काठमाडौ, मंसिर २५ ,
गायक प्रेमी जस्टिन बिबरसँगको सम्बन्ध टुक्रिएको असर यतिबेला गायिका सेलेना गोमेजलाई परेको अड्कल काट्न थालिएको छ । हुन त सिंगल भएपछि जस्टिनको असर नपरेको देखाउन सेलेना आफ्ना डिज्ने साथीभाइसँग रमाइलो गरिरहेका खबर पनि नआएका होइनन् ।
आखिर जस्टिनको प्रेमको साइड इफेक्ट सेलेनामा लामै परेको देखिएको छ । हालैको एक कन्सर्टमा उनले गाउन नसकेपछि बीचैमा छोडेर हिँडेकी छन् ।
घटना शुक्रबारको हो । जब सेलेना जिंगल बल कन्सर्टका लागि स्टेजमा उक्लिइन् । 'के तपाईंहरू यो रातलाई सुन्दर बनाउन चाहनुहुन्छ ?' कन्सर्टमा आफूलाई सुन्न आएका दर्शकलाई सुरुमै सेलेनाले फूर्तिसाथ साधेकी थिइन् र लगत्तै थपिन् पनि, 'म वाचा गर्छु, तपाईहरूलाई अत्यधिक मज्जा दिन आज म यहाँ आएकी छु ।'
उनले केही गीत गाएपछि उत्साहित हुँदै भनेकी थिइन्, 'के मैले अझै दुई गीत गाएँ भने साथ दिनुहुन्छ ?' दर्शकले वान्स मोर भन्नुअगावै सेलेनाको यस्तो सुन्दर प्रस्ताव आएपछि नाई भन्ने को हुन्थ्यो होला ? तर गायिकाले एक गीत गाएपछि नै ट्रयाजेडी सुरु भयो । अर्को गाउँदागाउँदै सेलेनाले असजिलो महसुस गरिन् र गाउनै रोकिन् । 'सरी, आवाजले कामै गरेन,' उनले भीडतर्फ फर्किएर दुःखी बनिन् र लगत्तै स्टेज छोडेर गइन् ।
उक्त घटनालाई मिडियाले भने फरक ढंगले विश्लेषण गर्न थालेका छन् ।
वास्तवमा उनको स्वर भासिनुमा भित्री मनमा पुगेको चोट कारक हुन सक्ने तर्क गर्न थालिएको छ । हुन त सेलेनाले आफ्नो स्वरको आवाज नभई माइकको आवाजलाई दोष दिएर स्टेज छोडेकी थिइन् । तर रिपोर्टिङहरूले भने स्टेजमा कुनै किसिमको प्राविधिक समस्या नरहेको स्पष्ट पारेका छन् । उसो भए सेलेनाले गाउन नसकेको कुरालाई किन ढाँटिन् त ?