काठमान्डू पुष ३,
अनिल न्यौपाने : गाउँमा कुनै महिलाको सुत्केरी हुने दिन नजिक आउन लाग्यो भने महोत्तरीको रामनगरकी ४२ वर्षीया महिला स्वास्थ्य स्वयम्सेविका चन्द्रकलादेवी पासवानलाई रातभर निद्रा लाग्दैन । सुत्केरी र बच्चालाई केही हुने हो कि भन्ने चिन्ताले उनलाई सताउछ ।
झण्डै एक दशकअघिसम्म पनि गाउँमा आमा र बच्चाका मृत्युका खबर सामान्य लाग्थे । ‘तर अहिले एउटा बच्चा वा सुत्केरी आमाको मृत्युको खबर आउनु मेरो असफलता हो भन्ने लाग्छ,’ गाउँमा १९ वर्षदेखि महिला स्वास्थ्य स्वय्मसेविका भएर सेवा गरिरहेकी उनी भन्छिन्, ‘गाउँमा कोही महिलाको सुत्केरी हुने दिन नजिक आउन थालेपछि सुत्केरी नहुँदासम्म राती धेरै समय निन्द्रा नै लाग्दैन ।’
उनी घरबारीको धन्दा सकेर गाउँमा स्वास्थ्य सेवा पु¥याउनसमेत भ्याउछिन् ।
गाउँमा विपन्न समुदायकी सहारा जस्तै बनेकी छन् उनी । रामनगर क्षेत्रका १ सय ९ घरधुरीमा प्रत्येक दिनजसो घुमेकै हुन्छिन् । परिवार नियोजन, गर्भजाँच, खोपलगायतका विषयमा गाउँलेलाई सल्लाह दिनु आफ्नो प्रमुख कर्तव्य भएको उनले सम्झेकी छन् । स्वास्थ्य सल्लाहदेखि साधारण उपचारसम्मको काम गर्नुपर्ने भएकाले महोत्तरीको विकट क्षेत्रमा वसेर उनले चिकित्सकले गर्नुपर्ने काम गरिरहेकी छन् ।
–सुर्खेतको दुर्गम गाउँ पाम्कामा जनस्वास्थ्यका विषयमा जानकारी दिने चिकित्सक छैनन् । तर गाउँले बाल तथा मातृ स्वास्थ्यलगायतका प्राथमिक स्वास्थ्यका बारेमा निकै नै जानकार छन् ।
सदरमुकामबाट १० कोस टाढा रहेको विकट पाम्कामा चिकित्सकले दिनुपर्ने स्वास्थ्य सल्लाह र प्राथमिक उपचारको काम महिला स्वास्थ्य स्वयम्सेविका लक्ष्मी रजालीले नै दिइरहेकी छिन् ।
पाम्काको पुँडे ७ की रजाली गाउँमा महिला गर्भवती भएदेखि बच्चा जन्मेको एकवर्ष नहुँदासम्म उनीहरूकै चिन्तामा व्यस्त हुन्छिन् । उनले काम शुरु गरेको सातवर्ष यता गाउँमा महिना नपुगी जन्मिएका शिशुबाहेक आमा र नवजात बच्चाको मृत्युको खबर सुन्नु परेको छैन । यसका अलावा गाउँमा आमा र बच्चाको स्वास्थ्य, प्रजनन् स्वास्थ्य, परिवार नियोजन, गर्भजाँच, खोप, सरसफाइ, स्वास्थ्य शिक्षालगायतका विषयमा गाउँमा परामर्श प्रदान गर्नु उनको दैनिकी बनेको छ ।
महोत्तरीकी पासवान र सुर्खेतकी रजाली मात्र होइनन् । देशका अधिकांश दुर्गम क्षेत्रमा कार्यरत महिला स्वास्थ्य स्वयम्सेविकाहरुले ‘डाक्टर’ का रुपमा काम गरी हजारौँ महिला तथा बालबालिकाको ज्यान जोगाइरहेका छन् । सरकारले दुर्गम तथा ग्रामिण क्षेत्रमा चिकित्सक र स्वास्थ्यकर्मी पठाउन नसकिरहेको अवस्थामा ग्रामिण भेगमा रहेर उनीहरुले चिकित्सकको भुमिका निर्वाह गरेका छन् ।
नेपालले हाल मातृ तथा बाल स्वास्थ्यमा उल्लेखनीय प्रगति गरिरहेको छ । यो सफलताको पछाडि महिला स्वास्थ्य स्वयम्सेविका तथा स्वास्थ्य आमा समुहको ठुलो भुमिका रहेको स्वास्थ्य मन्त्रालयले नै स्वीकारेको छ ।
स्वास्थ्यको संरचना केन्द्रदेखि गाउँको वडासम्म पुगेको छ ।
