कोलम्बो मंसिर ३ ,
श्रीलंकाको उत्तरी जाफ्ना प्रायद्वीपमा गृहयुद्धको अन्तिम महिना भएको युद्ध अपराधलाई लिएर त्यहाँका राष्ट्रपति महिन्दा राजापाक्षे र बेलायतका प्रधानमन्त्री डेभिड क्यामरुनबीचको तनाव बढ्दै गएको छ ।
क्यामरुनले तमिल अल्पसंख्यकको समस्यामाथि ध्यानाकर्षण गराउन श्रीलंकाको उत्तरी प्रान्तको भ्रमण गरेर धारणा सार्वजनिक गरेपछि दुवै नेताबीच चर्को वाकयुद्ध सुरु भएको हो ।
राजधानी कोलम्बोमा राष्ट्र मण्डल सम्मेलनको दोस्रो दिन राजापाक्षेले क्यामरुनमाथि सशक्त कटाक्ष गरेका छन् ।
क्यामरुनले युद्ध अपराधको जाँच हुनुपर्ने भन्दै गरेको मागलाई पनि उनले ठाडै अस्वीकार गरे । 'यो उनको व्यक्तिगत इच्छा हो, यो एक लोकतान्त्रिक मुलुक हो, हामी सब बराबर छौं,' राजापाक्षेले भने, 'लागेको कुरा उनले भन्न पाउँछन्, यो उनीमाथि निर्भर गर्छ ।'
उनले व्यंग्य गर्दै भने, 'तपाईंले कसरी गुनासो गर्न सक्नुहुन्छ, सिसाको घरमा बस्नेले अरूको घरमा ढुंगा प्रहार गर्न नहुने मेरो आशय हो ।'
इराक युद्ध तथा उत्तरी आयरल्यान्डमा सन् १९७२ मा भएका हत्याका छानबिनमा बेलायतले गरेको ढिलाइलाई उनले संकेत गरे ।
प्रधानमन्त्री क्यामरुनले श्रीलंकाले अर्को वर्षको मार्चसम्म आफैंले स्वतन्त्र छानबिन दल नबनाए बेलायतले यसकै लागि राष्ट्रसंघसँग आग्रह गर्ने बताएका छन् । यसका लागि निरन्तर दबाब सृजना गर्नुपर्नेमा उनले जोड दिए । 'म आफ्नो पक्ष प्रस्ट गर्न चाहन्छु, उसको तर्फबाट निर्धारित समयसम्म जाँच पूरा नभए राष्ट्रसंघीय मानवअधिकार परिषद्मा यो मुद्दा उठाउनेछु,' उनले भने, 'अनि पूर्ण, निष्पक्ष तथा अन्तर्राष्ट्रिय जाँचको माग गर्नेछु ।'
यो न्यायको विषय भएकाले यस दिशामा केही गरिएमा त्यहाँको भविष्य अझ राम्रो हुने धारणा क्यामरुनको छ ।
त्यसको जवाफमा श्रीलंकाली राष्ट्रपति राजापाक्षेले क्यामरुनलाई चाहेको बोल्न पूरा छुट भएको व्यंग्यात्मक अभिव्यक्ति दिएका हुन् । श्रीलंका स्वतन्त्र मुलुक भएकाले आफ्नो विदेशी पाहुनालाई जाफ्ना जान दिएको उनले बताए । आफ्नो मुलुकसँग लुकाउनलाई केही पनि नभएको प्रस्ट जवाफ दिएका छन् । त्यही भएर आलोचना गर्नेलाई मुलुकमा स्वतन्त्र घुम्न र विपक्षीलाई भेट्न दिएको उनको जवाफ थियो । सन् २००९ मा तमिल टाइगर विद्रोही विरुद्धको सैन्य कारबाही समाप्त भएको थियो ।
यस युद्धको अन्त्यतिर सेनाले निर्दोष र लाचार तमिलको क्रूर हत्या गरेको खबर र भिडियोहरू सार्वजनिक भएका थिए ।
युद्ध अपराध र मानवअधिकार उल्लंघनको यस घटनाविरुद्ध राष्ट्रसंघमा कडा आवाज उठेको थियो । श्रीलंकाले कडा विरोध गरेपनि यो मुद्दा साम्य हुनुको साटो चर्किंदै गएको छ ।
श्रीलंकाका आर्थिक विकास मन्त्री र राजापाक्षेका भाइ बासिलले कुनै पनि खालको जाँचलाई नस्वीकार्ने बताएका थिए । 'क्यामरुनले छानबिनका लागि पहिले पनि मिति तोकेका थिए, यो ठीक कुरो होइन,' उनले भने, 'स्वयं क्यामरुनले पनि श्रीलंकालाई यसका लागि समय चाहिने बताइसकेका छन् ।' क्यामरुनले उत्तरी आयरल्यान्डको मुद्दा अझै कायम रहेको आफैं भनेको बसिलले बताए ।
बेलायती प्रधानमन्त्री क्यामरुनले राजापाक्षेसँग स्वतन्त्र छानबिनको विश्वास दिलाउन वा राष्ट्रसंघीय अनुसन्धानको सामना गर्न तयार रहन भनेपछि दुवै मुलुकबीच पानी बाराबारको स्थिति उत्पन्न भएको हो ।
राजापाक्षेले एक स्वतन्त्र मुलुकबारे क्यामरुनलाई टिप्पणी गर्नेअधिकार नभएको बताएका छन् । मानवअधिकार उल्लंघनलाई लिएर भारत र मौरिससका राष्ट्र प्रमुखले राष्ट्र मण्डल बैठकमा भाग लिएनन् । क्यामरुनलाई पनि त्यसमा सहभागी नहुन दबाब थियो । तर, उनले तमिलसँग भएको अन्यायविरुद्ध आवाज उठाउन सम्मेलनमा भाग लिएरै छाड्ने प्रतिबद्धता व्यक्त गरेका थिए । यस मुद्दामा पूरा विश्व एकातर्फ भए पनि राजापाक्षेले कसैलाई टेरेका छैनन् । एजेन्सी :