमा प्रवेश गरि देश सेवा गरौ भन्ने सोच र बिजयी देखि उम्मेद्वारी दिन पुगे । कलाकारहरुलाई राजनीतिको फोहरी खेलमा हाम फाल्न लगाइयो ,हाम पनि फाले र परिणाम सुन्य पाए ।
निर्वाचनमा जो पनि लड्न सक्दछ र यसले जातजाति ,गरिब ,धनि ,कालो, सेतो भन्दैन । जुनै सुकै वर्गबाट पनि प्रतिनिधित्व गर्न सकिने भएकोले चुनाबमा सबै पेसाका मानिसले उम्मेदवार दिन्छन । कलाकारहरु पनि राजनीतिमा आउनु कुनै नौलो मानिदैन र संबिधानले छेक्दैन । तर हाम्रो मुलुकमा न्युनतम रुपमा कलाकारहरु राजनीतिमा होमिन्छन ।
गायन क्षेत्रमा लागेका कलाकार तथा चलचित्रकर्मीहरुले राजनीतिमा देखाएको अभिरुचि र बिभिन्न दलसंग भएको यिनीहरुको झुकाब कै कारण उम्मेदवार दिन पुगे र निर्वाचनमा भाग लिने उम्मेदवारले कहिले पनि आफु हारिन्छ भनेर मैदानमा लडेको हुदैन । चलचित्रकर्मी तथा प्रख्यात कलाकारहरुको पोल्टोमा केहि न केहि हात लाग्छ भन्ने बिदेशमा बस्ने नेपालीहरुले अनुमान गरेका थिए ।
निर्वाचनमा बिजयी नहुनु र धरौटी सम्म डुब्नुले कलाकार तथा चलचित्रकर्मिको भै रहेको छविमा अलिकति नकारात्मक संदेश गएको छ । कलाकारलाई पनि राजनीतिमा किन लाग्नु पर्यो ? के खान उम्मेदवार दिएको ? राजनैतिक दल कम्जोर भएर हारको सामना गर्नु परेको हो कि ? प्रतक्ष्य तर्फ एउटा पनि स्थानमा बिजयी नगरेको दलको उम्मेदवार भएको हुनाले यसो भएको हो त ?
यदि लहर चलेको र धेरै स्थानमा बिजयी भएको दलको उम्मेदवार भएको भए बिजयी हुन्थ्ये कि त भन्ने पनि सोचाई जान स्वाभाविक हुन्छ, नेपाली चलचित्रका महानायकलाई पनि कुनै राजनैतिक दलले नपछ्याएको हैन ? महानायकले उम्मेदवार दिन नसक्ने बताए पछि त्यो चर्चा परिचर्चा सेलाएको हो । पटक पटक बिबादस्पद भै रहने नायकले उम्मेदवार पाएर पनि खोसुवामा परे तर समानुपातिकबाट पाउने भएका छन । नेपालकी चर्चित अभिनेत्रीको मतदातामा नै नाम नभए पछि त्यो अध्याय समाप्त हुन् गयो यदि महानायक र नायिका पनि चुनाबी मैदानमा उत्रिएको भए परिणाम जे पनि आउन सक्दथ्यो ।
विश्व राजनीतिमा कलाकार र खेलाडीले चुनाब शानदार जितेका छन् ,हाम्रो छिमेकि मुलुक भारतमा अमिताभ बच्चनले बहुगुणा जस्तो चर्चित नेतालाई धुलो चटाई दिए भने राजेश खन्ना ,गोविन्दा ,राज बब्बर ,दक्षिण भारतकी नायिका जय ललिता र थुप्रै राजनीतिमा थिए र अझ पन छन् । कलाकार नै भएता पनि हाम्रो मुलुक र भारतमा कलाकारहरुलाई हेर्ने दृष्ठीकोण अलिक फरक छ । पाकिस्तानका क्रिकेट खेलाडी ,ब्राजिलका भकुण्डो खेलाडी पेले ,फिलिपिन्सका बिश्व विख्यात मुडकीबाज म्यानी प्याकियाओ जसले ८ वटा वजनमा किर्तिमान कायम गरेका छन् र उनि पनि राजनीतिमा लागि जनताको सेवा गरेका छन । यसै गरि हलीवूडमा आर्नोल्ड पनि एक कलाकारबाट राजनीतिमा लागेका थिए ।
अब्राहम लिंकन धेरै पटक चुनाब हारेता पनि अन्त्यमा अमेरिकाको राष्ट्रपति हुन सके । राजनीतिको चस्का लागे पछि बाहिर फुत्किन गार्हो छ किनभने यसले मोहनी लगाई दिन्छ । आम मानिसको नजरमा सबै भन्दा सरल पेशा नै राजनीति मानिन्छ किनभने काम नहुने र फुर्सद हुने मानिसले राजनीति गर्दछन भन्ने मान्यता लिएका हुन्छन । राजनेताले राजनीतिलाई देश सेवा ठान्दछन ।
कलाकारहरुलाई दोश्रो संबिधान सभाको निर्वाचनका मतदाताहरुले दुईवटा चाहना राख्दै यस्तो संदेश दिएको हुनु पर्दछ ,पहिलो कलाकारको क्षेत्र -कलाकारितामा रहदा नै छबि उच्च हुन्छ भन्ने लागेको हुनु पर्दछ भने कलाकारहरुले निहित प्रतिभालाई निखारदै लानु पर्छ भन्ने चाहना र कामना गरेको हुनु पर्दछ ।
दोश्रो सिफारिस चाही गरिमामय पेसामा लागेका र सबैका आँखाको नानीमा बसेका कलाकारहरु राजनीतिको फोहोर आहाल तथा गन्धा राजनीतिको भुमरीमा नपरुन भन्ने चाहना भएको र राजनीतिलाई पूर्ण पेशा अंगालेका उम्मेदवारलाई मन कलाकार तर्फ भए पनि मत त्याग र तपस्या गरेकालाई बिजयी बनाएका हुन पनि सक्दछ ।
कलाकार चन्द्रमाबाट आएका मानिस हैनन् । नेपालमा जन्म भै नेपाली नागरिकता भएका यी कलाकारहरु अरु सरह राजनैतिक प्राणी हुन । कलाकारहरु राजनीतिमा लागेको कम देखिएको परिस्थितिमा कलाकारहरु उप बिजेतामा नै रहन पुगेको हुन गएको हो । आम मानिसको चाहना कलाकारहरु आफ्नै पेसामा रहे राम्रो हुन्छ भन्ने हुन्छ ।
भारतका ख्याती प्राप्त योग गुरु स्वामी राम देवले नरेन्द्र मोदीलाई आगामी चुनाबमा जिताउनु भनि खुले आम लाग्दा यसो नगरि दिएको भए हुन्थ्यो भन्ने शिष्य तथा आम जनताको भावना बुझिएकोले छ । कलाकारहरुलाई उम्मेदवार हुन निरुत्साहित गर्ने अभिप्राय र ध्येय पनि कदापी हैन । संबिधानले दिएको अधिकार अनुसार सबैले मतदान गर्न पाउने छन र चाहना राख्ने सबैले उम्मेदवार बन्न पाउने छन ।
................................................................................................अस्तु