काठमाडौं कार्तिक २८ ,
सेनाले दुईवटा हेलिकप्टर किन्ने प्रक्रिया अघि बढाएको छ। सरकारको निर्णयबाट स्वीकृत कार्यविधिअनुसार खरिद प्रक्रिया अघि बढाइएको सेनाले जनाएको छ।
मन्त्रिपरिषद बैठकले सेनालाई राष्ट्रको सुरक्षा र प्रतिरक्षाका लागि भन्दै उपयुक्त हुने दुईवटा हेलिकप्टर किन्न स्वीकृति दिएपछि प्रक्रिया अघि बढाइएको हो।
'सेनाको सामरिक क्षमताका लागि रणनीतिक साधनका रूपमा रहने सैनिक भर्सनको हेलिकप्टर किन्नुपर्ने हुन्छ,' सैनिक जनसम्पर्क निर्देशनालयले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ, 'यसले सेनाको आधुनिकीकरण गर्नेछ।'
सेनाले प्रयोग गर्दै आएका हवाई साधनहरूसँग एकरुपता आउनेगरी त्यस्तै प्रकृतिको हेलिकप्टर किन्दा स्तरीयता कायम गर्न मद्दत पुग्ने विज्ञप्तिमा छ।
'नेपालको विकट भौगोलिक अवस्था र प्रतिकूल मौसममा समेत उडान भर्न उपयुक्त हुने खालको हेलिकप्टरको आयातले नेपाली सेनाको अपरेसनल, बन्दोबस्ती र विपत व्यवस्थापनजस्ता महत्त्वपूर्ण कार्य सम्पादनमा प्रभावकारिता बढ्नेछ,' सेनाले भनेको छ।