काठमाण्डौ कार्तिक २०,
कृष्ण भट्टराइ : फेसन डिजाइनर समा बानु नेपाली ढाकालाई पहिरनमार्फत प्रस्तुत गर्न सिपालु मानिन्छिन् । असोजको दोस्रो साता उनले तयार पारेका ढाका पहिरन काठमाडौंमा प्रदर्शन गरिए । होटल याक एण्ड यतिमा सम्पन्न 'सम्पदाः द हेरिटेज फेसन शो' मार्फत समाका पहिरनहरू एक दर्जन मोडलले प्रदर्शन गरे ।
नेपाली फेसन शोको इतिहासमै पहिलो पटक दुई वटा सांगीतिक समूह द मोरास तथा सक्षम ब्याण्डले बजाएका प्रत्यक्ष धुनमा बानुका पहिरनहरू प्रदर्शन गरिएका थिए । परम्परागत सांगीतिक धुन सिर्जना गर्न सिपालु ती सांगीतिक समूहले फेसन शोलाई जीवन्त बनाएका थिए । फेसन शोको प्रारम्भमै दसैंको मंगल धुनका साथ मोडलहरू र्याम्पमा प्रस्तुत भएका थिए । परम्परागत शैलीका पहिरन प्रदर्शन गरिने फेसन शो भएकाले आयोजकले र्याम्पलाई पनि त्यही शैली दिएका थिए ।
विभिन्न ६ वटा सिक्वेन्समार्फत प्रदर्शन गरिएका पहिरनलाई छुट्टाछुट्टै उपमा दिइएको थियो । डिजाइनर बानुले प्रदर्शित पहिरनमार्फत नेपाली संस्कृतिलाई उजागर गर्ने प्रयास गरेकी थिइन् । फेसन शोमा प्रदर्शन गरिएका पहिरनमा नेपालमा प्रचलित परम्परागत तथा प्राकृतिक फेब्रिकहरूको प्रयोग गरिएको थियो । ट्रयाडिस्नल ट्वीस्ट सिक्वेन्सबाट प्रारम्भ भएको फेसन शो कल्चर फ्युजन, एथनिक फ्लेवर, समय बजी, पञ्जेबाजा हुँदै अघि बढेको थियो ।
फेसन शोको अन्तिम सिक्वेन्स दिवंगत राजपरिवारप्रति समर्पित थियो । राजपरिवारका सदस्यहरूले लगाउने शैलीका पहिरन प्रदर्शन गरिएको उक्त सिक्वेन्समा सांगीतिक समूहले स्वदेश गानको धुन प्रस्तुत गरेको थियो । डाइरेक्सन नेपाल तथा समाज क्रिएसनद्वारा संयुक्त रूपमा आयोजित फेसन शोको कोरियोग्राफी सिजन महर्जनले गरेका थिए । नारी !