मस्को पुस ९ ,
रुसमा क्रेमलिनविरोधी युवा संगीत समूह 'पुसी रायट' का कारागारमा रहेका दुई सदस्यलाई सोमबार रिहा गरिएको छ । उनीहरूलाई काराबासको निर्णय सुनाइँदा विश्वभरबाट विरोधको आवाज आएको थियो ।
२५ वर्षे मारिया अलियोखिना तथा नादेझ्दा टोलोकोनिकोभालाई क्रेमलिनले समर्थन गरेको आममाफीबाट रिहा गरिएको हो ।
उनीहरूलाई दुई वर्षसम्म काराबासको सजाय दिइएको थियो । उनीहरू त्यो अवधिभन्दा दुई महिना अगाडि रिहा भएका हुन् । अलियोखिनालाई निझ्नी नोभ्गोरोद नगरमा रहेको कारागारबाट बाहिर लगिएको थियो भने टोलोकोनिकोभा साइबेरियाको क्रास्नोयास्र्कको कारागार अस्पतालबाट सार्वजनिक रूपमा रिहा भएकी थिइन् ।
तीन दिनअगाडि मात्र क्रेमलिनविरोधी व्यापारी मिखाइल खोदोर्कोभ्स्कीलाई रिहा गरिएको थियो ।
सन् २०१४ को फेब्रुअरीमा सोचीमा शीतकालीन ओलम्पिक खेल हुनुअगाडि रुसको छवि सुधार्न राष्ट्रपति पुटिनको प्रयास स्वरूप यी रिहाइ भएको ठानिएको छ । अलियोखिनाले रिहा भएपछि आफूलाई मुक्त गरिएको केवल सार्वजनिक प्रदर्शन मात्र भएको र आफू अझै कारागारमा बस्न चाहेको बताइन् ।
अलियोखिनाको रिहाइ पनि खोदोर्कोभ्स्कीको रिहाइजस्तै थियो । शुक्रबार बर्लिन विमानस्थलमा नउत्रिएसम्म उनी सार्वजनिक रूपमा देखापरेकी थिइनन् ।
अलियोखिनालाई कारागार रहेको स्थानभन्दा निकै पर आमसञ्चारको पहुँचबाहिर छोडिएको थियो ।
उनी आफ्नो घर मस्को जानुभन्दा अघि स्थानीय अधिकारवादी गैरसरकारी संस्था कमिटी एगेन्स्ट टर्चरमा पुगी कारागारमा रहेका केही व्यक्तिको मानव अधिकार उल्लंघनका विषयमा छलफल गरेकी थिइन् । टोलोकोनिकोभाको कारागारको अन्तिम दिन साइबेरियाको क्रास्नोयास्र्क अस्पतालमा बितेको थियो । माइनस २० डिग्री सेल्सियसको तापक्रममा उनी कारागारबाट मुक्त हुँदा पत्रकारहरूले उनलाई घेरेका थिए ।
उनका पति प्योत्र भर्जिलोभले टवटरमा नादिया स्वतन्त्र भएको सूचना जारी गरेका थिए ।
यी दुई मुहिला तथा उनीहरूका मित्र यकातेरिना सामुत्सेभिकलाई सन् २०१२ मा मस्कोको क्याथड्रल अफ क्रिस्ट अफ सेभियरमा 'पङ्क प्रेयर' नामक संगीत प्रदर्शन गरी धार्मिक घृणा फैलाएको आरोप लगाइएको थियो । उनीहरूले आफ्नो कार्यक्रमको भिडियो क्लिप सार्वजनिक गरेका थिए । हाल यो क्लिप प्रतिबन्धित छ ।
सन् २०१२ को मार्चमा राष्ट्रपति पुटिन पुनः निर्वाचन हुनु अगाडि यी घटना भएका थिए । उनीहरूले पुटिनको निर्वाचनमा अर्थोडक्स चर्चले समर्थन गरेको विरोधमा आफ्नो कार्यक्रम आयोजना गरेको ठानिएको थियो । उनीहरू सबैलाई त्यतिबेला पक्राउ गरिएको थियो । सामुत्सेभिकलाई पछि रिहा गरिएको थियो । एएफपी :