देशका प्रत्येक गाविसका स्वास्थ्य संस्थामार्फत् अत्यावश्यकीय स्वास्थ्य सेवा उपलब्ध भईरहेका छन् । यसका लागि समुदायमा आधारित महिला स्वास्थ्य स्वयम्सेविकाले महत्वपुर्ण भुमिका निर्वाह गरिरहेका छन् । आमा र बच्चाको स्वास्थ्यका लागि सेवा र सन्देश प्रवाह गर्ने कार्यमा महिला स्वयम्सेविकाले निर्वाह गर्दै आएको भुमिकाले गर्दा नेपाल स्वास्थ्य क्षेत्रबाट विश्वमा नयाँ ढंगले परिचित भइरहेको छ । अन्तर्राष्ट्रिय साझेदारी (आइएचपी)मा नेपालको सहभागिता त्यसकै सुचक भएको परिवार स्वास्थ्य महाशाखाको भनाई छ ।
महाशाखाका अनुसार सहश्राब्दी विकास लक्ष्य प्राप्त गर्ने सन्दर्भमा बाल मृत्युदर र मातृ मृत्युदर घटाउ महिला स्वास्थ्य स्वयम्सेविकाको अत्यन्त महत्वपुर्ण र सार्थक भुमिका छ ।
‘वास्तवमा उनीहरु स्वास्थ्य परिवर्तकका रुपमा स्थापित भएका छन्’ महाशाखा प्रमुख डा. किरण रेग्मीले भनिन्, ‘समुदायमा रही अहोरात्र आमा र बच्चाको स्वास्थ्यमा निरन्तर सक्रिय रहेका महिला स्वयम्सेविकाहरुले गरेको योगदान उल्लेखनीय छ ।’
महिला स्वास्थ्य स्वयम्सेविकाले गाउँ तथा समुदायमा स्वास्थ्य सन्देश प्रवाह गर्ने, भिटामिन ए, आइरन चक्की, सुरक्षित मातृत्वबारे सल्लाह दिने, पुनर्जलीय झोल, पोलियो खोप तथा परिवार नियोजनका साधन वितरणमा महत्वपुर्ण भुमिका निर्वाह गर्ने जस्ता कार्य गर्दै आइरहेका छन् । निस्वार्थ भावनाका साथ गाउँघरमा सेवारत महिलाकै योगदानले सिंगो देशको स्वास्थ्य सुचकमा सकारात्मक परिवर्तन आएको छ ।
स्वयम्सेविकाले परिवार नियोजन, सुरक्षित मातृत्व, नवजात शिशु स्याहार, खोप, पोषण, झाडापखाला र श्वासप्रश्वास कार्यक्रममा उल्लेख्य भुमिका निर्वाह गरेका छन् । यसवाहेक सचेतना अभिवृद्धि र सरुवा तथा महामारी रोगमा समेत स्वयम्सेविकाको भूमिका उल्लेख्य रहेको छ । उनीहरुलाई औषधि वितरण, रोगको व्यवस्थापन, वातावरणीय सरसफाईमा समेत भूमिका निर्वाह गर्नुपर्ने जिम्मेवारी दिइएको छ ।
तथ्यांकअनुसार नेपालको कुल जनसंख्याको दुई तिहाई भाग महिला र बच्चाको छ । यही दुई तिहाई समुदायमा नै विविध किसिमका स्वास्थ्य समस्या छन् । न्युनतम ज्ञान, सिप र सुचनाको अभावमा यही समुहमा रहेका धेरै आमा र बच्चाको ज्यान खतरामा पर्ने गरेको र अकाल मृत्युसमेत हुने गरेको छ ।
यस्तो समस्यालाई महिला स्वयम्सेविकाले धेरै हदसम्म न्युनिकरण गर्न सक्षम भएका छन् ।
वडास्तरमा रहेर महिला स्वास्थ्य स्वयम्सेविकाले आमा र बालबालिकाको स्वास्थ्यसम्बन्धि प्रतिकारात्मक, प्रबद्र्धनात्मक तथा उपचारात्मक सेवा पु¥याउँदैं आएका छन् । स्वास्थ्य सेवाको विस्तारसँगै महिला स्वयम्सेविकाको भूमिका पनि फराकिलो हुँदै गइरहेको छ । सरकारका तर्फबाट स्वयम्सेविकाको सेवाको गुणस्तरीयता कायम गर्न आधारभुत तथा पुनर्ताजगी तालिमका साथै अन्य सुविधा जस्तै, निःशुल्क स्वास्थ्य सेवा, महिला स्वयम्सेविका कोष पनि उपलब्ध गराइदै आएको छ ।
