नयाँदिल्ली (एजेन्सी), मंसिर २४ ,
भारतीय विधानसभाका लागि बुधबार भएको चुनावमा सत्तारूढ कंग्रेस आईले नराम्रो पराजय बेहोर्नुपरेको छ । लगातार दुई कार्यकाल सत्तामा रहेको कंग्रेसका लागि विधानसभा चुनाव परिणामले नैतिक दबाब खडा गरेको छ ।
दिल्ली विधानसभामा कंग्रेस पहिलोबाट तेस्रो नम्बरमा झरेको छ । भारतीय जनता पार्टी (भाजपा) पहिलो र नवगठित आम आदमी पार्टी (आप) दोस्रो भएका छन् । चुनाव परिणाम भाजपाका पक्षमा आए पनि आपका पक्षमा अप्रत्यासित जनलहर देखिएको छ । स्पष्ट बहुमत ल्याउन भाजपालाई आपले अवरोध खडा गरेको छ ।
मध्यप्रदेशमा भाजपाले पुनः जित हासिल गरेको छ भने राजस्थानमा पनि कंग्रेसलाई पछि पारेको छ । छत्तिसगढमा कंग्रेस र भाजपा १० सिटको मात्र फरकमा छन् ।
उत्तरपूर्वी राज्य मिजोरमको मतगणना सोमबार मात्र हुनेछ ।
पहिलो पटक निर्वाचनमा भाग लिएको आपले दिल्ली विधानसभामा इतिहास रचेको हो । ७० सिटको दिल्ली विधानसभामा आप २८ सिटसहित मुख्य विपक्षी दल बनेको छ । संयोजक अरविन्द केजरीवालले १५ वर्षदेखि मुख्यमन्त्री रहेकी शिला दीक्षितलाई करिब २६ हजार मतअन्तरले पराजित गर्दै चकित पारेका छन् ।
केजरीवालसँग हार बेहोरेपछि दीक्षितले मुख्यमन्त्री पदबाट राजीनामा दिएकी छन् ।
कसैले स्पष्ट बहुमत नल्याएको दिल्लीमा त्रिशंकु विधानसभा बनेको छ ।
आगामी वर्ष हुन लागेको लोकसभा निर्वाचनअघिको यस चुनावलाई सेमिफाइनलका रूपमा लिइएको छ, जसले भाजपा र कंग्रेसको मात्र नभई नरेन्द्र मोदी र राहुल गान्धीको राजनीतिक भविष्यसमेत निर्धारण गर्नेछ । लोकसभामा भाजपाको पल्ला भारी भए महँगी, भ्रष्टाचार र विकासका मुद्दाबाट उक्त पार्टी केन्द्रीय सत्तामा १५ वर्षपछि पुनःस्थापित हुनेछ । यिनै मुद्दाले आफूलाई केन्द्रीय सत्तामा आरोहण गराउने भाजपाको अपेक्षा छ ।
विधानसभा निर्वाचनमा कंग्रेसको कमजोर प्रदर्शनले राहुल गान्धी नेतृत्वको राष्ट्रिय अभियानमाथि तीव्र दबाब सिर्जना गर्ने निश्चित देखिएको छ । नेहरू वंश परम्पराका उनी पछिल्ला उत्तराधिकारी हुन्, जसले कंग्रेस सरकारका कल्याणकारी योजनाहरूलाई आशावादी युवा समुदायको भोट तान्ने अंकुश बनाएका छन् ।
विधानसभा निर्वाचनमा बेहोरेको परिणामलाई कंग्रेस अध्यक्ष सोनिया गान्धीले निराशाजनक बताएकी छन् ।
'कंग्रेसमा आत्म समीक्षा जरुरी देखिएको छ,' उनले संवाददाताहरूसँग भनिन् । उनले जितका लागि विपक्षी दलहरूलाई बधाई दिइन् ।
मध्यप्रदेश, राजस्थान र दिल्ली विधानसभामा भएको हारको विश्लेषण जरुरी भएको उनले बताइन् । कंग्रेस शासित राज्यका मुख्यमन्त्रीहरूले राम्रो काम गरेको बताउँदै उनले आगामी दिनमा गल्ती सुधार्नका लागि काम गरिने बताइन् ।
संवाददाताहरूलाई प्रतिक्रिया दिँदै राहुल गान्धीले आम आदमीले जनतालाई जोडेको र आगामी दिनमा कंग्रेसले पनि त्यसै गर्ने बताए ।
विधानसभा निर्वाचनमा अग्रता लिएपछि भारतको राजधानी नयाँदिल्लीमा आइतबार खुसियाली मनाउँदै भारतीय जनता पार्टी (भाजपा) का कार्यकर्ता । भाजपाले सत्तारूढ मुख्य घटक कंग्रेस आईलाई पाँचमध्ये चार राज्यमा नराम्ररी पछि पारेको छ । तस्बिर: एपी/रासस :