अबुधावी (यूएई)-, मंसिर १३ ,
नेपाली क्रिकेट टिमले अन्तर्राष्ट्रिय क्रिकेटमा बुधबार ऐतिहासिक सफलता हात पारेको छ । आईसीसी ट्वान्टी-ट्वान्टी विश्वकप छनोटको महत्त्वपूर्ण खेलमा नेपालले हङकङलाई ५ विकेटले हराउँदै ट्वान्टी-ट्वान्टी विश्वकपको यात्रा पहिलोपल्ट पक्का गर्यो ।
'हामी विश्वकपमा पुग्नकै लागि यहाँ आएका थियौं,' नेपाली टिमका मुख्य प्रशिक्षक पुबुदु दसानायकेले भने,'हाम्रो लक्ष्य विश्वकपमा छनोट हुने थियो । र, अहिले लक्ष्यमा पुगेका छौं ।'
नेपालले अब शुक्रबार सेमिफाइनलमा अफगानिस्तानको सामना गर्नेछ । 'अफगानिस्तानलाई हराउँदै फाइनल पुग्ने हाम्रो इच्छा छ,' पुबुदुले थपे,'हामीले विगत २ वर्षदेखि राम्रो क्रिकेट खेल्दै आइरहेका छौं । त्यसका लागि सबैलाई धन्यवाद छ ।' उनले नेपाल क्रिकेट संघ, फ्यान र सबैलाई धन्यवाद दिए ।
कप्तान पारस खड्काले आफ्नो र टिमको खुसी व्यक्त गर्नै नसक्ने बताए । 'हामीले विश्वकपमा छनोट हुने सपना देखेका थियौं । हामीले राम्रो खेल्यौं । यो टिमको प्रयास हो ।' उनले विगत ४/५ महिनादेखि टिमका हरेक खेलाडीले धेरै मिहिनेत गरेको पनि बताए ।
नेपालले टस जितेर हङकङलाई पहिले ब्याटिङका लागि आमन्त्रण गरेको थियो । उसका माथिल्ला क्रममा ब्याट्सम्यानलाई जितेन्द्र मुखिया र अविनाश कर्णले सुरुआतमै झड्का दिंदै क्रिजमा सेट हुन दिएनन् ।
हङकङले ८ विकेट क्षतिमा १ सय ४३ रन बनायो । जितेन्द्रले ४ ओभरमा ३२ रन दिएर ३ विकेट लिए । अविनाशले भने ४ ओभरमा २८ रन दिएर २ विकेट हात पारे । अर्को एक विकेट पारस खड्काको नाममा रह्यो ।
जवाफमा नेपाललाई सुवास खकुरेल र सागर पुनले सामान्य सुरुआत दिलाए । दुई मिलेर पहिलो विकेटका लागि ४ ओभर ३ बलमा ३२ रन जोडेका थिए ।
पहिलो विकेटका रूपमा सुवास १६ रनमा आउट भए । त्यसपछि आउट भएका सागर पुनले २२ रन जोडे । ज्ञानेन्द्र मल्लले ३० रन जोड्दै नेपालको इनिङ्सलाई सम्हाल्ने कोसिस गरे । तर उनी आउट भएपछि कप्तान पारसले ४६ रन बनाउँदै नेपाललाई जितनजिक डोर्याए । पारस रनआउट भएसँगै नेपाल समस्यामा पर्यो । विनोद भण्डारी ७ रनमै पेभेलियन फर्के । नेपाललाई अन्तिम ओभरमा १३ रन आवश्यक थियो । शरदले एक छक्का, एक चौका र अन्तिम बलमा एक रन प्रहार गर्दै नेपाललाई जित दिलाए ।
'विश्वकपमा छनोट हुन पाएकामा म निकै खुसी छु,' शरदले भने,'हामीले आज राम्रो सुरुआत गर्यौं । तर मध्यक्रममा केही बिगि्रयो ।' उनले थपे,'पारसको रनआउट हाम्रा लागि ब्याड-लक थियो । केन्याविरुद्धको खेलमा हामीले अन्तिम ओभरमा १७ रन जोडेका थियौं । त्यसैले यो खेल जित्नेमा निकै आत्मविश्वासी थिएँ ।' टिमलाई फेरि जित दिलाउन पाएकामा खुसी लागेको शरदले बताए ।