नेपालमा महिला स्वास्थ्य स्वयम्सेविका कार्यक्रम सन् १९८८ अर्थात् आर्थिक वर्ष २०४५/४६ देखि शुरु भएको हो । मध्यमाञ्चलका १९ जिल्ला तथा पश्चिमाञ्चलका ८ गरी जम्मा २७ जिल्लाबाट शुरु गरिएको यो कार्यक्रम सन् १९९५ देखि देशका ७५ जिल्लामा बिस्तार भएको हो । त्यसबेला नेपालमा स्वास्थ्य सँस्था ज्यादै कम थिए । इलाकास्तरमा हेल्थपोष्ट खुलेका थिए । तर जिल्लाभरमा स्वास्थ्य चौकीको संख्या ९ देखि ११ सम्म मात्र भएकाले समुदायसम्म पहुँच कम थियो । त्यसैले देशका प्रत्येक वडामा एक स्वयम्सेविका तयार गरी तिनीहरु मार्फत् स्वास्थ्य शिक्षा, परिवार नियोजन, खोप, सरसफाई, प्राथमिक उपचारलगायतका सेवा दिने रणनीति लिई स्वयम्सेविकाको अवधारणालाई अगाडि बढाइएको हो ।
हाल नेपालभरमा ५१ हजारभन्दा बढी महिला स्वास्थ्य स्वयम्सेविका छन् ।
स्वयम्सेविकालाई प्रोत्साहन गर्न गिरिराजमणि पोखरेलले स्वास्थ्यमन्त्री हुँदा आर्थिक वर्ष ०६४/६५मा महिला स्वयम्सेविकाको कदर तथा मनोबल उच्च राख्न भन्दै प्रत्येक गाविसमा ५० हजार रुपियाँ रहने गरी महिला स्वास्थ्य स्वयम्सेविका कोष स्थापना गरेका थिए । सरकारले हाल कोषको रकम वृद्धि गरी ९० हजार पु¥याएको छ । यसबाहेक सरकारले तालिम तथा गोष्ठीमा भाग लिँदा यातायात खर्चको व्यवस्था गरेको छ भने तोकिएको निःशुल्क स्वास्थ्य सेवा र पोशाकवापत् रकम प्रदान गर्दै आएको छ ।
महिला स्वास्थ्य स्वयम्सेविका बन्न स्थानीय वडाको स्थायी बासिन्दा, कम्तिमा १० वर्र्ष काम गर्न इच्छुक, २५ देखि ४५ वर्ष उमेर समुहको, सामाजिक सेवाको भावना भएको र लेखपढ गर्न सक्ने हुनुपर्छ ।
कस्ता व्यक्ति महिला स्वास्थ्य स्वयम्सेविका हुन सक्छन् ?
महिला स्वास्थ्य स्वयम्सेविका भन्नाले स्वास्थ्य आमा समुहद्वारा छनौट गरिएका, निश्चित अवधिसम्म स्वयम्सेवा गर्न तत्पर तथा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा निर्धारित पाठ्यक्रमअनुसार आधारभुत तालिम प्राप्त गरी स्थानीय स्वास्थ्य संस्थाद्वारा प्रदान गरिने विभिन्न स्वास्थ्य कार्यक्रममा सहयोग पु¥याउन प्रतिबद्ध महिलालाई जनाउँछ ।
स्वयम्सेविकाको छनोट स्वास्थ्य आमा समूहले स्थानीय वडामा बसोबास गर्ने, २५ देखि ४५ वर्षबीच रहेका र कम्तीमा १० वर्ष स्वयम्सेविका भई काम गर्न इच्छुक ८ कक्षा पास गरेकी महिलालाई छनोट गर्न सक्छन् । छनौट गर्दा दलित, जनजाति तथा पिछडिएको वर्गलाई प्राथमिकता दिने गरिन्छ ।
६० वर्ष उमेर पुगेका वा उमेर नपुगेपनि शारिरिक रुपमा अशक्त महिला स्वास्थ्य स्वयम्सेविकालाई परिवर्तन गर्न सकिन्छ । यसका अलावा आफ्नो कार्यस्थलभन्दा बाहिर ६ महिनाभन्दा बढी समय बसेमा, स्वास्थ्य आमा समुहको बैठक ६ महिनासम्म सञ्चालन नगरेमा वा तोकिएका काम नगरेमा पनि परिवर्तन गर्न सकिन्छ ।
कसरी बन्छ स्वास्थ्य आमा समुह ?
समुदायको सहभागितामा स्थानीय स्वास्थ्य संस्था र स्थानीय निकायद्वारा हरेक वडामा सम्बन्धित वडामा बसोबास गर्ने प्रजनन उमेरका इच्छुक सबै महिला समावेश गरी स्वास्थ्य आमा समुहको गठन गरिएको हुन्छ । यो समुहमा जति पनि सदस्य रहन सक्छन् । तर कम्तिमा पनि हिमाली जिल्लामा ११, पहाडी जिल्लामा १५ र तराई जिल्लामा २१ सदस्य रहुनुपर्छ ।