यसरि भयो मन्डेला स्मृति सभा I

सोवेतो मंसिर २६,

विश्वमै स्वतन्त्रता र समानताको योद्धाको रूपमा चिनिएका नेल्सन मन्डेलाको स्मृतिसभामा वर्षाको समेत पर्वाह नगरी मंगलबार दिउँसो दसौं हजार दक्षिण अफ्रिकी सहभागी भए । मन्डेलाको पुरानो घर सोवेतोको विशाल रंगशालामा संसारभरिका करिब सय नेता सम्मान र श्रद्धाञ्जलि प्रकट गर्न भेला भएका थिए । उनीहरू रुझ्दै, गाउँदै र नाच्दै उनीप्रति गौरव व्यक्त गरिरहे । 

उनको आइतबार राजकीय सम्मानका साथ हुने अन्त्येष्टिसम्म यो मानव सागर कायम रहनेछ । मन्डेलाको तस्बिर भएको टिसर्ट र दक्षिण अफ्रिकाको फुटबलको टप लाएका उनीहरूले रंगभेदविरोधी आन्दोलनताका गीतहरू गाए । उनको अन्त्येष्टि आइतबार बाल्यकाल बितेको पूर्वी केप प्रान्तको कुनु गाउँमा हुनेछ । विश्वभरबाट आएका राष्ट्रप्रमुख, राजा, राजकुमार तथा राष्ट्रपतिहरू यो स्मरणीय क्षणको साक्षी बने । विश्वभरबाट लाखौं दर्शकले टेलिभिजनको पर्दामा उक्त महासभाको अवलोकन गर्न पाए । 

विशिष्ट पाहुनासहित एक लाखको सहभागिता रहेको बीबीसीले जनाएको छ । ठाउँ ओगट्नलाई अघिल्लो राति नै सर्वसाधारण स्टेडियमा पुगेका थिए । अभूतपूर्व जीवन कथा भएका उनीप्रति पूरा विश्वका नागरिकले मनमनै श्रद्धासुमन अर्पण गरिरहेका छन् । उनले गरेका क्रान्तिका विषयमा भावुक र ऊर्जा उत्पन्न गर्ने गीतहरू सभामा सुनिए । मध्यदिनमा दक्षिण अफ्रिकाको राष्ट्रिय गीत 'एनकोसी सिकेलेल' का साथ सभा सुरु भएर झन्डै चार घन्टासम्म चलेको थियो । त्यहाँ बिहानैदेखि परिरहेको पानीले पनि नागरिकको उत्साहलाई प्रभावित पार्न सकेन । 

गत बिहीबार मन्डेलाको निधनपछि अफ्रिका र पूरा विश्व शोकमा डुबे पनि २० औं शताब्दीको उच्च आदर्श भएका राजनीतिक व्यक्तित्वको स्मृतिसभालाई जनताले उत्सवको रूपमा मनाएका छन् । अफ्रिकी नेसनल कंग्रेस (एएनसी) उपाध्यक्ष सिरिल रामाफोसाले उक्त सभाको उद्घाटन गरेका थिए । उनले भने, 'उनको लामो स्वतन्त्रता यात्राको अन्त्य भएको छ, उहाँ अब आराम लिन सक्नुहुन्छ ।' स्मृतिसभालाई सम्बोधन गर्दै पहिलो अश्वेत अमेरिकी राष्ट्रपति बाराक ओबामाले मन्डेला इतिहासका ठूलो हस्ती भएको बताए । तर, यसअघि उनी स्टेडियमा जाने क्रममा क्युबाका राष्ट्रपति राउल क्यास्ट्रोेसँग हात मिलाएको दृश्य विश्वकै इतिहासमा अर्को स्मरणीय घटना हुन पुग्यो । 

आधा शताब्दीभन्दा बढी समयदेखिको मनमुटावपछि दुई राष्ट्र प्रमुखहरूको पहिलोपटक भेट्दाखेरिको अभूतपूर्व हाउभाउ देख्न लायकको थियो । हालैका दिनमा दुवै मुलुकहरू शान्तितर्फ सर्तकतासाथ पाइला चालिरहेका छन् । राउलका दाइ पूर्वराष्ट्रपति फिडेल क्यास्ट्रोले रंगभेदविरोधी आन्दोलनमा सहयोग गरेको हुनाले दक्षिण अपि|mका र क्युबाबीच आत्मीय सम्बन्ध छ । ओबामाले भविष्यका पुस्तासमक्ष संघर्ष, कुशाग्रता तथा राजनीतिक सक्रियताको शक्तिबाट स्थान प्राप्त गरेको बताए । उनले मन्डेला पनि संगमरमरले नभई मासु र रगतले बनेको महान् मानव भएको बताए । 

