जनकपुरधाम कार्तिक २३ ,
छठअन्तर्गत आज चौथो दिन व्रतालुले बिहानीपख उदाउँदो सूर्यलाई अर्घ दिई पर्वको समापन गरेका छन्। मूलविधि चतुर्थीदेखि सुरु भई षष्ठीका दिन बेलुकी अस्ताउन लागेको र सप्तमीका दिन उदाउँदो सूर्यलाई अर्घ दिई पर्व समापन गरिने परम्परा छ।
सप्तमीका दिन व्रतालुले बिहानीपख उदाउँदो सूर्यलाई अर्घ दिई पर्वको समापन गरेपछि प्रसाद ग्रहण गरी आफ्नो उपवास तोड्छन् जसलाई 'पारन' भनिन्छ।
व्रतालुले यहाँका इतिहास र पुराणवर्णित सरोवर गङ्गासागर, धनुषसागर, रामसागर, रत्नसागर, अरगजा, रुक्मिणी सर र अग्निकुण्डलगायत दर्जनौँ पोखरीमा पूजा सामग्री र घरमा बनाइएको विशेष प्रकारको पकवान सूर्यलाई अर्घ चढाएका थिए।
परिवारमा सुखशान्ति, कल्याण, रोगबाट मुक्ति र मनले चिताएको इच्छा पूरा होस् भन्ने कामनासहित यो पर्व मनाइने परम्परा छ। सो अवसरमा जनकपुरका पोखरीमा १० देखि १५ हजार व्रतालु र ८० हजारदेखि एक लाखको हाराहारीमा श्रद्धालु सहभागी थिए। रासस :