गान्धीसँग तुलना गर्दै मन्डेलालाई जोखिम उठाउने हिम्मत भएको र सिद्धान्तसँग सम्झौता नगर्ने नेताका रूपमा उनले प्रस्तुत गरे । उनले आफूलाई विद्यार्थीको रूपमा राजनीतिमा प्रवेश गर्न अभिप्रेरित गर्ने उदाहरणमध्ये उनी एक भएको खुलासा गरे । उनले सबैका लागि संघर्ष गरेको बताए । कानुन र संविधान बनाउने क्रममा कुनै सम्झौता नगरी उनी अगाडि बढेको ओबामाले सबैलाई सम्झाए । कार्यक्रममा राष्ट्रसंघका महासचिव बान कि-मुनले मन्डेलाले मृत्युपछि पनि विश्वलाई एकतामा बाँधेको बताए । मुलुकले एक नायक र विश्वले एक मित्र गुमाएको उनले बताए । उक्त रंगशालामा मन्डेला सन् २०१० को विश्वकप फुटबलको अन्तिम खेलमा उपस्थित थिए । 

मन्डेलाकी तेस्री पत्नी ग्रेसा माचेल सभामा आउँदा उपस्थित जनले ठूलो सम्मान प्रकट गरेका थिए । मन्डेलाकी पूर्वपत्नी विन्न माडिकिजेलले ग्रेसालाई अँगालो मारेकी थिइन् । पूरा भीडले 'विन्नी, विन्नी ' भनेर स्वागत गरेको थियो । दक्षिण अफ्रिकाकै सबभन्दा ठूलो सहर जोहानेसवर्गस्थित घरमा निधन हुँदा विश्वभरबाट उनीप्रति श्रद्धाञ्जलिको ओइरो लागेको थियो । मन्डेला केही महिनादेखि फोक्सोको गम्भीर संक्रमणले पीडित थिए । उनको देहावसानले पूरा विश्वलाई नराम्रोसँग झस्काएको छ । कार्यक्रममा राष्ट्रपति ज्याकोब जुमा, बेलायती प्रधानमन्त्री डेबिड क्यामरुन, फ्रान्सेली राष्ट्रपति फ्रान्स्वाँ होलान्ड तथा अफगानी राष्ट्रपति हामिद कार्जाई पनि उपस्थित थिए । 

सभामा नाइजेरियाका गुडलक जोनाथन, अमेरिका पूर्वराष्ट्रपति जिमी कार्टर, जर्ज डब्लु बुस तथा बिल क्लिन्टन पनि उपस्थित छन् । क्युबाका राष्ट्रपति राउल क्यास्ट्रोले मन्डेलालाई क्रान्तिकारी संघर्ष र सम्मानका एक योद्धा बताए । मन्डेलासँग रोबेन द्वीपमा जेल जिउन बिताउने एन्ड्रयु लेंगेनीले उनलाई शून्यमा पनि आशा जगाउने व्यक्तित्व बताए । समारोहमा ब्राजिलकी राष्ट्रपति डिल्मा रोसेफ, युरोपेली संघका अध्यक्ष जोस म्यानुयल बारोसो, प्यालेस्टाइनी नेता महमुद अब्बास, भारतका राष्ट्रपति प्रणव मुखर्जी, बेलायती प्रधानमन्त्री डेभिड क्यामरुन, उपप्रधानमन्त्री निक क्लेग, लेबर पार्टीका नेता ईड मिलिब्यान्ड, पूर्वप्रधानमन्त्री गोर्डन ब्राउन, टोनी ब्लेयर जान मेजर पनि सहभागी छन् । 

त्यसैगरी अमेरिकाका पूर्व तीन राष्ट्रपतिहरू जर्ज डब्लु बुस, बिल क्लिन्टन र जिमी कार्टर पनि सहभागी भए । राष्ट्रसंघका महासचिव मुनले जोहानेसवर्गस्थित नेल्सन मन्डेला सेन्टरको पनि अवलोकन गरेका थिए । चीनका उपराष्ट्रपति ली युवानचाओ, नामिबियाका राष्ट्रपति हिफिकेपुन्ये पोहाम्बा, गायक बोनो र दक्षिण अफ्रिकी अभिनेत्री कार्लिज थेरोन पनि श्रद्धाञ्जलि दिन पुगेकी थिइन् । मन्डेलाका सहकर्मी एवं नोबेल शान्ति पुरस्कार विजेता आर्क विसोप डेसमन्ड टुटुले सहभागीलाई उभिएर श्रद्धाञ्जलि व्यक्त गर्न भन्दै सभाको समापन गरेका थिए । हुर्केबढेको कुनु गाउँ लानुअघि उनको शवलाई तीन दिनसम्म राजधानी पि्रटोरियामा राखिनेछ । एजेन्सीहरू :

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com